२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

डीसीमा ट्रम्पको नेशनल गार्ड परिचालनविरुद्ध स्थानीयको प्रदर्शन

डीसीमा ट्रम्पको नेशनल गार्ड परिचालनविरुद्ध स्थानीयको प्रदर्शन

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले नेशनल गार्ड पठाएको र स्थानीय प्रहरीमाथि संघीय नियन्त्रण लिएको विरोधमा हजारौँ डीसीबासी शनिबार सडकमा उत्रिएका छन्। “वी आर अल डीसी” भन्ने नारासहित जुलुस मेरिडियन हिल पार्कबाट फ्रीडम प्लाजातर्फ अघि बढेको थियो। सहभागीहरूले “फ्री डीसी” भन्दै स्वशासनको माग गरेका थिए।

राष्ट्रपति ट्रम्पले गत महिना अपराध आपतकाल घोषणा गरी मेट्रोपोलिटन पुलिस डिपार्टमेन्ट (एमपीडी) लाई अस्थायी रूपमा संघीय नियन्त्रणमा राखेका थिए। उनले नेसनल गार्ड तथा संघीय निकायका सुरक्षा अधिकारी तैनाथ गराएका थिए। प्रदर्शनकारी र नागरिक अधिकार समूहले यसलाई संघीय हस्तक्षेप भनेका छन्। ह्वाइट हाउसले भने यो कदम सुरक्षाका लागि गरेको दाबी गरिरहेको छ।

अहिले डीसीमा दुई हजारभन्दा बढी नेशनल गार्ड परिचालित छन्। नयाँ आदेश अनुसार उनीहरुको म्याद नोभेम्बर ३० सम्म बढाइएको बताइन्छ। यसअघि विभिन्न रिपब्लिकन गभर्नर रहेका राज्यहरूबाट कम्तीमा एक हजार एक सयन नेसनल गार्ड पठाइएको थियो।

डीसीकी मेयर मुरियल बोउजरले संघीय निकायसँग समन्वय गरे पनि मिशन चाँडै अन्त्य गर्न आग्रह गरिन्। डीसीका अटर्नी जनरल ब्रायन श्वाल्बले तैनाथी रोक्न अदालतमा मुद्दा दायर गरेका छन्। आलोचकहरूले सन् २०२४ को हिंसात्मक अपराध ३० वर्षकै न्यून भएको सरकारी तथ्यांक देखाउँदै “आपतकाल आवश्यक थिएन” भनेका छन्।

प्रतिक्रिया