न्यू योर्क । गुरुङ (तमु) सोसाइटी युएसएले गुरुङ तमु जातिको महान् पर्व त ल्हो ल्होछार २०८२ विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । द गुरुङ (तमु) सोसाइटीको आयोजनामा यो वर्ष सप्री ल्हो अर्थात सर्प वर्गको विदाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गर्दै डिसेम्बर २७ मा विभिन्न साँस्कृतिक कार्यक्रमसाथ न्यू योर्कको उडसाइटस्थित टिबेटियन कम्युनिटी हलमा त ल्हो ल्होछार मनाएको हो ।

जेष्ठ नागरिक क्याप्टेन धन बहादुर गुरुङ, प्रमूख अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङ र सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो । कार्यक्रममा प्रमूख अतिथि प्रमूख अतिथि फिप्नाका अध्यक्ष तोरण गुरुङले ल्होछार एक ऐतिहासिक चाडको महत्वका साथ मनाउँने गरेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे । प्रमुख अतिथि गुरुङले ल्हाछारको गुरुङ संस्कार र संस्कृतिको संम्वद्र्धन गर्न सबैलाई आव्हान गरे । बोलेर मात्रै आफ्नो आवाज बुलन्द बनाउन सकिने बताउँदै संस्कार संस्कृति जोगाउने क्रमसँगै राजनीतिक चेतनाको विकास गर्नुपर्ने फिप्ना अध्यक्ष गुरुङको जोड थियो ।
फिप्ना अध्यक्ष गुरुङले भने, आफुलाई प्रमुख अतिथि बनाएर सम्मान गरेकोमा थप जिम्मेवारी सँगै गौरवान्वित महसुस गरेको छु, त्यसको लागि सोसाइटी र आयोजकलाई आभार व्यक्त गर्न चाहान्छु । २५औं बर्षसम्म निरन्तर रुपमा संस्थामा लागेर संस्थालाई अझ बलियो बनाउने संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई गुरुङले धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले संस्था सबैको मनको भावना व्यक्त गर्ने एउटा साझा थलोको रुपमा विकास गर्न सक्नु संस्थाको उपलब्धी भएको उल्लेख गर्दै संस्थामा आवद्ध भएपछि मनमा लागेका कुराहरु प्रष्ट रुपमा व्यक्त गर्न छलफल बहस गरेर निष्कर्षमा पुग्न सकिने भएकोले मनमा लागेका कुराहरु खुलेर राख्नुपर्ने तर्क गरे । सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले त ल्हो ल्होछार पर्वको शुभकामना व्यक्त गर्दै गुरुङहरुको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको जानकारी दिए । अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने संस्कृति संयोजक लिल गुरुङ, प्रमुख अतिथि, नृत्य निर्देशन गर्नुहुने कोरियोग्राफरहरु स्वीता गुरुङ, राष्ट्रिय खेलाडी तथा नृत्य निर्दशक भुपेन्द्र गुरुङ, कलाकारहरु तथा स्वयंसेवकहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । त्यस्तै आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण आजीवन सदस्यहरु, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, स्पोन्सरहरु, तमु आमा टोली, उपस्थित सम्पूर्ण अतिथिहरु, व्यवसायीहरु लगायत सोसाइटीका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरे।
