
चुनावी अभियानका क्रममा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले एबीसी प्रेसिडेन्सियल डिबेटमै भने, ‘यहाँ भित्रिएका मानिस (आप्रवासी) हरूले बिरालो खाइरहेका छन्। यहाँ बस्ने मानिसको घरपालुवा जनावर खाइरहेका छन्।’
उनले विभिन्न स्थानमा पटक पटक भने, ‘उनीहरु (आप्रवासी) ले लागू औषध भित्र्याइरहेका छन्, अपराध भित्र्याइरहेका छन्।’ र, उनले आप्रवासीको ऐतिहासिक सामूहिक ‘डिपोर्टेसन’ गर्ने वाचा गरे।
चुनावी अभियानका क्रममा उनले दिएका अभिव्यक्ति उत्तेजक थिए। चुनाव लक्षित थिए। प्रेसिडेन्सियल डिबेटमै गरिएको ‘फ्याक्ट चेक’ ले उनले त्यहाँ दिएको अभिव्यक्तिको सत्यता पुष्टि गर्ने आधार नभएको देखाएको थियो। त्यसका बावजुद उनले चुनाव जिते। यो जितले आप्रवासीहरू अपराधी हुन्, उनीहरु कुकुर, बिरालो खान्छन् र उनीहरूलाई अमेरिकाबाट खेदाउनुपर्छ भन्ने ट्रम्पको धारणालाई वैधानिकता दिएको छ।
के ट्रम्पको भड्काउको कारण मात्र आएको हो त यो चुनावी नतिजा? पक्कै होइन। कारण धेरै छन्। डेमोक्रेटिक पार्टीको रवैया, ह्वाइट सुप्रिमेसी, मेल शउभनिज्म इत्यादि। म त्यता जान्न। चुनावमा जित हार हुनु स्वाभाविक हो। तर, एउटा समुदाय र एउटा तप्काका मानिसलाई अर्को समुदाय र अर्को तप्काका मानिस विरुद्ध भड्काएर चुनाव जित्नु समाजका लागि कति स्वस्थकर हुन्छ? मेरो चासो त्यहाँ हो। निर्वाचनको नतिजाले आप्रवासी अपराधी हुन्, उनीहरु कुकुरबिराला खान्छन्, अमेरिका बस्न लायक छैनन् भन्ने जुन ‘न्यारेटिभ’ स्थापित गर्यो, त्यसले हाम्रो अमेरिकी समाजलाई कता लैजाँदै छ भन्नेमा हो।
समाजमा कुनै पनि समुदाय विरुद्ध नकारात्मक ‘न्यारेटिभ’ स्थापित हुनु राम्रो होइन। त्यसले विद्यमान सामाजिक घाउमा मल्हम लगाउँदैन। उल्टो अविश्वास, डर र असमानताको भावना पैदा गर्छ। सामाजिक शान्ति, सद्भाव र सन्तुलनमा खलल पुर्याउँछ। जस्तो, अहिले आप्रवासीहरू डिपोर्टेसनको डरले ‘स्याङ्चुअरी सिटी’ तर्फ भाग्ने क्रम देखिन थालेको छ। यस्तो न्यारेटिभले विभिन्न समुदायमा सामुदायिक रुपमा ‘हामी भर्सेज अरु’ को भावना विकास गर्छ। आप्रवासी मन नपराउने मानिस र समुदायमा त आप्रवासीप्रति मिचाहा व्यवहार विकास गर्छ। ‘हेट क्राइम’ सामान्य बन्छ। अझ भनौँ, अवधारणबाटै हराउँछ। त्यो भनेको सामाजिक संवेदना मर्दै जानु हो। समाज कठोर बन्दै जानु हो।
निर्वाचनको नतिजाले आप्रवासी अपराधी हुन्, उनीहरु कुकुरबिराला खान्छन्, अमेरिका बस्न लायक छैनन् भन्ने जुन ‘न्यारेटिभ’ स्थापित गर्यो, त्यसले हाम्रो अमेरिकी समाजलाई कता लैजाँदै छ?
