२२ मंसिर २०८२, आइतबार
Sun, Dec 7, 2025
SUBSCRIPTION

न्यान्सी पेलोसी २०२७ मा अवकाश लिँदै

न्यान्सी पेलोसी २०२७ मा अवकाश लिँदै

एजेन्सी। अमेरिकी कंग्रेसकी वरिष्ठ नेतृ र प्रतिनिधि सभाकी पूर्व सभामुख न्यान्सी पेलोसीले अवकाश लिने घोषणा गरेकी छन्। उनले २०२७ जनवरीमा आफ्नो कार्यकाल सकिएसँगै कंग्रेसबाट अवकाश लिने घोषणा गरेकी हुन्। यससँगै अमेरिकी राजनीतिमा चार दशकभन्दा बढी समयसम्म निर्णायक भूमिका खेलेकी क्यालिफोर्नियाली डेमोक्र्याट नेतृको ऐतिहासिक यात्रा औपचारिक रूपमा अन्त्य हुँदैछ।

८५ वर्षीया पेलोसीले बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत पुनः उम्मेदवारी नदिने निर्णय सुनाइन। उनले अमेरिकी जनतालाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय रहिरहन आग्रह गरिन्। विशेषगरी आफ्नो राजनीतिक क्षेत्रप्रति लक्षित गर्दै उनले भनिन्, “सानफ्रान्सिस्को, आफ्नो शक्तिलाई चिन्नुहोस्।”

सन् १९८७ मा स्यान फ्रान्सिस्को प्रतिनिधित्व गर्दै पहिलो पटक कङ्ग्रेसवुम्यान निर्वाचित पेलोसी छिट्टै डेमोक्र्याटिक पार्टीको शीर्ष नेतृत्वमा पुगिन्। उनी २००३ देखि २०२३ सम्म प्रतिनिधि सभा डेमोक्र्याटिक नेताको भूमिकामा रहिन्। सन् २००७ मा उनी प्रतिनिधि सभाकी सभामुख (स्पिकर) निर्वाचित हुँदै अमेरिकी इतिहासमा उक्त पद सम्हाल्ने पहिलो महिला बनिन्। २००७–२०११ र पुनः २०१९–२०२३ दुई कार्यकालमा स्पिकर रहेकी पेलोसी अमेरिकी राष्ट्रपतिको उत्तराधिकारक्रममा उपराष्ट्रपतिपछिको स्थानमा रहने शक्तिशाली पदमा थिइन्।

स्पिकरको हैसियतमा पेलोसीले विभिन्न प्रशासनको नीतिगत एजेन्डा अघि बढाउने वा रोक्ने दुवै भूमिकामा निर्णायक प्रभाव पारिन्। उनले राष्ट्रपति बाराक ओबामाको ऐतिहासिक ‘अफोर्डेबल केयर एक्ट’ पारित गराउन मुख्य भूमिका खेलिन्। त्यसपछि राष्ट्रपति जो बाइडेन्सँग मिलेर कोरोना राहत प्याकेज, द्विदलीय पूर्वाधार योजना, जलवायु तथा सामाजिक खर्च सम्बन्धी महत्वपूर्ण विधेयकहरू र समलिङ्गी विवाह सुरक्षा सम्बन्धी कानुन प्रतिनिधि सभाबाट पारित गराउन नेतृत्व गरिन्। 

डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकालमा पेलोसी उनको कडा आलोचक आणि संस्थागत प्रतिरोधको प्रमुख अनुहार बनिन्। ट्रम्पको स्टेट अफ द युनियन भाषणपछि सभागृहमा उभिएर प्रतिवेदन च्यातेको दृश्य विश्वभर चर्चित भयो। सुरुमा ट्रम्पविरुद्ध महाभियोग प्रक्रियामा साथ रहेकी उनले युक्रेनसम्बन्धी शक्तिको दुरुपयोगको आरोप गम्भीर बनेपछि २०१९ मा महाभियोग अगाडि बढाउनु अपरिहार्य भएको भन्दै प्रक्रिया अघि बढाइन्।

उनको दृढ भूमिकाले उनलाई डेमोक्र्याटिक पक्षका लागि शक्तिशाली नेतृको रूपमा उभ्यायो भने रिपब्लिकनहरूका लागि ‘लिबरल कोस्टल एलिट्स’।  त्यसैले उनी सँधै दक्षिणपन्थी आक्रमणको तारोमा रहिन्।

सभामुख पदबाट अलगिए पनि पेलोसी प्रभावशाली राजनीतिक पात्रकै रूपमा सक्रिय रहिन्। हालै उनले क्यालिफोर्नियामा ‘प्रोपोजिसन ५०’ पारित गराउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्, जसको उद्देश्य २०२६ को मध्यावधि निर्वाचनमा प्रतिनिधि सभाका पाँच सिट डेमोक्र्याटतर्फ ल्याउने गरी निर्वाचन क्षेत्र पुनर्संरचना गर्नु रहेको थियो।

पेलोसीको अवकाश घोषणासँगै अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याटिक नेतृत्वको एक युग समाप्त हुँदैछ। करिब चार दशकदेखि स्यान फ्रान्सिस्कोको आवाज बनेकी उनी जानेक्रममा आफ्ना समर्थक र शहरलाई “लोकतान्त्रिक सहभागिताबाट आएको शक्ति जोगाएर राख्न” आह्वान गर्दै विदा हुँदैछिन्।

प्रतिक्रिया