काठमाडौ । सामाजिक संजाल बन्दको विरोधमा भएको जेन–जी समूहको आन्दोलनमा १९ निर्दोष युवाहरुको ज्यान गएपछि सरकारले फेसबुक लगायत प्रतिबन्धित सामाजिक संजालहरु खुल्ला गरेको छ ।
सोमबार दिनभर भएको रक्तपातपूर्ण आन्दोलनपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको मन्त्रीपरिषद् श्रोतले जनाएको छ । मन्त्रीपरिषद्को निर्णयसंगै बन्द भएका सामाजिक संजालहरु सुचारु हुन थालेको नेपालका प्रयोगकर्ताहरुले बताएका छन् । यसबारेमा सरकारले भने औपचारिक रुपमा जानकारी दिएको छैन । मन्त्रीपरिषद्पछि जारी भएको प्रधानमन्त्री केपी ओलीको वक्तब्यमा पनि बन्द भएका सामाजिक संजालहरु खुल्ला भएको औपचारिक रुपमा उल्लेख गरेका छैन । तर प्रधानमन्त्रीको बक्तव्यमा सरकारको मनसाय सामाजिक संजाल बन्द गर्ने नभएको स्पष्ट पारेको छ । दर्ता प्रक्रियामा आए लगतै पुनः खुल्ने उदेश्यले निस्क्रिय मात्र पारिएको सामाजिक संजालको बारेमा यथोचित जानकारी सर्वसाधारण समक्ष पुग्न नसक्दा अस्पष्ट भएकोले घटना हुन पुगेको प्रधानमन्त्रीको दावी छ ।
प्रदर्शनका क्रममा काठमाडौमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएका छन् । जेन जीको संभावित प्रदर्शनको कुनै आकलन नै गर्न नसकेको भन्दै यतिबेला गृहमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुको चर्को विरोध भइरेको छ ।
प्रदर्शनकारीहरुले काठमाडौमा बानेश्वरस्थित संघीय संसद भवन कब्जा गर्न पुगेपछि प्रदर्शनकारी माथि प्रहरीले गोली चलाएको थियो । जेनजीको प्रदर्शन काठमाडौ लगायत देशका मुख्य राजशहरहरुमा भएको थियो । ती प्रदर्शनहरुमा पनि इटहरी लगायतका कतिपय शहरहरुमा तनाबग्रस्त बनेका छन् । स्थिति अनियन्त्रित बन्दै गएपछि काठमाडौ लगायत पोखरा, इटहरी, चितवन लगायतका शहरहरुमा पनि कफ्र्यु लगाएको छ ।





प्रतिक्रिया