न्यू योर्क। न्यायोचित पारिश्रमिक, सुरक्षित काम र सम्मानको माग गर्दै एमजनका श्रमिक आन्दोलनमा उत्रेका छन्। आन्दोलनका क्रममा एनवाइपिडीले क्वीन्सको म्यासपेथस्थित एमजन ‘फ्यासिलिटी’ बाट इन्टरनेशनल ब्रदरहुडका एन्टोनियो (टोनी) रोजारियो र एमजनका पूर्व चालक ब्रेन्डन राड्केलाई गिरफ्तार गरेको छ।

अमेजनका श्रमिकले टिमस्टरको अगुवाइमा आन्दोलनमा गरेका हुन्। टिमस्टरले यो एमजन विरुद्धको अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो आन्दोलन भएको जनाएको छ। ‘पटक पटक आग्रह गर्दा पनि एमजन वार्तामा नआएपछि आन्दोलनमा उत्रिनु परेको हो,’ टिमस्टरले प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘यो एमजन विरुद्धको अमेरिकाको इतिहासमै ठूलो आन्दोलन हो।’

न्यू योर्क, क्यालिफोर्निया, इलिनोइस, जोर्जिया सहित कम्तिमा चार राज्यमा भएको आन्दोलनमा हजारौं मानिस सहभागी छन्। म्यासपेथमा भएको आन्दोलनमा एमजनका श्रमिक अतिरिक्त टिमस्टर, दक्षिण एशियाली र इन्डो–क्यारिबियन आप्रवासी समुदायको अधिकारका लागि काम गर्ने देसिज राइजिङ अप एण्ड भुमिङ (ड्रम), न्यू योर्क कम्युनिटी फर चेन्ज (एनवाइसिसी), मेक द रोड न्यू योर्क, न्यू योर्क स्टेट नर्स एशोसियसन, टिएएनएनसी, डेमोक्र्याटिक सोसलिस्ट अफ अमेरिका लगायतका दर्जनौं संघसंस्थाका प्रतिनीधि थिए। साथै, आन्दोलनमा न्यू योर्क स्टेट सिनेटर जेसिका रामोस, एसेम्ब्ली मेम्बर स्टिभन रागा र क्लेयर भाल्डेज लगायतका जनप्रतिनीधि थिए।

आन्दोलन क्रिसमसको पूर्वसन्ध्यामा सुरु भएको हो। टिमस्टरले यो आन्दोलनबाट डेलिभरीमा हुने ढिलाइको जिम्मेवार एमजन आफैँ हुने भनेको छ। सञ्चार माध्यमहरुका अनुसार एमजनले डेलिभरीमा समस्या नहुने दाबी गरेको छ। साथै, यो आन्दोलन एमजनका श्रमिकको नभएर ‘बाहिरिया’ को भएको जनाएको छ।
आन्दोलनका क्रममा एमजनका गाडि आवतजावतमा समस्या भएपछि एनवाइपिडीले बाटो छेक्नु गैरकानूनी भएको भन्दै बाटो नछोडे गिरफ्तार गरेर कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो। सोही क्रममा रोजारियो गिरफ्तार भएका हुन्। प्रहरीले उनलाई सिनेटर रामोसकै आँखा अघि गिरफ्तार गरेका थिए।
भिडियो:





प्रतिक्रिया