यो परिस्थितिले खराब स्वरुप लिए सामाजिक र सामुदायिक द्वन्द्व हुन्छ। त्यो द्वन्द्वले को सिटिजन, को डकुमेन्टेड, को अनडकुमेन्टेड छुट्याउने छैन। प्यान्डेमिकका बेला कोभिड–१९ लाई ‘चाइनिज भाइरस’ को नाम दिँदा बढेको हेट क्राइम धेरैलाई थाह हुनुपर्छ। सब वे (रेल) र बस प्रयोग गर्ने धेरै मानिस ती सार्वजनिक सवारी साधनमा चाइनिज अनुहारका मानिस देखे भाग्ने, निधार खुम्च्याउने वा गाली गर्ने जस्ता घटनाको साक्षी बनेको हुनुपर्छ। कम्तिमा देख्ने र भोग्नबाट यस्ता हेट क्राइमको विवरण सुनेको हुनुपर्छ। अहिलेको निर्वाचनले स्थापित गरेको न्यारेटिभको असर प्याण्डेमिकका बेला चाइनिज समुदायले खेप्नु परेको असरभन्दा धेरै गुणा खतरनाक हुनेछ। ट्रम्प प्रशासनले ‘मास डिपोर्टेसन’ सुरु गरेपछि त्यो ब्यबहारमा उजागर हुनेछ। अनुहार हेरेर को सिटिजन, को डकुमेन्टेड, को अनडकुमेन्टेड भन्ने नछुट्टिने तथा ‘रेसियल प्रोफाइलिङ’ का आधारमा व्यवहार गरिने भएकाले समग्र आप्रवासी समुदाय सताइने छन्। यस्तो नकारात्मक ‘न्यारेटिभ’को घाउ समाजमा लामो समय रहन्छ।
अनुहार हेरेर को सिटिजन, को डकुमेन्टेड, को अनडकुमेन्टेड भन्ने नछुट्टिने तथा ‘रेसियल प्रोफाइलिङ’ का आधारमा व्यवहार गरिने भएकाले समग्र आप्रवासी समुदाय सताइने छन्। यस्तो नकारात्मक ‘न्यारेटिभ’को घाउ समाजमा लामो समय रहन्छ।
‘मास डिपोर्टेसन’ को दीर्घकालीन राजनीतिक र सांस्कृतिक आयम समेत छ। त्यो आप्रवासी समुदायका लागि सुखद छैन। अमेरिकामा आप्रवासी समुदाय भनेर चिनिने मतदाताको संख्या कूल मतदाताको ९ प्रतिशतमात्र छ। त्यसका बावजुद कतिपय स्थानमा उनीहरु बहुमतमा छन्। उदाहरणका लागि न्यू योर्क सिटीको उडसाइड, सन्निसाइड, ज्याक्सन हाइट्स हेरौं। यहाँ नेपाली, बंगाली, भारतीय, पाकिस्तानी, लगायत साउथ एसियन र इन्डो करेबियन समुदाय बस्छन्। यहाँ स्पेनिश भाषा बोल्ने साउथ अमेरिकन आप्रवासीको जनसंख्या अझ ठूलो छ। उनीहरु यहाँ बस्नुको कारण छ। यहाँ उनीहरु जस्ता गरिखाने वर्गका लागि सार्वजनिक यातायात सहज छ। हिन्दूहरुका लागि मन्दिर छ। मुश्लिमको मस्जिद छ। नेपालीहरुकै कुरा गर्ने हो भने चोक चोकमा मःमः पसल छन्। दौरा सुरुवाल किन्न पाइन्छ। गुन्द्रुक र ढिँडो खान पाइन्छ। अर्थात्, यो ठाउँ आप्रवासीको फरक आवश्यकता सम्बोधन गर्ने खालको छ।
त्यस्तै यहाँबाट न्यू योर्क सिटी काउन्सिलमा भारतीय मूलका शेखर कृष्णन् लगायतका आप्रवासी समुदायलाई प्रतिनीधित्व गर्ने मानिस सदस्य छन्। फिलिपिनो मूलका स्टिभन रागा न्यू योर्क स्टेट एसेम्ब्लीमा दोस्रो कार्यकालका लागि भर्खरै निर्वाचित भएका छन्। तर, जनसंख्या बढेको भन्दै २०२२ मा डिस्ट्रिक (निर्वाचन क्षेत्र) रिम्यापिङ गरेर आप्रवासी मतदाता अल्पमतमा पर्ने गरी यो क्षेत्र फुटाउने प्रयत्न गरियो। राजनीतिमा ‘जेरिम्याण्डरिङ’ भनिने यस्तो काम डेमोक्रेटले रिपब्लिकनलाई हराउन र रिपब्लिकनले डेमोक्रेटलाई हराउन प्रयोग गर्दै आएका थिए। पछिल्लो पटक आप्रवासी समुदाय फुटाएर ‘ह्वाइट सुप्रिमेसी’ कायम राख्ने नियोजित षड्यन्त्र अन्तर्गत ‘जेरिम्याण्डरिङ’ गर्ने प्रयत्न भयो। आप्रवासी समुदायले त्यसको कडा विरोध गरे। त्यसका बावजुद निर्वाचन क्षेत्र केही संशोधन गरि फुटाइयो। यसरि निर्वाचन क्षेत्र फुटाएर आप्रवासी मतदाता अल्पमतमा पारिए उनीहरुले आफ्नो जनप्रतिनीधि छान्न सक्ने छैनन्। आफ्नो जनप्रतिनीधि छान्न नसके गरिखाने आप्रवासी वर्गले प्रयोग गर्ने सार्वजनिक यातायात ब्यबस्थापन सरकारी बजेटको प्राथमिकतामा नपर्न सक्छ। किनभने त्यसले कार प्रयोग गर्ने धनी र बहुसंख्यक गोरा समुदायलाई असर गर्ने छैन। सार्वजनिक यातायात ब्यबस्थापन उदाहरण मात्र हो। अल्पमतमा पर्नसाथ सरकारले आप्रवासी समुदायको जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने धेरै कुरा बेवास्था गर्छ। त्यसबाट तल्लो तहका श्रमजीवि वर्ग समस्यामा पर्छन्। त्यो भनेको मुलतः आप्रवासी समुदाय हुन्।
