२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

डीसी गोलीकाण्डपछि यूएससीआईएसले ट्रम्पको ‘ट्राभल–ब्यान’ सूचीका १९ देशका आप्रवासीको आवेदन रोक्यो

डीसी गोलीकाण्डपछि यूएससीआईएसले ट्रम्पको ‘ट्राभल–ब्यान’ सूचीका १९ देशका आप्रवासीको आवेदन रोक्यो

वासिङ्टन डीसी। गत हप्ता ह्वाइट हाउस नजिक ड्युटीमा रहेका दुई नेसनल गार्डमाथि भएको गोलीकाण्डपछि ट्रम्प प्रशासनले ‘उच्च जोखिम’ ठहर गरेका १९ देशका नागरिकका अप्रवासन (इमिग्रेसन) सम्बन्धी आवेदन प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

यूनाइटेड स्टेट्स सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसेस (यूएससीआईएस) ले मङ्गलबार जारी गरेको नीतिगत मेमो अनुसार, ती देशका नागरिक वा त्यहाँ जन्मिएका व्यक्तिहरूले गरेको विभिन्न प्रकारका इमिग्रेसन आवेदनको निर्णय “अर्को आदेश नआएसम्म” स्थगित गरिएको छ। यसमा अमेरिकाभित्रै बसेर गरिएको ग्रीन कार्ड, नागरिकता लगायतका आवेदन पनि पर्छन्।

कुन कुन देश प्रभावित?

ट्रम्पले यसअघि जून २०२५ मा जारी गरेको ‘ट्राभल–ब्यान’ सूचीमा परेका १९ देशका आवेदकहरू यस नयाँ कदमबाट प्रभावित हुने भएका छन्। प्रभावित देशको सूची:

अफगानिस्तान

बर्मा (म्यानमार)

बुरुन्डी

चाड

रिपब्लिक अफ कंगो

क्युबा

इक्वेटोरियल गिनी

इरिट्रिया

हैटी 

इरान

लाओस

लिबिया

सिएरा लियोन

सोमालिया

सुडान

टोगो

तुर्कमेनिस्तान

भेनेजुएला

यमन

जूनको घोषणाले मुख्यतः उक्त देशका नागरिकको अमेरिका प्रवेश (भिसा/ट्राभल) मा कडाइ गरेको थियो। तर पछिल्लो निर्देशले पहिले नै अमेरिकाभित्र आएर बसोबास गरिरहेका हजारौँ आप्रवासीलाई पनि सीधै असर पुर्‍याउने छ।

कुन–कुन आवेदन रोकिन्छन्?

यूएससीआइएसको नयाँ मेमो अनुसार, यी १९ देशका नागरिक वा त्यहाँ जन्मिएका व्यक्तिका निम्न क्याटेगोरीका आवेदनहरूमा तत्काल प्रभावले रोक लगाइने वा पुनःसमिक्षा गरिनेछः

हाल चलिरहेका (पेन्डिङ) आवेदनहरू:

ग्रीन कार्ड/स्थायी बसोबासको आवेदन (फर्म आई-४८५)

ग्रीन कार्ड पुनःप्राप्ति वा नवीकरण (फर्म आई -९०)

ट्राभल डकुमेन्ट / एडभान्स प्यारोल (फर्म आई-१३१)

कण्डिसनल रेसिडेन्स हटाउने आवेदन (फर्म आई-७५१)

केही नागरिकता सम्बन्धी विशेष आवेदन (जस्तै फर्म एन- ४७०)

अन्य लाभ/स्टाटस, यूएससीआईएस को आवश्यकताअनुसार

पहिले नै स्वीकृत लाभहरूको पुनःसमिक्षा:

२०२१ जनवरी २० पछि अमेरिकी भूमिमा प्रवेश गरेका, यी १९ देशसँग सम्बन्धित व्यक्तिका पहिले स्वीकृत इमिग्रेसन फाइदाहरू पुनःसमिक्षा गरिनेछ।

आवश्यकता परे नयाँ इन्टरभ्यू/रि–इन्टरभ्यू लिइने, र आवश्यक ठहरिएमा ती फाइलहरूलाई इन्फोर्समेन्ट एजेन्सीहरूमा पढ़ाउन सकिनेछ।

आश्रय (एसाइलम) प्रक्रियामा व्यापक असर:

छुट्टै प्रावधानमार्फत यूएससीआइएसले राष्ट्रियता जे भए पनि, सबै आश्रय (फर्म आई-५८९) र विडहोल्डिंङ अफ रिमूभल सम्बन्धी आवेदनहरूको प्रशोधन (प्रोसेस) अस्थायी रूपमा रोक्ने घोषणा गरेको छ।

मेमोमा यूएससीआइएस अधिकारीलाई “राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासम्बन्धी जोखिम पूर्णरूपमा मूल्याङ्कन गर्न आवश्यक भएमा गहिरो पुनःसमिक्षा र पुनः–इन्टरभ्यू गर्नुपर्छ” भनेर निर्देशन दिइएको छ।

गोलीकाण्डपछि कडा कदम

यो नयाँ नीति थ्याङ्क्सगिभिङपछि वासिङ्टन डीसीमा ह्वाइट हाउस नजिक भएको गोलीकाण्ड पछि आएको हो। घटनामा वेस्ट भर्जिनियाका दुई नेसनल गार्ड गम्भीर घाइते भएका थिए। त्यसमध्ये एकको मृत्यु भइसकेको छ भने अर्का अझै पनि जोखिमबाट बाहिर आइसकेका छैनन।

सन्दिग्ध आक्रमणकारीको पहिचान २०२१ मा अमेरिका प्रवेश गरेका २९ वर्षे अफगान नागरिकका रूपमा गरिएको छ। रिपोर्टहरूमा उनी अफगानिस्तानस्थित तत्कालीन सेन्ट्रल इंटेलिजेंस एजेन्सी (सीआईए)–सम्बद्ध काउन्टर–टेरर युनिटसँग सम्बद्ध रहेको उल्लेख गरिएको छ। अमेरिका आएपछि उनलाई यस वर्षको सुरुमा आश्रय (एसाइलम) प्रदान गरिएको थियो।

यूएससीआईएस मेमोले यही घटनालाई प्रत्यक्ष रूपमा उद्धृत गर्दै “अमेरिकी जनतामाथिको खतरा” र “पहिचान गरिएका चिन्ताहरू” का कारण यो अस्थायी रोक आवश्यक भएको दाबी गरेको छ।

ट्रम्प प्रशासनको यो कदमले व्यावहारिक रूपमा धेरै आवेदकका लागि लामो अनिश्चितता र प्रतीक्षाको अवस्था ल्याउने देखिएको छ। मानवअधिकार समूह, आप्रवासी अधिकारकर्मी र कानुनविद्हरूले यो नीतिविरुद्ध संविधानिकता र भेदभावको आधारमा अदालतमा चुनौती दिने तयारी गरेका छन्।

प्रतिक्रिया