२३ पुस २०८२, बुधबार
Wed, Jan 7, 2026
SUBSCRIPTION

मेयर जोहरान मामदानीद्वारा “मेयर्स अफिस टु प्रोटेक्ट टेनेन्ट्स” पुनर्जीवित, तीन ‘एक्जिक्युटिभ अर्डर’मा हस्ताक्षर

मेयर जोहरान मामदानीद्वारा “मेयर्स अफिस टु प्रोटेक्ट टेनेन्ट्स” पुनर्जीवित, तीन ‘एक्जिक्युटिभ अर्डर’मा हस्ताक्षर

न्यू योर्क। न्यू योर्क सिटीका नवनियुक्त मेयर जोहरान माम्दानीले पद सम्हालेको पहिलो दिनमै सहरको ‘हाउजिङ क्राइसिस’ (आवास संकट) सामना गर्ने भन्दै तीनवटा एक्जिक्युटिभ अर्डरमा हस्ताक्षर गरेका छन्। 

यी एक्जिक्युटिभ अर्डरमार्फत “मेयर्स अफिस टु प्रोटेक्ट टेनेन्ट्स” लाई पुनर्जीवित गरिएको छ र घर निर्माणलाई छिटो अघि बढाउन दुई नयाँ टास्क फोर्स “लिफ्ट टास्क फोर्स” र “स्पिड टास्क फोर्स” स्थापना गरिएको छ। मेयरले पुनर्जीवित गरेका मेयर्स अफिस टु प्रोटेक्ट टेनेन्ट्सको डाइरेक्टरमा राष्ट्रिय रूपमा चिनिने टेनेन्ट अर्गनाइजर तथा हाउजिङ एड्भोकेट सिया विभरलाई नियुक्त गरेको पनि घोषणा गरेका छन्। सिटीका अनुसार यो अफिस अब टेनेन्टहरूको अधिकार रक्षा गर्ने, ल्यान्डलर्डहरूको दबाब र लापरवाहीविरुद्ध उभिने, र असुरक्षित वा गैरकानुनी अवस्थामा बस्न बाध्य रेन्टर्सका पक्षमा सिटीका एजेन्सीहरूलाई छिटो कदम चाल्न लगाउने केन्द्रीय समन्वय निकायका रूपमा काम गर्नेछ।

मेयर मामदानीले यो घोषणालाई जनवरी १ सँग जोडेर प्रस्तुत गरे।उनले न्यू योर्कका लाखौँ रेन्टर्सले घर भाडा तिर्नुपर्ने दिनमै सरकारको पहिलो प्राथमिकता “टेनेन्ट प्रोटेक्शन” हुने संकेत दिँदै त्यसका लागि तत्कालै कदम चालिने बताए।

पिनाकल रियल्ट’मा सिटीले हस्तक्षेप गर्ने

मेयर माम्दानी र डाइरेक्टर विभरले “पिनाकल रियल्टी” सम्बन्धी ब्यान्क्रप्सी प्रोसीडिङ्समा न्यू योर्क सिटीले हस्तक्षेप गर्ने घोषणा गरेका छन। सिटीले पिनाकल रियल्टीलाई ८३ वटा बिल्डिङमा ५ हजारभन्दा बढी हाउजिङ भायोलेसन र १४ हजार गुनासोका लागि जिम्मेवार ठहर गरेको छ। साथै, पिनाकलले न्यू योर्क सिटीलाई तिर्नुपर्ने रकम पनि बाँकी रहेको बताइएको छ।

सिटीले पिनाकलका टेनेन्टहरूका लागि तुरुन्त राहत खोज्ने र उनीहरूको बसाइँका अवस्था सुधार्ने उद्देश्यले यो कदम चाल्न लागेको जनाएको छ। सिटीले यो हस्तक्षेपलाई “उपेक्षित बिल्डिङहरूमा बसिरहेका रेन्टर्सको पक्षमा उठाइएको अभूतपूर्व कदम”का रूपमा व्याख्या गरेको छ।

मेयर माम्दानीले कर्पोरेसन काउन्सेलका लागि मनोनित स्टिभ ब्यान्क्सलाई ब्यान्क्रप्सी कोर्टमा टेनेन्टहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको जानकारी पनि दिएका छन्। सिटीले आफूलाई “क्रेडिटर” र “इन्ट्रेस्टेड पार्टी” मान्दै पिनाकलबाट असुल गर्नुपर्ने रकम र न्यू योर्कवासीको सुरक्षित घरमा बस्ने अधिकारका लागि अदालतमा दाबी प्रस्तुत गर्ने बताएको छ।

मेयरले अर्डरमा हस्ताक्षर र नियुक्ति घोषणा हस्तक्षेप गर्ने तयारी गरेको पिनाकल स्वामित्वको बिल्डिङमै गरेका हुन। त्यहाँ उनले एउटा अपार्टमेन्ट अवलोकन गर्दा भित्तो बिग्रिएको, फर्श च्यातिएको र हिट नदिएको जस्ता समस्या देखिएको बताइएको छ। मेयरले “यस्तो अवस्थामै बस्न बाध्य धेरै न्यू योर्कवासी छन्, तर लापरवाह ल्यान्डलर्डहरू जवाफदेही हुनबाट उम्किन्छन्” भन्ने सन्देशसहित टेनेन्ट संरक्षणलाई प्रशासनको मुख्य प्राथमिकता बनाउने संकेत दिए।

दुई नयाँ ‘टास्क फोर्स’—लिफ्ट र स्पिड

मेयर मामदानीले सिटीको हाउजिङ आपूर्ति बढाउने र घर निर्माण ढिला बनाउने प्रक्रियागत अवरोध हटाउने उद्देश्यले दुई नयाँ टास्क फोर्स बनाएका छन्। त्यसमा लिफ्ट टास्क फोर्स (ल्यान्ड इन्भेन्टरी फास्ट ट्र्याक) र स्पिड टास्क फोर्स (स्ट्रिमलाइनिङ प्रोसीजरस् टु एक्स्पेडाइट इक्विटेबल डेभलपमेन्ट) छन्।

यी टास्क फोर्सले सिटी-स्वामित्वको जमिन र प्रोपर्टीहरू समीक्षा गरेर हाउजिङ निर्माणका लागि उपयुक्त साइट पहिचान गर्नेछ। यसले जुलाई १, २०२६ भित्र सिटी-स्वामित्वका प्रोपर्टीमध्ये हाउजिङका लागि योग्य स्थलहरूको सूची तयार गर्ने लक्ष्य राखेको छ। यसको जिम्मेवारी डेपुटी मेयर लैला बोजोर्गलाई दिइएको छ।

स्पिड टास्क फोर्सले परमिट, कागजी प्रक्रिया र ब्युरोक्रेसीका कारण घर बनाउन महँगो र ढिलो हुने अवस्थालाई पहिचान गर्नेछ। यसको उद्देश्य निर्माण लागत घटाउने, निर्माण छिटो गर्ने, र न्यू योर्कभर हाउजिङमा पहुँच सहज बनाउने राखिएको छ। स्पिड टास्क फोर्सको नेतृत्व डेपुटी मेयर फर हाउजिङ एन्ड प्लानिङ लैला बोजोर्ग र डेपुटी मेयर अफ अपरेसन्स जुलिया कर्सनले संयुक्त रूपमा गर्नेछन्।

 

प्रतिक्रिया