न्यू योर्क। अमेरिकी सेनेटले ४१ दिन लामो संघीय सरकारी शटडाउन अन्त्य गर्न आर्थिक विधेयक पारित गरेको छ। तर शटडाउन अन्त्य हुन यो विधेयक लागू हुनुपर्छ। त्यसका लागि विधेयक हाउस (प्रतिनिधि सभा) बाट पारित हुनुपर्छ र त्यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुपर्छ।
अमेरिकी सेनेटले नोभेम्बर १० मा ६०–४० मतले सरकारी खर्च सम्बन्धी विधेयक पारित गरेको हो। यो विधेयकले अधिकांश संघीय एजेन्सीलाई २०२६ जनवरी ३० सम्म चलाउने खर्चको प्रबन्ध गर्छ। यसले अक्टोबर १ देखि अवरुद्ध भएका सरकारी सेवा पुनः खोल्ने मार्ग प्रशस्त गर्छ। तर विधेयक हाउस (प्रतिनिधि सभा)बाट पारित भई राष्ट्रपति ट्रम्पले हस्ताक्षर नगरेसम्म शटडाउन औपचारिक रूपमा अन्त्य हुँदैन।
विधेयकमा पूर्ण रुपमा वार्षिक खर्च समेटिएका क्षेत्रहरू:
- सैनिक पूर्वाधार र वेटेरन्स अफेयर्स (पूर्वसैनिक सेवा)
- विधायी निकाय (कङ्ग्रेस, क्यापिटल सुरक्षा आदि)
- कृषि विभाग र सम्बन्धित कार्यक्रमहरू
विधेयकामा एसएनएपी (फुड स्ट्याम्प) कार्यक्रमका लागि २०२६ सेप्टेम्बर ३० सम्मको बजेट व्यवस्था गरिएको छ। यसले लाखौँ न्यून आय भएका अमेरिकीलाई खाद्यान्न सहायता निरन्तर रहने सुनिश्चितता गर्नेछ। शटडाउनका कारण बेतलबी बसेका वा जबरजस्ती छुट्टीमा परेका संघीय कर्मचारीहरूलाई ‘ब्याक पे’ (बाँकी तलब) दिने, पुनः नियुक्ति गर्ने र २०२६ जनवरी ३० सम्म जागिर कटौती गर्नु नपर्ने सुनिश्चितता पनि गर्नेछ।
विधेयकले करिब २४ मिलियन मानिसलाई स्वास्थ्य बीमामा सहयोग गर्ने ओबामाकेयर कर क्रेडिट/सब्सिडीको म्याद भने सीधै थप्दैन। यसमा डिसेम्बरमा छुट्टै मतदान गर्ने प्रावधान मात्र राखिएको छ, जसको नतिजा अनिश्चित छ। यसले डेमोक्र्याट नेता र प्रगतिशील समुहलाई असन्तुष्ट बनाएको छ।
विधेयकले राष्ट्रपति ट्रम्पले भविष्यमा अन्य कानुनी बाटो प्रयोग गरेर संघीय खर्च काट्ने वा कर्मचारी संख्या घटाउने अधिकारमा रोक लगाएको छैन। डेमोक्र्याटहरूले यसलाई अर्को राजनीतिक संघर्षको ढोका खुलै राखिएको भन्दै आलोचना गरेका छन्।
मतदानमा केही मध्यमार्गी वा संवेदनशील सिटमा रहेका डेमोक्र्याट सिनेटरले रिपब्लिकनसँग मिलेर विधेयकको पक्षमा मतदान गरे। धेरै डेमोक्र्याट र प्रगतिशील नेताहरूले पार्टीको मुख्य माग– स्वास्थ्य सब्सिडीको सुरक्षा – सम्बोधन नभएको भन्दै विधेयकलाई सम्झौतास्वरूप व्याख्या गरेका छन्।
रिपब्लिकन र ह्वाइट हाउसले भने सरकार खोल्ने, आवश्यक सेवा चलाउने र आगामी बजेट वार्ताका लागि “दबाब कायम राख्ने” बताउँदै विधेयकको स्वागत गरेका छन्। लामो शटडाउनले प्रभाव पारेको बजार र व्यवसायिक समुहहरूले पनि सिनेटबाट पारित विधेयकलाई सकारात्मक रूपमा लिएका छन्। सर्वेक्षणहरूले शटडाउनप्रति जनआक्रोश बढ्दै जाँदा रिपब्लिकनलाई बढी दोष लगाइएको देखाएका थिए।
तर, हाउसले विधेयक अस्वीकार गर्यो वा राष्ट्रपति ले हस्ताक्षर नगरे, संघीय सरकारको शटडाउन जारी रहनेछ।




प्रतिक्रिया