न्यूयोर्क । अमेरिकामा यो वर्ष दशवर्ष यताकै सबैभन्दा धेरै आप्रावासीहरुलाई देश निकाला गरेको एक रिपोर्टले खुलासा गरेको छ । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)ले सन् २०२४ भरीमा २ लाख ७१ हजार ४ सय ८४ जना आप्रवासीहरुलाई देश निकाला गरेको जनाएको हो ।
आइसीईले डिसेम्बर १९ मा सार्वजानिक गरेको प्रतिबेदनमा यो संख्या सन २०१४ पछि सबैभन्दा बढी भएको जनाएको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न ती आप्रावासीहरुलाई विश्वका १९२ देशमा निर्वासित गरेको प्रतिबेदनमा उल्लेख छ । यो वर्ष अमेरिकाबाट देश निकालामा पर्ने नेपालीका संख्या भने ५७ रहेको छ भने भारत फर्काइउकोको संख्या १ हजार ५ सय २९ रहेका छन् ।
आइसीईको रिपोर्ट अनुसार, देशनिकाला गरिएका व्यक्तिहरूमा अमेरिकाको दक्षिणी सीमाबाट गैरकानूनी रूपमा प्रवेश गरी आतंकाकारी गतिविधि, मानव बेचविखन, लागुऔषध किनबेच, हत्या लगायतका अपराधिक गतिविधिमा संलग्नहरु छन् । देश निकाला भएकाहरु मध्ये ३३ प्रतिशत व्यक्तिहरूका आपराधिक अभिलेख रहेको प्रतिबेदनमा भनिएको छ ।
अमेरिकाबाट देश निकाला गरिएकाहरुमा दक्षिण अमेरिकी मुलुकका नागरिकहरु मुख्य रुपले रहेका छन् । आइसीईको प्रतिबेदन अनुसार मेक्सिकोका ८७ हजार २ सय ९८, ग्वाटेमालाका ६६ हजार ४ सय ३५, हुण्डारकका ४५ हजार ९ सय २३, निकारागुवाका ३८ हजार ७२ रहेका छन् । यसैगरी पेरुका १४ हजार २ सय ६८, एल साल्भाडोरका १५ हजार २ सय ८४, इक्वेडरका १२ हजार ९ सय २१ र भेनेजुलाका ३ हजार २सय ५६ रहेका छन् ।
यो रिपोर्ट बाइडन प्रशासनअन्तर्गत आप्रवासन व्यवस्थापनको अन्तिम लेखाजोखा हो जुन डोनाल्ड ट्रम्पले जनवरी २० राष्ट्रपति पद सम्हाल्नु भन्दा अघि सार्वजानिक भएको छ । ट्रम्पले अमेरिकाको इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गर्ने दावी गर्दै आएका छन्, यद्यपि यसलाई कसरी व्यवस्थापन गर्ने बारेमा अझै प्रष्ट भइसकेको छैन ।
जो बाइडनले २०२१ मा राष्ट्रपति पदको शपथ लिँदै गर्दा आप्रावासीको देश निकाला कार्यलाई स्थगित गर्ने वाचा गर्दै आफ्नो कार्यकालमा ११ मिलियन अवैध आप्रवासीहरूलाई नागरिकता प्राप्त गर्नका लागि मार्गप्रसस्त गर्ने बताएका थिए । तर, बाइडेनको उक्त प्रतिबद्धता पुरा हुन सकेन बरु आफ्नो कार्यकालको अन्तिम वर्ष शरणार्थी आवेदकलाई थप कडाइ नीति अवलम्बन गरेका थिए ।
तस्बीरः आइसीइ फेसबुकपेज




प्रतिक्रिया