२३ पुस २०८२, बुधबार
Wed, Jan 7, 2026
SUBSCRIPTION

मादुरोलाई न्यू योर्क ल्याइयो, ब्रुकलिन जेलमा राखिने

मादुरो र उनकी पत्नीलाई न्यू योर्क ल्याएपछि अब मुद्दा म्यानह्याटन फेडेरल कोर्टको प्रक्रियामा जानेछ। अभियोगमा कोकेन तस्करी, नार्को–टेरोरिज्म र मेसिन गनसम्बन्धी आरोपहरू समेटिएको उल्लेख छ। पहिलो उपस्थितिमा उनीहरूले दोष स्वीकार नगर्ने (नट गिल्टी) भनाइ दिने सम्भावना र मुद्दा लामो समय—एक वर्षभन्दा बढी—तानिन सक्ने अनुमान पनि उल्लेख गरिएको छ।
मादुरोलाई  न्यू योर्क ल्याइयो, ब्रुकलिन जेलमा राखिने


न्यू योर्क । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो शनिबार राति न्यू योर्क सिटी आइपुगेका छन्। अमेरिकी संचार माध्यमहरुका अनुसार कराकसमा अमेरिकी सेनाले गरेको छिटो र व्यापक कारबाहीबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस पक्राउ परेपछि उनीहरूलाई संघीय अभियोगमा कारबाही अघि बढाउन न्यू योर्क ल्याइएको हो। मादुरोलाई ८८ ब्रुकलिनस्थित “मेट्रोपोलिटन डिटेन्सन सेन्टर”मा राखिने एक कानुन कार्यान्वयन निकायका अधिकारीले अनौपचारिक रुपमा जानकारी दिएको समाचारहरुमा दावी गरिएको छ । 
मादुरो र उनकी पत्नीलाई न्यू योर्क ल्याएपछि अब मुद्दा म्यानह्याटन फेडेरल कोर्टको प्रक्रियामा जानेछ। अभियोगमा कोकेन तस्करी, नार्को–टेरोरिज्म र मेसिन गनसम्बन्धी आरोपहरू समेटिएको उल्लेख छ। पहिलो उपस्थितिमा उनीहरूले दोष स्वीकार नगर्ने (नट गिल्टी) भनाइ दिने सम्भावना र मुद्दा लामो समय—एक वर्षभन्दा बढी—तानिन सक्ने अनुमान पनि उल्लेख गरिएको छ।

त्यसअघि शनिबार विहान राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी कराकसमा अमेरिकी संयुक्त फौजले गरेको सफल आक्रमणपछि मादुरोलाई पक्राउ गर्न सफल भएको औपचारिक जानकारी गराएका थिए । मादुरोलाई सत्ताबाट हटाउन महिनौँदेखि चलाएको अभियानको चरम बिन्दुको रुपमा शनिबार बिहान कराकसमा आक्रमण गरी मादुरोलाई पक्राउ गरिएको हो । घट्नाको केही घण्टामै ट्रम्पले पत्रकार सम्मेलनमा “सुरक्षित, उचित र विवेकपूर्ण ट्रान्जिसन” नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएला “रन” गर्ने समेत दावी गरे । उनले “बुट्स अन द ग्राउन्ड” (जमिनमा सेना) बारे डर नलाग्ने पनि भने, तर अमेरिकी सेना भेनेजुएलामै बस्ने÷नबस्ने स्पष्ट गरेनन्।

शुक्रबार रातीबाट शुरु भई शनिबार विहान सबेरसम्म जारी अमेरिकी आक्रमणका क्रममा नागरिक र सैनिकसहित कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएलाका अधिकारीको प्रारम्भिक विवरण उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार १५० भन्दा बढी अमेरिकी विमान परिचालन गरी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको थियो, ताकि हेलिकप्टरमार्फत स्पेसल अपरेसन फोर्सेस मादुरोको कम्पाउन्डमा प्रवेश गर्न सकून्। उनीहरूका अनुसार स्थानीय समय अनुसार करिब राति २ बजे कम्पाउन्डमा धावा बोलिएको थियो र अपरेसन २ घण्टा २० मिनेट चलेको थियो।

