न्यू योर्क। एटर्नी जनरल लेटिसिया जेम्सले क्विन्सको ओजोन पार्कमा १९ वर्षीय विन रोजारियोलाई गोली हानेर मार्ने प्रहरी अधिकारी म्याथ्यु सिएनफ्रोको र सल्भाटोर अलोन्गी विरुद्ध आपराधिक अभियोग नचलाउने निर्णय गरेकी छिन्।
विनलाई २०२४ मार्च २७ मा आफ्नै घरभित्र, मानसिक स्वास्थ्य संकटको बेला, आमा र भाइको अगाडि टेजर र कम्तीमा पाँच राउण्ड गोली हानी मारिएको थियो।
एटर्नी जनरलको अफिस अफ स्पेसल इन्भेस्टिगेसन (ओएसआई) द्वारा सार्वजनिक प्रतिवेदनमा अधिकारीहरूले आफूलाई “गम्भीर जोखिम भएको” सोचेर गोली चलाएको भन्दै, उनीहरूको बल प्रयोगलाई अदालतमा “उचित शंका भन्दा बाहिर” दाबी गरिएको छ। उक्त दाबीका आधारमा उनीहरूलाई आपराधिक मुद्दा नचलाइने बताइएको छ।
मार्च २७, २०२४: केही मिनेटमै भएको घातक घटना
समाचार र प्रतिवेदनअनुसार उक्त दिन दिउँसो ९११ मा फोन गरी, विन अनियन्त्रित भएको जानकारी दिइएको थियो। त्यसपछि न्यू योर्क पुलिस डिपार्ट्मेन्ट (एनवाईपी डी) अधिकारी अलोन्गी र सिएनफ्रोको ओजोन पार्कस्थित विनको घरमा पुगेका थिए। उनीहरू ढोकामा भेटिएका विनका १७ वर्षीय भाइ उत्सो रोजारियोसँग कुरा गरेपछि दोस्रो तलाको अपार्टमेन्टमा गएका थिए।
घरभित्र विन आमासँग उभिएका थिए। अधिकारी देखेपछि उनले किचनको दराजबाट पहेंलो कैंची निकाले र प्रहरीतर्फ जाइलागे, आमाले उनलाई रोक्न प्रयास गरिरहिइन्। एनवाईपीडी अधिकारी अलोन्गीले टेजर चलाए, सिएनफ्रोकोले बन्दुक ताने।
आमाले विनको हातबाट कैंची खोसेर एकातिर राखिदिइन्।प्रहरीहरूले आमालाई पछाडि हट्न भने। यसबीच भाइ उत्सोले “कृपया आमालाई नछुनुस्, नथिच्नुस्” भन्दै धेरै पटक आग्रह गरे।केही क्षणपछि विनले फेरि कैंची उठाए र अधिकारीतर्फ अघि बढे। त्यसपछि दुबै अधिकारीले छोटो समयमा कम्तीमा पाँच गोली चलाए। गोली आमा र भाइको टाउकोमाथि हुँदै गएर विनको शरीरमा लाग्यो। एम्बुलेन्सले अस्पताल पुर्याएको केही बेरमै विनको मृत्यु भएको घोषणा गरियो।
सम्पूर्ण मुठभेड प्रहरी घरको ढोकाबाट प्रवेश गरेको समयदेखि अन्तिम गोली चलुन्जेल झन्डै तीन मिनेटभित्र सकिएको उल्लेख गरिएको छ।
एटर्नी जनरल जेम्सको तर्क: “आत्मरक्षा”