सोसाइटी महासचिव मच्छेदेवी गुरुङले गुरुङहरु जहाँ गए पनि आफ्नो पहिचान र अस्तित्वका लागि संस्कृति हस्तान्तरण गर्न युवाहरुलाई हरेक क्रियाकलापमा साथमा लिएर अघि बढ्नुपर्ने बताईन् । नेपालको सन्दर्भमा राज्यले प्रदान गर्ने सेवा सुविधा र राज्यका हरेक निकायमा गुरुङहरुको उपस्थिति बढाउन साथै गुरुङहरुको पहिचान र अधिकार स्थापित गर्न ल्होछार नयाँ बर्षसँगै एउटा आन्दोलनको रुपमा मनाउँदै आएको महासचिव गुरुङको भनाई थियो । ल्होछारलाई जनजातिको पहिचान स्थापना गर्न र अधिकार सुनिश्चित गर्ने आन्दोलनको रुपमा अगाडि लैजानुपर्नेमा गुरुङको जोड थियो । महासचिव गुरुङले ल्होछार पर्व नयाँ पुस्तालाई गुरुङ संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिदै सम्पूर्ण गुरुङ जातिबीच आपसी सद्भाव, भाइचारा कायम गर्न र सबै गुरुङहरुलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण अवसर रहेको तर्क गरे। कार्यक्रममा सासाइटीलाई निस्वार्थ रुपमा आर्थिक, नैतिक, भौतिक रुपमा निरन्तर सेवा गरी योगदान पुर्याएका युवाहरु आर्किटेक्ट रीचा गुरुङ, पुर्व कार्यसमितिका सदस्य तथा युवा सदस्य ओमी (विक्की) गुरुङ, तथा पूर्व कोषाध्यक्ष तथा कार्यसमिति सदस्य अञ्जित गुरुङलाई उनीहरुको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो । त्यस्तै सोसाइटीले आजीवन सदस्य सुवेदार चित्र गुरुङ र आजीवन सदस्य आमा टोली सदस्य केशु गुरुङलाई सम्मान गरेको थियो। सासाइटीको हरेक कार्यक्रम र क्रियाकलापहरुमा आर्थिक, नैतिक तथा भौतिक रुपमा निस्वार्थ र निरन्तर सेवा गरी योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको सोसाइटीले जनाएको छ। उनीहरुलाई सोसाईटीका संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ, अध्यक्ष ओम गुरुङ तथा प्रमुख अतिथि तोरण गुरुङले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरेको थिए। त्यस्तै अध्यक्ष ओम गुरुङले संस्थामा रही अनवरत रुपमा सोसाईटीलाई सहयोग गरेको भन्दै पूर्व अध्यक्ष पदम गुरुङलाई पे्रजिडेन्ट अवार्ड प्रदान गरेको थियो ।
गुरुङ जातिको संस्कार, संस्कृति, भेषभुषा जगेर्ना र परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि गुरुङ सोसाइटीले विदेशी भुमीमा पनि हरेक बर्ष ल्होछार मनाउँदै आएको छ । विश्वभर रहेका गुरुङहरुले पुष १५ मा विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएका छन् । सोसाइटीका वरिष्ठ उपाध्यक्ष अलिशा गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ल्होछारको शुभकामना व्यक्त गरे । ल्होछार कार्यक्रम २०८२ को साँस्कृतिक कार्यक्रमको संयोजन सोसाइटीका उपाध्यक्ष लिल गुरुङले गरेका थिए । कार्यक्रममा गुरुङहरुको संस्कृति झल्कने बाह्रमासे घाटु प्रस्तुत गरिएको थियो। घाटुको निर्देशन निर्देशक भुपेन्द्र गुरुङले गरेका थिए। त्यस्तै स्वीता गुरुङ, गौरी लामा र आमिर गुरुङले नृत्य निर्देशन गरेका थिए । कार्यक्रममा न्यूयोर्क, न्यूजर्सीका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोसाइटीले संस्थाको आजीवन सदस्यता लिएका २ जनालाई संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ तथा अध्यक्ष ओम गुरुङले आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेको थिए। यस बर्ष वीर प्रसाद गुरुङ तथा देवी गुरुङ र भीम प्रसाद गुरुङ तथा पम्फा गुरुङले सोसाइटीको आजीवन सदस्यता लिएका थिए ।
गुरुङ समाज घर खरिद गर्ने प्रतिवद्धता
