न्यू योर्क। डेमोक्र्याटले नोभेम्बर ४ मा भएको निर्वाचनमा थुप्रै राज्य र सहरमा निर्णायक जित हासिल गरेका छन्। उनीहरूले गभर्नर, सिटी हल, नियामक निकाय र स्थानीय तहसम्म रिपब्लिकन्हरूलाई हराएका छन्।
भर्जिनियामा रिपब्लिकन विनसम एरल–सियर्सलाई पराजित गर्दै डेमोक्र्याट एबिगेल स्पानबर्गर गभर्नर निर्वाचित भइन। उनी भर्जिनिया राज्यको इतिहासमै पहिलो महिला गभर्नर बनेकी छन्। गभर्नर, लेफ्टिनेन्ट गभर्नर, अटर्नी जनरलसहित संसदमा झन्डै दुईतिहाई पद जिति पूर्ण सत्ता नियन्त्रण सुनिश्चित गरेका छन्। राज्यका तिनवटै अङ्गमा जित हात पारेका डेमोक्रेट पर्टीकी स्पानबर्गरले बढ्दो महँगी, स्वास्थ्य सेवा, शिक्षा, गर्भपतन अधिकार संरक्षण र स्थिर नेतृत्वको मुद्दा उठाएकी थिइन्।
न्युजर्सीमा डेमोक्र्याट माइकी शेरिलले रिपब्लिकन ज्याक सियाटारेलीलाई सहज अन्तरले हराउँदै गभर्नर पद सुरक्षित गरिन। मतदाताले गभर्नर मात्र होइन, तल्लो सभा (स्टेट एसेम्ब्ली) मा पनि डेमोक्र्याट बहुमत दिलाए। डेमोक्रेटले स्टेट एसेम्ब्लीमा ८० मध्य ५५ सिट जिते। शेरिलले स्थिर शासन, प्रभावकारी सार्वजनिक सेवा र ट्रम्प प्रशासनका नीतिहरूविरुद्ध स्पष्ट आवाज उठाएकी थिइन्।
जर्जियामा डेमोक्र्याटहरूले विद्युतीय र सार्वजनिक सेवाको दर निर्धारण गर्ने महत्वपूर्ण निकाय, पब्लिक सर्भिस कमिसन का सिट जित्दै वर्षौँपछि पहिलो पटक राज्यव्यापी स्तरमा सफलता हासिल गरे। महङ्गो विद्युतीय बिल र ठूला कम्पनी पक्षीय नीतिविरुद्ध उठाइएको नाराले सर्वसाधारण मतदातासँग प्रत्यक्ष सम्बन्ध जोड्यो र रिपब्लिकनको हैकममा धक्का पुग्यो।
सबैभन्दा प्रतीकात्मक नतिजा न्यूयोर्क सिटी मा देखियो। ३४ वर्षीय जोहरान माम्दानी मेयर निर्वाचित भए। स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै माम्दानी सहरको इतिहासमै पहिलो मुस्लिम, पहिलो दक्षिण एशियाली मूलका र हालसम्मका सबैभन्दा युवा मेयरमध्ये एक बनेका छन्।
डेमोक्रेटिक समाजवादी धारबाट चुनाव लडेका माम्दानीले भाडा स्थिरता (रेन्ट फ्रिज), सशक्त भाडावाल अधिकार, न्यूनतम ज्यालामा वृद्धि, सर्वसुलभ बाल हेरचाह, निःशुल्क वा सस्तो सार्वजनिक यातायात, र धनीमाथि न्यायोचित कर लगाएर सार्वजनिक सेवा विस्तार गर्ने स्पष्ट कार्यक्रम अघि सारेका थिए। निर्वाचनमा रिपब्लिकनहरूको आधार मुख्यतः ग्रामीण क्षेत्रमा सीमित देखियो। केही ठाउँमा रिपब्लिकनले सिट जोगाए पनि समग्रमा रिपब्लिकन कमजोर देखिए।




प्रतिक्रिया