न्यू जर्सी। न्युअर्कमा शनिबार साँझ भएको गोलीकाण्डमा १० वर्षे बालक र २१ वर्षीया युवतीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्। पाँच जनामाथि गरिएको यो आक्रमण अमेरिकामा सामूहिक गोलीकाण्डको सूचीमा दर्ता भएको छ।
घटना नोभेम्बर १५, २०२५ शनिबार साँझ करिब ७ बजेतिर न्युअर्कको दक्षिणी भागमा पर्ने चान्सलर एभेन्यू र लेज्ली स्ट्रिटमा भएको थियो। स्थानीय अधिकारीहरूले सडक र फूटपाथबाट कम्तीमा १७ वटा गोलीका खोका संकलन गरेका थिए। यसले ठूलो सङ्ख्यामा ‘फायरिङ’ भएको संकेत गर्छ।
मृत्यु हुनेमा १० वर्षे जोर्डन गार्सिया र २१ वर्षीया कियाह स्कट रहेको पुष्टि गरिएको छ। उनीहरूलाई घटनास्थलबाट तत्काल युनिभर्सिटी अस्पताल लगाइएको थियो। तर, उपचारकै क्रममा अस्पतालले दुवैलाई मृत घोषणा गर्यो।
घाइते हुनेमा ११ वर्षे बालक (संभवत: जोर्डनका दाजु), १९ वर्षे युवक र ६० वर्षे पुरुष छन्। उनीहरूको अवस्था स्थिर रहेको एसेक्स काउन्टी प्रोसिक्यूटरको कार्यालयले जनाएको छ। स्थानीय बासिन्दाले जोर्डन र उनका ११ वर्षे दाजु नजिकको रिक्रिएशन सेंटरबाट घर फर्कँदै गर्दा अचानक गोली चल्न थालेको बयान दिएका छन्।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका सीसीटीभी फुटेजमा चान्सलर एभेन्यू र लेज्ली स्ट्रिटको कुनामा अवस्थित ‘हेबर लिक्वर्स’ अगाडि केही मानिस उभिएको बेला दुई जना शङ्कित व्यक्ति दौडँदै आएर तीव्र गतिमा गोली बर्साइरहेको देखिन्छ। घटनाको अनुसन्धान एसेक्स काउन्टी प्रोसिक्यूटरको होमिसाइड/मेजर क्राइम्स युनिटले न्युअर्क प्रहरी र अन्य निकायसँग मिलेर गरिरहेको छ। प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन। न त गोली चलाउने व्यक्तिहरूको परिचय सार्वजनिक गरेको छ। बरू, आरोपी पहिचान र पक्राउमा सहयोग पुर्याउने सूचनाका लागि एसेक्स काउन्टी शेरिफ अफिसले १० हजार डलर इनामको घोषणा गर्दै प्रोसिक्यूटरको टिप्स लाइनमार्फत जानकारी दिन आग्रह गरेको छ।



प्रतिक्रिया