कार्यक्रममा गुरुङ (तमु) सोसाइटीका पूर्व अध्यक्ष, सल्लाहकार तथा समाज घर खरिद उपसमितिका संयोजक मेख गुरुङले त ल्हो ल्होछारको अवसरमा सोसाइटीले समाज घर (तमु धी) घर खरिद गर्ने घोषणा गरिसकेको जानकारी दिंदै यो सोसाइटीमा आवद्ध सम्पूर्ण सदस्यहरुको लागि ठुलो उपलब्धी भएको बताए । संयोजक गुरुङले समाज घर खरिद गर्ने अभियान आफ्नो कार्यकालमा घोषणा गरिए पनि अहिले आएर पूरा गर्ने जिम्मेवारी बहन गर्न पाउँदा खुशी लागेको बताए । संयोजक गुरुङले राम्रो कामको लागि कहिल्यै ढिलो नहुने बताउँदै घर खरिद निर्माण अभियानमा जोडिनुभएका आजीवन सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । २५ औं बर्षगाँठ तथा ल्होछारको अवसरमा यो कामको शुरुवात गर्न पाउँदा गर्व लागेको बताउँदै निरन्तर सहयोगको लागि सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । उनले भने, समाज घर खरिद गर्नु खाली घर मात्रै नभएर नयाँ पिंढीलाई धर्म संस्कार, संस्कृति हस्तान्तरण गर्ने मुख्य थलो र नयाँ पुस्ताका लागि एउटा उपहार हुने भएकोले समाज घर खरिद अभियानमा जोडिन सबैलाई आग्रह गर्दछु । साोसाइटीको गत सेप्टेम्बर २८ मा भएको बार्षिक साधारण सभाले समाज भवन खरिद गर्नका लागि पूर्वअध्यक्ष तथा सल्लाहकार मेख गुरुङको संयोजकत्वमा ११ सदस्यीय उपसमिति चयन गरेको थियो । उपसमितिको सदस्यहरुमा अध्यक्ष ओम गुरुङ, आजीवन सदस्य डा. सुख गुरुङ, पूर्व कोषाध्यक्ष तथा आजीवन सदस्य राम चन्द्रगुरुङ, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ, पूर्व अध्यक्षद्धय विजय गुरुङ, पदम गुरुङ, आजीवन सदस्यहरु हर्कजंग गुरुङ, अमर गुरुङ, चित्र गुरुङ र विजय गुरुङ, रहेका छन् । संस्थाको कार्यसमिति सदस्यहरु तथा सल्लाहकारहरु पदेन सदस्य रहने छन् । समाज घर (भवन) खरिद गर्नका लागि हाल सम्म १२ जनाले आर्थिक सहयोग स्वरुप चन्दा दिने घोषणा गरिसकेका छन । चन्दा दिने दाताहरुको नामावली निम्नानुसार रहेका छन् ।
उपसमिति संयोजक मेख गुरुङ तथा मुना राई गुरुङ ११ हजार १ सय ११ डलर ११ सेन्ट, आजीवन सदस्य डा. सुख गुरुङ तथा मीरा गुरुङ २० हजार डलर, सल्लाहकार टेक गुरुङ तथा लक्ष्मी गुरुङ १० हजार डलर, संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ तथा गोरी गुरुङ १० हजार डलर, अध्यक्ष ओम गुरुङ तथा डा. सुलोचना गुरुङ १० हजार डलर, पूर्व अध्यक्ष, सल्लाहकार तथा फिप्ना अध्यक्ष तोरण गुरुङ तथा शारदा गुरुङ १० हजार डलर, पूर्व कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा गुट्टु गुरुङ १० हजार ५ डलर, पूर्व अध्यक्ष विजय गुरुङ तथा रोशनी गुरुङ १० हजार डलर, पूर्व अध्यक्ष पदम गुरुङ तथा उमा गुरुङ १० हजार डलर, डा. महेश गुरुङ तथा मीना गुरुङ १० हजार डलर, आजीवन सदस्य विनोद गुरुङ तथा कर्मरेखा गुरुङले १० हजार डलर, आजीवन सदस्य देव गुरुङ तथा केशु गुरुङले ५ हजार १ डलर आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उपसमिति संयोजक गुरुङले समाज घर खरिद गर्ने पुन्य कार्यमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा गुरुङ राष्ट्रिय गान मार्फत उपस्थित सबैलाई स्वागत गरिएको थियो । ल्होछार कार्यक्रममा मौलिकता झल्कने बाह्रमासे घाटु, कौडा तथा गुरुङ भाषाको गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए। बाह्रमासे घाटुको कोरियोग्राफर भुपेन्द्र गुरुङले कोरियोग्राफ गरेका हुन्। घाटुमा भुपेन्द्र गुरुङ, प्रेम गुरुङ, बिन्दु गुरुङ, बुद्धि