१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

६७०,००० भन्दा बढी घर–अफिस अन्धकारमा

६७०,००० भन्दा बढी घर–अफिस अन्धकारमा

हजारौँ उडान क्यान्सल

कम्तिमा १२ राज्यमा “फेडेरल इमर्जेन्सी”

कम्तिमा १७ राज्य र ‘वाशिङ्टन डी.सी.’ मा आपतकाल घोषणा

न्यू न्योर्क। अमेरिकाको दक्षिण र पूर्वी भाग हुँदै फैलिएको शक्तिशाली विन्टर स्टोर्म ‘फर्न’ ले देशभर ठूलो संकट सिर्जना गरेको छ। लगातार स्नो, स्लिट, फ्रिजिङ रेन र कडा आर्कटिक चिसोका कारण ६ लाख ७० हजारभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् भने हवाई यातायात लगभग ठप्प बनेको छ। 

सिटी अफ न्यू योर्कले “सम्भावित हिस्टोरिक स्नोस्टोर्म” भन्दै सिटिका निकायहरूलाई पूर्ण शक्तिमा परिचालन गरेको जनाएको छ। विन्टर स्टोर्म वार्निङ अनुसार एनवाइसीमा आइतबार बिहान ३ बजे (जनवरी २५) देखि सोमबार साँझ ६ बजे (जनवरी २६) सम्म मौसम खतरनाक रहने चेतावनी छ। 

यससँगै डिपार्टमेन्ट अफ स्यानिटेशन (डिएसएनवाई) ले स्नो अलर्ट जारी गर्दै “सहरका धेरै भागमा ९–१२ इन्चसम्म स्नो” सम्भावना रहेको संकेत गरेको छ। 

विभिन्न राज्य अन्धकारमा

रोयटर्सका अनुसार, आँधीको कारण धेरै राज्यमा एकैपटक पावर आउटेज बढेको छ। यसबाट ६ लाख ७० हजारभन्दा बढी घर–अफिस अन्धकार बनेका छन। सबैभन्दा खराब अवस्था दक्षिण–पूर्वी क्षेत्रमा देखिएको बताइन्छ, जहाँ नेशनल वेदर सर्भिसले “स्थानीय रूपमा विनाशकारी” असर पर्न सक्ने चेतावनी दिएको रिपोर्ट गरिएको छ। 

एसोसिएटेड प्रेसले टेनेसी र टेक्सासमा मात्रै एक–एक लाखभन्दा बढी आउटेज रिपोर्ट भएको उल्लेख गर्दै मिसिसिपी र लुइजियानामा पनि हजारौँ घरधुरी प्रभावित भएको जनाएको छ। 

एक दिनमै करिब १०,००० उडान रद्द 

आँधीका कारण आइतबार मात्रै करिब १० हजार उडान रद्द भएका छन्। यसमा अघिल्लो दिनको कम्तिमा हजार क्यान्सलेसन जोडिँदा संख्याले झन् ठूलो रूप लिएको छ। 

फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै मार्केटवाचले शुक्रबारदेखि सोमबारसम्म उडान रद्दको संख्या झन् बढ्दै गएको र प्रमुख एयरपोर्टहरूमा हजारौँ यात्रु अलपत्र परेको रिपोर्ट गरेको छ। 

डेल्टा एअर लाइन्स, युनाइटेड एअरलाइन्स र जेटब्लू लगायत एअरलाइनहरूले धेरै रुटमा उडान कटौती/परिवर्तन गरेका छन्। उनीहरूले विशेषगरी डि–आइसिङ तथा ग्राउन्ड अपरेसन व्यवस्थापनकै लागि उडान रद्द गरेका हुन। 

१२ राज्यमा “फेडेरल इमर्जेन्सी”

आँधीको व्यापक प्रभावपछि कम्तिमा १२ राज्यमा फेडेरल इमर्जेन्सी डिजास्टर डिक्लेरेशन लागू गरिएको छ। साथै १७ राज्य र वाशिङ्टन डी.सी. ले विभिन्न तहका वेदर इमर्जेन्सी घोषणा गरेका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीलाई “ऐतिहासिक” भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले अत्यावश्यक सामग्री स्टक गर्न र जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिएको पनि रिपोर्टमा उल्लेख छ। 

पावर ग्रिडमा दबाब

कडा चिसोले हीटिङ डिमान्ड आकासिँदा पावर ग्रिडमा ठूलो दबाब परेको छ। डिपार्टमेन्ट अफ एनर्जीले टेक्सास र मिड–एटलान्टिक क्षेत्रमा ग्रिड अपरेटरलाई सहयोग पुग्ने गरी इमर्जेन्सी मेजर स्वीकृत गरेको बताइएको छ। 

फाइनान्सियल टाइम्सका अनुसार इआरकोट (ERCOT) जस्ता ग्रिड अपरेटरहरूले २०२१ को विन्टर स्टोर्म ‘युरी’ जस्तो गम्भीर अवस्था नदोहोरियोस् भनेर प्रणाली स्थिर राख्न अतिरिक्त तयारी गरिरहेका छन्। 

सावधानी अपनाउनुहोस:

  • ड्राइभिङ अत्यावश्यक नभए नगर्नुहोस् (ब्ल्याक आइसको जोखिम)
  • पावर आउटेजको लागि चार्ज गरिएको पावर बैंक, टर्चलाइट, ब्याट्री तयार राख्नुहोस्
  • हिटर/जेनरेटर प्रयोग गर्दा कार्बन मोनोअक्साइड जोखिमबाट बच्न भेन्टिलेसन सुनिश्चित गर्नुहोस्
  • उडान हुने/नहुने अपडेट एअरलाइन अलर्ट र फ्लाइटअवेयरमा हेर्नुहोस्
  • स्थानीय इमर्जेन्सी अलर्ट र नेशनल वेदर सर्भिसका चेतावनी अनुसरण गर्नुहोस्

प्रतिक्रिया