न्यूयोर्क। मिनियापोलिस, मिनेसोटामा ट्रम्प प्रशासनको दमनकारी कारबाहीविरुद्ध आन्दोलनरत अभियन्ताहरूले आह्वान गरेको “डे अफ एक्सन” लाई साथ दिन शुक्रवार, जनवरी २३ मा न्यूयोर्क सिटीको युनियन स्क्वायरमा हजारौँ मानिसहरू भेला भए। श्रमिक सङ्घ, विद्यार्थी, आप्रवासी अधिकार समूह, धार्मिक अगुवा र विभिन्न सामुदायिक संस्थाहरू ‘आईस’ को आक्रमण तीव्र बन्दै गएको र मिनियापोलिसमा देखिएको “चरम दमन” विरुद्ध एकजुट भएका देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) को विज्ञप्तिमा उल्लेख छ।

ड्रमका अनुसार, मिनियापोलिसमा आईस एजेन्टहरूले ३७ वर्षीय रिने निकोल गुडलाई गोली हानी हत्या गरेको घटनापछि देशभर आक्रोश चुलिएको छ। प्रदर्शनकारीहरूले आईसका कारबाहीबाट “तहसनहस भएका जीवन” र “टुक्र्याइएका परिवार” सम्झँदै बिना नियन्त्रण हुँदै आएको हिंसाका लागि जबाफदेहिताको माग गरे। आयोजकहरूको दाबीअनुसार, यो प्रदर्शनको भोलिपल्ट आप्रवासन एजेन्टहरूले एलेक्स प्रेट्टीलाई पनि गोली हानी हत्या गरे—जसलाई उनीहरूले “एकै महिनामा मिनियापोलिसमा भएको दोस्रो घातक गोलीकाण्ड” भनेका छन्।
न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीले आईसको आलोचना गर्दै भने, “हामी यस्तो सरकारी निकाय देखिरहेका छौँ जुन आप्रवासन कानुन लागू गर्ने नाममा मानिसहरूलाई उनीहरूको आप्रवासन स्थिति, कानुनका तथ्य, र मुद्दाका प्रमाण वास्ता नगरी आतङ्कित बनाइरहेको छ।”उनले आफ्नो राजनीतिक धारणा स्पष्ट पार्दै थपे, “म आईस खारेज गर्ने मागलाई समर्थन गर्छु। त्यसको कारण के हो भने हामीले यस्तो सरकारी संरचना (आईस) देखिरहेका छौं जसलाई आफू किन अस्तित्वमा ल्याइएको हो भन्ने घोषित उद्देश्य पूरा गर्न कुनै रुचि नै छैन।”
मिनेसोटामा श्रमिक सङ्घ, प्रगतिशील धार्मिक अगुवा, डेमोक्र्याटिक सांसद र समुदायका अभियन्ताहरूले जनरल स्ट्राइक (आम हडताल) को नेतृत्व गरेको आयोजक पक्षको भनाइ छ, जहाँ शुक्रवार धेरैले काम, विद्यालय र किनमेल नगर्ने निर्णय गरे। न्यूयोर्क सिटीमा भने आयोजकहरूले आईसलाई “सधैँका लागि सहरबाट बाहिरिन” माग गर्दै, होम डिपो, पलान्टिर र अमेजन जस्ता “आईसबाट लाभ लिने” कम्पनीहरूलाई समेत लक्षित गरे। उनीहरूको आरोप छ—यी कम्पनीहरूले आईसलाई सहयोग गरेर समुदायलाई “च्यात्ने” काम गरिरहेका छन्। साथै, प्रदर्शनकारीहरूले कङ्ग्रेसका निर्वाचित प्रतिनिधिहरूलाई आईसको बजेट कटौती गर्दै न्यूयोर्कवासीहरूमाथि फैलाइरहेको त्रास र हिंसाका लागि जबाफदेही बनाउन ठोस कदम चाल्न आग्रह गरे।
ड्रमकी आयोजक रोशोन आरा निपाले आप्रवासी समुदायमा बढ्दो डरको अवस्था चित्रण गर्दै भनिन्, “यो हाम्रो लागि महत्त्वपूर्ण कदम चाल्ने निर्णायक क्षण हो। देशभर र यहाँ न्यूयोर्क सिटीमा जे भइरहेको छ, त्यसले मानिसहरूमा ठुलो त्रास पैदा गरेको छ।” उनले डरका प्रत्यक्ष प्रभावहरू उल्लेख गर्दै थपिन्, “धेरै मानिसहरू काममा जान छाडिरहेका छन्। आफ्ना बच्चाहरूलाई विद्यालय नपठाई घरमै राखिरहेका छन्। र, किराना किनमेल गर्न बाहिर निस्कन समेत डराइरहेका छन्।” यस्तै परिस्थितिमा एकताबद्ध प्रतिरोध आवश्यक रहेको जोड दिँदै उनले भनिन्, “यसका बाबजुद हामी कामकाजी वर्गका आप्रवासीहरू एक ठाउँमा उभिनै पर्छ। हामी एकताबद्ध छौँ, र आफ्नो समुदायको रक्षा गर्न तयार छौँ भन्ने सन्देश दिनै पर्छ।”
आयोजकहरूका अनुसार, यो र्यालीले न्यूयोर्कदेखि मिनियापोलिससम्म फैलिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ‘आईस खारेज’, ‘अपहरणजस्ता कारबाही बन्द’, कम्पनी–सहयोग अन्त्य, र बजेट कटौतीमार्फत जबाफदेहिता जस्ता मागलाई केन्द्रमा राखेको छ।




प्रतिक्रिया