ओएसआईले ९११ रेकर्ड, बडी–क्याम भिडियो, प्रत्यक्षदर्शीका बयान, फरेन्सिक र अटोप्सीको आधारमा अधिकारीहरूले आफू र अरूलाई गम्भीर चोटपटक हुने डरका आधारमा गोली चलाएको दाबी गरेको छ। प्रतिवेदनमा टेजर दुई पटक प्रयोग गरिएको, “कैंची राख्नु” भन्दै बारम्बार आदेश दिइएको र गोली लगातार नभई बीच–बीचमा चलाइएको भनिएको छ। यी कारणले अदालतमा उनीहरूको बल प्रयोग “कानुन अनुसार उचित थियो” भन्ने तर्क पुष्टि हुने भन्दै आपराधिक मुद्दा नचलाइने निष्कर्ष निकालिएको छ।
परिवारको कडा आपत्ति
विन रोजारियोको परिवारले एटर्नी जनरलको निर्णयलाई “कायर र अन्यायपूर्ण” भनेका छन्। “अब हामीलाई थाहा छ, विनलाई मार्ने अधिकारीलाई कुनै आपराधिक सजाय हुने छैन। हामीमध्ये कोहीले त्यस्तो गरेको भए तुरुन्तै नोकरी गुम्थ्यो, जेल जानुपर्थ्यो। एटर्नी जनरल जेम्स विनका लागि लडेकी छैनन्, तर हामी हाम्रो छोरा लागि कहिल्यै रोकिने छैनौं”
साथै, परिवारले ओएसआईले झन्डै दुई वर्षको समयमा आफूलाई पर्याप्त जानकारी नदिएको, बैठक कम भएको र अहिलेको प्रतिवेदन बडी–क्याम भिडियो र आफ्ना अनुभूति र यथार्थसँग मेल नखाएको आरोप लगाएका छन्।
अधिकारकर्मीहरूको आरोप: हत्या ढाकछोप
जस्टिस कमिटी की कार्यकारी निर्देशक लोयडा कोलोनले यो निर्णय “नयाँ नभएको” प्रतिक्रिया दिइन्।
उनको भनाइ एटर्नी जनरलको कार्यालयले धेरै मुद्दामा प्रहरीमाथि अभियोग लगाउँदैन। परिवारलाई लामो समय “अँध्यारोमा” राख्छ। र, विनको मुद्दामा पनि त्यही प्रक्रिया दोहोरिएको छ।
“विनलाई मानसिक हेरचाह चाहिन्थ्यो, प्रहरी होइन,” उनले भनेकी छन, “मानसिक स्वास्थ्य संकटको घटनामा घरभित्र छिरेर टेजर र गोली चलाउनु हत्या हो, जसको जवाफदेहिता हुनुपर्छ।”
देसिस राइजिङ अप एण्ड मूभिङ (ड्रम) का आयोजक सिमरन थिन्डले एटर्नी जनरलको प्रतिवेदन “पक्षपाती” भएको आरोप लगाइन। “एनवाईपीडी अधिकारीले नियम र निर्देशन उल्लङ्घन गरेर कसैलाई मारे पनि सजाय नहुने अवस्था डर लाग्दो हो,” उनले भनिन।
एनवाईपीडीको कारबाही प्रक्रिया जारी
आपराधिक मुद्दा नचले पनि, अधिकारी अलोन्गी र सिएनफ्रोको एनवाईपीडी भित्रको अनुशासनिक प्रक्रियामा छन्। सिभिलियन कम्प्लेन्ट रिभ्यू बोर्ड (सीसीआरबी) ले २०२५ सेप्टेम्बरमा उनीहरू विरुद्धको उजुरी छानबिन गरेर अत्यधिक बल प्रयोग र अधिकार दुरुपयोग लगायतका आरोप प्रमाणित गरेको थियो। त्यसपछि एनवाईपीडीले दुबै अधिकारीलाई चार–चार विभागीय आरोप थमाएको थियो। अब उनीहरूको विभागीय सुनुवाई हुनेछ। त्यसबाट उनीहरूलाई छुट्टी कटौतीदेखि नोकरीबाट हटाइनेसम्मको सजाय हुन सक्छ।





प्रतिक्रिया