आप्रवासी समुदाय अल्पमतमा पर्नु भनेको उनीहरु कमजोर हुनु हो। सीमान्तकृत हुनु हो। उनीहरुको भाषा, संस्कार, संस्कृति र पहिचान अमेरिकी ‘मूलधार’ मा विलय हुनु हो। नेपालीका हकमा जे कुराले ‘हामी नेपाली हौं’ भन्ने पहिचान बनाउँछ, भावी पुस्ताले त्यो गुमाउनु हो।
रिम्यापिङ हरेक १० वर्षमा हुन्छ। यतिबेला अनडकुमेन्टेड आप्रवासी खेदिनु भनेको भविष्यमा डकुमेन्टेड आप्रवासीको संख्या नबढ्नु हो। उनीहरु सँधै अल्पमतमा रहनु हो। उनीहरु सीमान्तकृत रहिरहनु हो। मानव इतिहास हेर्ने हो भने जहिले पनि कमजोर र सीमान्तकृत समुदायको भाषा, संस्कार, संस्कृति कि त विलय भएर गएको छ, कि नष्ट गरिएको छ। अमेरिकामा आप्रवासी समुदाय अल्पमतमा पर्नु भनेको उनीहरु कमजोर हुनु हो। सीमान्तकृत हुनु हो। उनीहरुको भाषा, संस्कार, संस्कृति र पहिचान अमेरिकी ‘मूलधार’ मा विलय हुनु हो। नेपालीका हकमा जे कुराले ‘हामी नेपाली हौं’ भन्ने पहिचान बनाउँछ, भावी पुस्ताले त्यो गुमाउनु हो। आफ्नो जन्मथलो छाड्नसाथ भाषा क्षयीकरणबाट त्यसको सुरुवात भइसकेको छ। ट्रम्पले घोषणा गरेको नीतिले त्यसको गति बढाउनेछ। जनवरी २०, २०२५ पछि आप्रवासीले नीतिगत रुपमै संरचना विभेदकारी बन्ने अपेक्षा गर्दा हुन्छ। ‘रेसियल प्रोफाइलिङ’ अर्थात्, रङ र शारिरिक बनावटका आधारमा गरिने व्यवहार प्रणालीगत रुपमै सामान्य बन्दै जानेछन्। उदाहरणका लागि प्रहरीले बिना कारण रोक्ने र सोधपुछ गरेर मानसिक यातना दिने वा ‘रेसियल प्रोफाइलिङ’का आधारमा अनइम्प्लोइमेन्ट इन्सुरेन्स बेनेफिट (बेरोजगार सहायता) का लागि प्रशासनिक झमेला सिर्जना गरिदिने जस्ता कुरा सामान्य बन्ने छ। मानवअधिकार वा समानताको कुरा जतिसुकै र जुनसुकै स्तरमा उठे पनि त्यसलाई चीन, रसिया वा भारतकै मावनअधिकारको अवस्थासँग तुलना गरेर सामान्यिकरण गरिने छ। असर न्यू योर्क सिटीजस्ता ‘स्याङ्चुअरी सिटी’ मा समेत पर्नेछ।
रिपब्लिकन र ट्रमपको एजेण्डा ४७ प्रति कोही सहमत होलान्, कोही नहोलान्। यो व्यक्तिगत स्वतन्त्रताको कुरा भयो। तर, भोकमरि, प्राकृतिक प्रकोप, गरिबी र यातनाबाट भागेर अमेरिकाको शरणमा आइपुगेका मानिसलाई ‘मास डिपोर्टेसन’ गर्नु एउटा सभ्य समाजको सभ्य राजनीतिक दलको नीति तथा कार्यक्रम कसरि बन्न सक्छ? घृणालाई कानूनी रुपमै अपराधको मान्यता दिनु त्यो समाज कति संवेदनशील छ भन्ने देखाउने एउटा सूचक हो। हामी जंगली युगबाट धेरै माथि पुगिसक्यौं भनेर पुष्टि गर्ने आधार हो। घृणा गैरकानूनी बनाउनु सामाजिक सद्भाव कायम गर्ने एउटा सद्प्रयत्न हो। समाज सभ्य बन्दै गएको प्रमाण हो। यस्तो समाजले भोकमरि, प्राकृतिक प्रकोप, गरिबी र यातनाबाट भागेर शरण माग्न आइपुगेका आप्रवासीलाई खेद्दा कस्तो सन्देश जान्छ? अपराधलाई उन्मुक्ति दिनुपर्छ भन्ने होइन। तर, अपराध जन्मिने स्रोत निर्मूलन अर्थात् सोसल इन्भेस्टमेन्टमा जोड नदिएर सिंगो आप्रवासी समुदायलाई अपराधीकरण गर्ने ट्रम्पको न्यारेटिभले हामीले परिकल्पना गरेको समाज निर्माण होला त? कसरी?
प्रतिक्रिया