यसैवीच म्यानह्याटनमा बसेको ग्रान्ड जुरीले जारी गरेको अभियोगका आधारमा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोमाथि न्यू योर्कमै अभियोजन गरिने अमेरिकाको अटर्नी जनरल पाम बन्डीले बताएकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा शनिबार बिहान भेनेजुएलामाथि भएको हवाई आक्रमणका क्रममा अमेरिकी फोर्सेसले मादुरोलाई पक्राउ गरेको थियो । 
सन् २०१३ देखि भेनेजुएलामा समाजवादी शासन चलाउँदै आएका मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस देशबाट उडेर बाहिरिन खोज्दा पक्राउ परेको ट्रम्पले जनवरी ३ मा दाबी गरे। ट्रम्पले दुई देशबीच तनाव चुलिँदै गएको अवस्थामा भेनेजुएलाभित्रका सैन्य संरचनाहरूलाई लक्षित गरी हवाई आक्रमण गर्न आदेश दिएका थिए। ट्रम्प प्रशासनले मादुरोले भेनेजुएलालाई “नार्को–स्टेट”का रूपमा चलाएको, अवैध लागुऔषध र गिरोह गतिविधिको “पाइपलाइन” बनेको आरोप लगाउँदै आएको छ।
शनिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि प्रभावकारी रूपमा नियन्त्रण लिएको दाबी गरे र “सुरक्षित, उचित र विवेकपूर्ण ट्रान्जिसन” हुन नसकेसम्म अमेरिका “देश चलाउने” बताए। तर त्यो ट्रान्जिसन कहिले र कसरी लागू हुन्छ भन्नेबारे तत्काल कुनै समयरेखा प्रस्तुत गरिएको छैन।
यसका साथै ट्रम्पले भेनेजुएलाको तेल उद्योग सञ्चालनमा अमेरिकी तेल कम्पनीहरू अग्रपंक्तिमा रहने संकेत दिए। उनले भेनेजुएलाको तेल व्यवसाय लामो समयदेखि “पूर्ण रूपमा असफल” भएको दाबी गर्दै, अमेरिकी “सबैभन्दा ठूला” तेल कम्पनीहरूले त्यहाँ गएर अर्बौँ डलर लगानी गर्ने, बिग्रिएको तेल पूर्वाधार मर्मत÷पुनर्निर्माण गर्ने र त्यसपछि “देशका लागि पैसा कमाउन सुरु गर्ने” बताएका छन्।

उता, मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कराकसमा गोप्य समारोहमार्फत अन्तरिम राष्ट्रपतिका रूपमा शपथ गराइएको दाबी भए पनि, उनले राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकी हस्तक्षेपलाई अस्वीकार गरिन् र मादुरो नै अझै राष्ट्रप्रमुख रहेको बताइन्। रक्षा मन्त्रीलगायत अन्य अधिकारीहरूसँगै उभिएर उनले भनिन्, “यो देशमा एउटा मात्र राष्ट्रपति छन्, र उहाँको नाम निकोलास मादुरो मोरोस हो।”
रोड्रिगेजले वासिङ्टनले झुटा बहानामा आफ्नो देशमा आक्रमण गरेको आरोप लगाउँदै मादुरोको फिर्ता माग गरेकी छन्।
भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडोले भने आफ्नो राजनीतिक सहयोगी एड्मुन्डो गोन्जालेजलाई तत्काल राष्ट्रपति मान्यता दिन आह्वान गरेकी छन्। मादुरोले पछिल्लो चुनावमा आफूले जितेको दाबी गरे पनि, अमेरिका र अन्य अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनाव धाँधलीले प्रभावित भएको बताएको टाइम्सले उल्लेख गरेको छ। माचाडोले “आज हामी जनादेश लागू गरेर सत्ता लिन तयार छौँ” भन्ने आशयको सन्देश सार्वजनिक गरेकी छन्।
ट्रम्पले भने रोड्रिगेज र माचाडो—दुवैलाई खुला समर्थन गरेनन्। उनले सेक्रेटरी अफ स्टेट मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको दाबी गर्दै “भेनेजुएलालाई फेरि महान बनाउन आवश्यक लागेका काम गर्न उनी मूलतः तयार छिन्” भने। साथै उनले माचाडोसँग नेतृत्व गर्न पर्याप्त समर्थन÷सम्मान छैन भन्ने पनि बताए।
राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक सोमबार
न्यूयोर्क टाइम्सका अनुसार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक सोमबार बिहान बस्ने भएको छ । भेनेजुएलामा भएको अमेरिकी आक्रमणबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी भएको बताइएको छ । रुस, चीन र कोलम्बियाले बैठक माग गरेको र सेक्रेटरी जनरल अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुन र युएन चार्टर पालना गर्न सबै पक्षलाई आग्रह गरेको उल्लेख छ।

प्रतिक्रिया