१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

मिनियापोलिसमा संघीय सुरक्षाकर्मीको गोलीबाट नर्सको मृत्यु

घटनाबारे संघीय निकायले “आत्मरक्षाका लागि गोली चलाएको” जानकारी दिएका छन् । मृतकले संघीय सुरक्षाकर्मीहरुमाथि गोली प्रहार गर्न खोजिएकाले कारबाही गर्नुपरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दिएको छ । तर स्थानीयबासीले भने संघीय सरकारको यो दावीलाई स्वीकार गरेका छैनन् ।
मिनियापोलिसमा संघीय सुरक्षाकर्मीको गोलीबाट नर्सको मृत्यु

न्यूयोर्क । आप्रवासीमाथिको कडाइका विरुद्धमा भएको विरोध प्रदर्शनको क्रममा मिनियापोलिसमा संघीय सुरक्षाकर्मीको गोलीबाट शनिबार अर्को एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार गोली लागेर मृत्यु हुने व्यक्ति एलेक्स जेफ्री प्रेट्टी हुन्, जो भेटेरन्स अफेयर्स अस्पतालमा नर्सका रूपमा कार्यरत थिए। उनी अमेरिकन नागरिक भएको बताइएको छ ।

घटनाबारे संघीय निकायले “आत्मरक्षाका लागि गोली चलाएको” जानकारी दिएका छन् । मृतकले संघीय सुरक्षाकर्मीहरुमाथि गोली प्रहार गर्न खोजिएकाले कारबाही गर्नुपरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दिएको छ । तर स्थानीयबासीले भने संघीय सरकारको यो दावीलाई स्वीकार गरेका छैनन् । सामाजिक संजालमा पोष्ट भएको भिडियोमा घटनास्थलतिर मोबाइलमा फोटो खिच्दै हिडेका व्यक्तिलाई सीमा सुरक्षा अधिकारीको समूहले पक्राउको प्रयास गरेको र सो क्रममा एक सुरक्षाकर्मीले बन्दुक निकालेर गोली प्रहार गरेको देखिएको स्थानीय अधिकारीहरुले बताएका छन् । 


“मृतक प्रेट्टीले एजेन्टहरूतर्फ ह्यान्डगन बोकेर आएको र एजेन्टले आत्मरक्षाका लागि गोली चलाएको” होमल्याण्ड सुक्युरिटीका अधिकारीले दाबी गरेका छन्। मिनियापोलिसमा संघीय सुरक्षाकर्मीद्धारा स्थानीय बासिन्दामा गोलीप्रहार भएको तीन साता यता तेस्रो घटना हो । पहिलो घटनामा एक स्थानीय महिलाको मृत्यु भएको थियो भने दोस्रो घटनामा एक व्यक्ति घाइते भएका थिए । 
अवैध आप्रावासीलाई नियन्त्रणमा लिने ट्रम्प प्रशासनको अभियानपछि मिनिसोटा राज्यमा यतिबेला विरोध प्रदर्शन जारी छ । स्थानीय बासिन्दा र राज्य सरकारको विरोधकावीच संघीय एजेन्टहरुले निरन्तर रुपमा अपरेसन जारी राखेका छन् । 
स्थानीय प्रशासनले यो घटना “अत्यधिक बल प्रयोग” हुनसक्ने संकेत गर्दै संघीय अपरेसन रोक्न माग गरेको छ। मिनियापोलिसका मेयर जेकब फ्रे ले सार्वजनिक रूपमा कडा प्रतिक्रिया जनाउँदै भने, “यो अपरेसन अन्त्य हुन अझ कति अमेरिकीहरू मर्नुपर्ने वा गम्भीर घाइते हुनुपर्ने?”
मिडिया रिपोर्टहरुका अनुसार प्रेट्टीबारे संघीय दाबी र स्थानीय अधिकारीहरूको विवरण फरक देखिएको छ। प्रेट्टी अमेरिकी नागरिक, “ट्राफिक टिकटबाहेक” कुनै गम्भीर आपराधिक रेकर्ड नभएको, र वैध हतियार अनुमति भएको बताएका छन्।
घटनापछि शहरमा विरोध प्रदर्शन तीव्र बनेको छ। सिबिएस न्युजका अनुसार मिनियापोलिसमा संघीय एजेन्ट संलग्न गोलीकाण्डपछि ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए, र घटनास्थल वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ । 
प्रेट्टीका परिवार र सहकर्मीहरूले उनी शान्त स्वभावका र सेवा भावनाले भरिएका व्यक्ति भएको बताएका छन्। एपी समाचार एजेन्सीका अनुसार प्रेट्टीका बुबाले छोरा “मानिसहरूलाई अत्यन्त गहिरो रूपमा माया गर्ने” व्यक्ति भएको भन्दै उनी शहरमा भइरहेको आप्रवासन कडाइबाट दुखित रहेको बताएका छन्।
यस घटनाले मिनियापोलिसमा पछिल्ला हप्ताहरूमा आप्रवासन कारबाहीसँग जोडिएको तनाव, विरोध प्रदर्शन र संघीय–स्थानीय निकायबीचको टकरावलाई थप चर्काएको छ। द गार्डियन ले पनि प्रेट्टीलाई सहकर्मीहरूले “मानवताका लागि उपयोगी बन्न चाहने” व्यक्तिका रूपमा सम्झिएको र उनको मृत्युले शहरमा ठूलो आक्रोश फैलिएको उल्लेख गरेको छ।

प्रतिक्रिया