न्यू योर्क।योर्क सिटीले स्टारबक्ससँग करिब ३८ मिलियन डलरको ऐतिहासिक सम्झौता घोषणा गरेकै दिन मेयर–निर्वाचित जोहरन मम्दानी र अमेरिकी सिनेटर बर्नी स्यान्डर्स ब्रुक्लिनको एउटा स्टारबक्स अगाडि पुगे। उनीहरूले आन्दोलनमा बसेका बरिस्टा (कफि मेकर) सँगै “मार्च” गर्दै कम्पनीलाई उचित सम्झौता गर्न र कामदारको अधिकार सम्मान गर्न आग्रह गरे।

ऐतिहासिक श्रम–सम्झौतापछि आन्दोलन
डिपार्टमेन्ट अफ कन्स्युमर एन्ड वर्कर प्रोटेक्सन (डीसीडब्लूपी) ले गरेको अनुसन्धानपछि स्टारबक्सले १५ हजारभन्दा बढी न्यू योर्कवासी कामदारलाई करिब ३५ मिलियन डलर दिने र ३.४ मिलियन डलर जरिवाना तिर्ने सहमति गरेको छ।
अनुसन्धानमा स्टारबक्सले कामदारको घण्टा उचित कारण बिना कटौती गरेको, अन्तिम समयमा सर्भिस शिफ्ट लिन दबाब दिएको र अन्तिम समयमा सर्भिस शिफ्ट लिन नमान्दा कारबाही गरेको पाइएको थियो।सिटी हलले यसलाई सिटीको श्रम–अधिकार इतिहासकै सबैभन्दा ठूलो सेटलमेन्ट बताएको छ। अब स्टारबक्सले न्यूयोर्कको “फेयर वर्कविक ल” कडाइका साथ पालन गर्नुपर्नेछ।
मम्दानीले यो सम्झौताले “अन्यायको थोरै क्षतिपूर्ति मात्र भएको” भन्दै, वास्तविक समाधान दृढ र न्यायपूर्ण सामूहिक सम्झौता भएको टिप्पणी गरे।
राष्ट्रिय स्तरको स्ट्राइक र स्थानीय राजनीति
स्टारबक्स वर्कर्स युनाइटेड नामक संघले गत नोभेम्बर १३ देखि अनिश्चितकालीन हड्ताल सुरु गरेको हो। यो संघले अहिले ५५० बढी स्टोरका करिब ११ हजार कामदारलाई प्रतिनिधित्व गर्छ।
संघका अनुसार ८० भन्दा बढी शहरका झण्डै १२० स्टोरमा २,५०० जति बरिस्टा कामदार आन्दोलनमा छन्। उनीहरूले मुख्य रूपमा तलब वृद्धि, पर्याप्त स्टाफ, मानवीय आधारमा काम गर्ने समय निर्धारण, यूनियन स्टोर बन्द गर्नेलाई वा यूनियन गतिविधिमा सहभागीलाई प्रतिशोधी कारबाही नगर्न तथा करिब चार वर्षदेखि अल्झिएको पहिलो सामूहिक सम्झौता पालना गर्न माग गरेका छन्। संघले २०२१ मा बफेलोको एउटा स्टोरमा संगठन निर्माण गरेपछि देखिएका स्टारबक्सको “अनफेयर लेबर प्र्याक्टिस” विरुद्ध एक हजारभन्दा बढी मुद्दा दायर गरिसकेको बताएको छ।
मम्दानी : “यो लोभ होइन, शालीनता माग हो”
मेयर–निर्वाचित मम्दानीले भने, “यी लोभका होइनन्, शालीनता माग हुन्।” उनका अनुसार कामदारले स्थिर समय, सम्मान, र न्यूयोर्क जस्तो महँगो शहरमा बाँच्न सकिने जीवन स्तर मात्र मागिरहेका छन्।
मम्दानीले आगामी कार्यकालमा सिटी हल कामदार–केन्द्रित हुनेछ बताए। उनले श्रम कानून उल्लङ्घन गर्ने ठूला कम्पनीमाथि कडा कारबाही गर्ने प्रतिवद्धता दोहोर्याए। स्टारबक्ससँगको सम्झौतालाई उनले “ठूला कर्पोरेशनलाई जवाफदेही बनाउन सकिन्छ भन्ने नमुना” बताए।
उनले आन्दोलन चलिरहँदा स्टारबक्स बहिष्कार गर्ने घोषणा गरेका छन्। साथै न्यूयोर्कवासीलाई पनि स्टारबक्स बहिष्कार गर्न अनुरोध गरेका छन्।
स्यान्डर्स : “न्यूयोर्क यूनियन सिटी हो”
सिनेटर बर्नी स्यान्डर्सले बरिस्टाहरूको हौसला बढाउँदै यो संघर्षलाई असमानता र कर्पोरेट–सत्ताविरुद्धको लडाइँको एउटा भागका रूपमा चित्रण गरे। उनले भने, “स्टारबक्सले माथिल्लो तहका कर्मचारीलाई करोडौँ डलर तलब दिन सक्छ। तर दिन–रात खटिने बरिस्टा भने अस्थिर तलब र दोस्रो–तेस्रो काम खोज्न बाध्य छन्। यो अन्याय हो।”
स्यान्डर्सले न्यू योर्कलाई “यूनियन टाउन” भएको सम्झाउँदै, विगतका हडताल र यूनियन संघर्षले कुल अमेरिकी मजदुरको तलब र अधिकार बढाउन ठूलो भूमिका खेलेको स्मरण गराए।
स्टारबक्सको जवाफ
स्टारबक्सले सार्वजनिक प्रतिक्रियामा आफू स्थानीय श्रम–कानून पालन गर्ने र “सद्भावपूर्वक” वार्ता गर्ने कम्पनी भएको दाबी गरेको छ।
कम्पनीका अनुसार हडतालका वाबजूद अमेरिकाका ९९ प्रतिशतभन्दा बढी स्टोर खुला छन्। करिब १० हजार कम्पनी–स्वामित्वका स्टोरमध्ये केवल सानो अंश मात्र यूनियनाइज भएको छ। तथा, वित्तीय चुनौती र पुनःसंरचनाका बाबजुद, सेवा सुधार र नाफामुखी संचालनमा ध्यान दिइरहेको छ।
यूनियन नेताहरूले भने कम्पनीको यो दाबी अस्वीकार गरेका छन्। उनका अनुसार यूनियन स्टोर बन्द गरिनु, सक्रिय सदस्यमाथि कारबाही हुनु र वार्तामा हेलचेक्र्याइँ गर्नु नै समस्याको जड हो।







प्रतिक्रिया