२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

सरकार बन्द हुँदा शुक्रबार अमेरिकामा हजार बढी उडान रद्द, कटौती दर २० प्रतिशतसम्म पुग्न सक्ने

सरकार बन्द हुँदा शुक्रबार अमेरिकामा हजार बढी उडान रद्द, कटौती दर २० प्रतिशतसम्म पुग्न सक्ने

न्यू योर्क। सङ्घीय सरकारी बन्द (शटडाउन) सङ्कट गहिरिँदै जाँदा फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले शुक्रबार अमेरिकाभर एक हजारभन्दा बढी उडान रद्द गरेको छ। यो सङ्ख्यामा अमेरिका भित्रिने र बाहिरिने दुवै उडान छन्।
एफएएको आपतकालीन आदेशपछि शुक्रबार ४० प्रमुख विमानस्थलमा उडान सङ्ख्या घटाइएको थियो। यो शटडाउन सुरु भएयता विमानस्थलमा देखिएको सबैभन्दा ठूलो सङ्कट हो।

सङ्घीय शटडाउनका कारण विमानस्थलमा काम गर्ने वायु यातायात नियन्त्रक तथा अन्य महत्त्वपूर्ण प्राविधिक सेवामा कर्मचारी अभाव चर्किएको छ। त्यही कारण एफएएले नोभेम्बर ७ देखि लागू हुने गरी विशेष आपतकालीन आदेश जारी गरेको हो। आदेश अनुसार एयरलाइन्स कम्पनीहरूले छानिएका विमानस्थलहरूमा बिहान ६ बजेदेखि राति १० बजेसम्मका घरेलु नियमित उडानहरू चरणबद्ध रूपमा घटाउनु अनिवार्य छ। एफएएले यो कदम उडान सुरक्षा, ट्राफिक व्यवस्थापन र थकित कर्मचारीका कारण उत्पन्न हुनसक्ने जोखिम घटाउन लिइएको हो।

एफएएको आदेश अनुसार शुक्रबार (नोभेम्बर ७) मा कम्तिमा ४ प्रतिशत उडान कटौती गरियो। शट डाउन जारी रहे नोभेम्बर ११ देखि ६ प्रतिशत उडान कटौति गरिने छ। नोभेम्बर १३ देखि कटौति ८ प्रतिशत पुर्‍याइने छ भने नोभेम्बर १४ देखि उडान सङ्ख्या १० प्रतिशत कटौती गरिने छ। अधिकारीहरूले, कर्मचारी संकट नघट्ने हो भने, केही विमानस्थलमा कटौती दर २० प्रतिशतसम्म पुग्न सक्ने सङ्केत पनि गरेका छन्।

उडान कतौटी प्राथमिक रुपमा घरेलु उडानहरूमा हुनेछ। लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरूलाई सम्भव भएसम्म जोगाउन खोजिएको छ। विज्ञ र यात्रु अधिकार समूहहरूले प्रमुख विमानस्थलहरूमा १० प्रतिशतसम्म उडान कटौती लामो समय कायम रह्यो भने दैनिक रुपमा हजारौं यात्रु प्रभावित हुने, उडान छुट्ने र घरेलु सञ्जालमा गम्भीर अव्यवस्था बढ्ने चेतावनी दिएका छन्।

शुक्रबार अपरान्हसम्मको तथ्याङ्क अनुसार देशभर एक हजार भन्दा बढी उडान रद्द भइसकेका छन्। सयौं उडान ढिलाइ भएका छन्। सबैभन्दा बढी असर एटलान्टा, डेनभर, वासिङ्टन रेगन नेशनल, न्युयोर्क, सिकागो, लस एन्जलस र स्यान फ्रान्सिस्को जस्ता मुख्य हब विमानस्थलहरूमा परेको छ। डेल्टा, अमेरिकन, युनाइटेड, साउथवेस्ट, जेट ब्लूलगायत प्रमुख एयरलाइन्सहरूले उडान रद्द भएका यात्रुहरूलाई लचिलो रिबुकिङरिफण्ड सुविधा दिएका छन्। 

 

प्रतिक्रिया