न्यूयोर्क । क्यालीफोर्नियाको स्यान डिएगोस्थित इस्लामिक सेन्टरमा सोमबार दिउसो भएको गोली काण्डमा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न दुई किशोर बन्दुकधारी पनि मृत फेला परेका छन् । मुस्लिम बालबालिका अध्ययन गर्ने सो इस्लामिक सेन्टरको काम्पाउण्डमा अन्दाधुन्दा गोली प्रहार हुँदा एकजना सुरक्षा गार्ड र अन्य दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्यान डिएगो प्रहरी प्रमुख स्कट वाहलले घटनामा परि एकजना सुरक्षागार्ड र अन्य दुई पुरुषको मृत्यु भएको जानकारी दिए । गोलीकाण्डमा संलग्न भएको आशंका गरिएका दुईजना किशोरहरु पनि घटनास्थल भन्दा केही पर गाडी भित्र मृत अवस्थामा भेटिएको पनि उनले जानकारी दिए । गोली प्रहारबाट मृत्यु भएका तीन जनाको विवरण भने सार्वजनिक गरिएको छैन।
प्रहरी प्रमुख वाहलले घटनास्थल मस्जिद भएको कारण यो घटनालाई घृणाजन्य अपराध (हेट क्राइम)को रूपमा अनुसन्धान भइरहेको बताए । घटनापछि इस्लामिक सेन्टरमा अध्ययनरत बालबालिकाहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।
इस्लामिक सेन्टर अफ स्यान डिएगोले आफ्नो वेबसाइटमा घटनाका कारण केन्द्र तत्काललाई बन्द गर्ने निर्णय भएको उल्लेख गरेको छ । वेबसाइटमा सो केन्द्र स्यान डिएगोको सबैभन्दा ठूलो मस्जिदको रूपमा रहेको भन्र्द यो धार्मिक संस्थासँगै विद्यालयको रूपमा पनि सञ्चालन हुँदै आएको जनाएको छ।
सेन्टरका निर्देशक इमाम ताहा हस्सानेले फेसबुकमा साझा गरिएको भिडियो सन्देशमा केही हताहती भएको जानकारी दिएका छन्, यद्यपि त्यसको विस्तृतमा जानकारी दिइएको छैन। उनले अहिले सेन्टरभित्र कुनै खतरा नरहेको पनि बताएका छन्। हस्सानेका अनुसार सबै बालबालिका, कर्मचारी तथा शिक्षकहरू सुरक्षित छन् र भवनबाट बाहिर निकालिएको छ।



प्रतिक्रिया