न्यू योर्क। अमेरिकामा रोजगार अनुमति पत्रको अवधि घटाइने भएको छ।
युएस सिटिजनसिप एण्ड इमिगे्रसन सर्भिस(युएससिआइएस) ले रोजगार अनुमति पत्र (इएडी) को अवधि पाँच वर्ष बाट घटाएर अब १८ महिना मात्र मान्य हुने घोषणा गरेको हो।
युएससिआइएसले छोटो अवधि कायम गरेपछि अमेरिकामा काम गरिरहेका गैर–नागरिकहरूको पृष्ठभूमि बारम्बार जाँच गर्न सजिलो हुने बताएको छ। युएससिआइएसका अनुसार यो रोजगार अनुमति घटाएपछि ठगीसम्बन्धी गतिविधि, परिचय जाँच, सुरक्षा जोखिम पहिचान गर्न र जोखिमपूर्ण व्यक्तिहरू हटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
युएससिआइएसले आगामी दिनमा अनुमति माग्ने व्यक्तिहरूको सकारात्मक योगदानलाई पनि समग्र रूपमा हेरी निर्णय गरिने जनाएको छ।
निर्देशक जोसेफ एड्लोले रोजगार अनुमति पत्रको अधिकतम अवधि घटाउँदा सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा अमेरिका विरोधी सोच फैलाउने व्यक्तिहरू पहिचान गर्न सजिलो हुने बताएका छन्।
निर्देशक जोसेफ एड्लोका अनुसार हालै राष्ट्रिय सुरक्षा गार्डका सदस्यमाथि भएको आक्रमणमा संलग्न व्यक्ति अघिल्लो प्रशासनका समयमा प्रवेश गराइएको विदेशी भएका कारण अब विदेशी नागरिकको नियमित र गहिरो जाँच आवश्यक देखिएको हो।




प्रतिक्रिया