गुरुङ, आमा टोली तथा स्थानिय कलाकारहरुले संयुक्त रुपमा प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न नेपाली तथा गुरुङ भाषाको गीतमा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङले नृत्यको कोरियोग्राफ गरेका थिए । स्थानिय बाल कलाकारहरु ओजाश्री गुरुङ, प्रतिभा गुरुङ, आकर्षण गुरुङ र सम्राट गुरुङले क्हो पाते ङि रोधिर बोलको गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै लाफा मन पर्यो बोलको नेपाली कौडा गीतमा रक्षा गुरुङ, आर्य डोल्मा गुरुङ, इभा गुरुङ श्रेष्ठ, श्रृंखला पुन र सुप्रिया थापाले नृत्य गरेका थिए । त्यस्तै सुन रिमाई बोलको गीतमा अमिर गुरुङ र गौरी लामाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए, नृत्यको कोरियोग्राफ गुरुङ र लामाले नै गरेका हुन् । माया पिरती मुरबै मुसारा गुरुङ मेस अप गीतमा स्वीता गुरुङ, रिदिमा गुरुङ, सन्धिया छन्त्याल, करुणा रोका मगर, सागर गुरुङ, गोबिन्द पुन मगर, सुदिप रोकामगर, र हिमाल पुन मगरले नृत्य गरेका थिए । यो नृत्यको कोरियोग्राफ स्वीता गुरुङले गरेका थिए । त्यस्तै लौ न नी भैया बोलको नेपाली गीतमा सुष्मा गुरुङ, सोनिया गुरुङ, सुजेना गुरुङ, तुसना थापामगरले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सुहानी गुरुङ र स्नेहा गुरुङ आफैले कोरियोग्राफ गरेको गुँरास फुल्ने बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गुरुङ भाषाको सुनको तर्बै पोरेता बोलको गीतमा रिदिमा गुरुङ, सन्दिया छन्त्याल, करुणा रोका मगर, श्रृंखला पुन, सुप्रिया थापा, पल्सा थापाले बेजोडको नृत्य प्रस्तुत गरेका थिए । सुष्मा गुरुङ, सोनिया गुरुङ, सुजेना गुरुङ, साइमन गुरुङ, एरिन गुरुङ, र सोनाम गुरुङले गुरुङ भाषाको कर्मु नोर्ले बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै रिदिमा गुरुङ, सन्दिया छन्त्याल, स्वीता गुरुङ, हिमाल पुन मगर, गोविन्द पुन मगर, सुदिप रोका मगरले जान त साइली जाने हो घर बोलको गीतमा गीती नाटक शैलीमा भावुक नृत्य प्रस्तुत गर्दा दर्शकहरु भाव विभोर भएका थिए । उनीहरुले गीत र नृत्य मार्फत नेपालीहरु वैदेशिक रोजगारका क्रममा विदेश जाँदा पे्रमी र प्रेमिकाबीचको माया, पे्रम र पीडालाई आकर्षक रुपमा प्रस्तुत गरेका थिए । उनीहरुको नृत्यमा कलाकारहरुको अभिनय एकदमै भावुक र दर्शकको मन छुने खाल्को प्रस्तुति गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरेका नृत्यहरुको स्वीता गुरुङ, आमिर गुरुङ, गौरी लामा, नृत्य निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङले कोरियोग्राफ गरेका थिए । कार्यक्रममा गुरुङ संस्कारर संस्कृति, घाटु, रोधीको संरक्षण र सम्वद्धनमा जुटेका निर्देशक तथा कोरियोग्राफर भुपेन्द्र गुरुङलाई सम्मान गरेको थियो । मार्सल आर्टस खेलाडी भुपेन्द्र गुरुङले ट्रेडिसनल चाइनिज मार्सल आर्टस फेडरेसन अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा दुई रजत पदक प्राप्त गरेका थिए।
गायक राजु परियारद्धारा ल्होछार माहोलमा थपे रौनकता
नेपाली लोक संगीतका चर्चित लोक गायक राजु परियारले ल्होछारको अवसरमा आफ्नो प्रस्तुति गरेका छन् । नेपाली लोक संगीतको क्षेत्रका धरोहर परियारले लोक संगीतमा पुर्याएको योगदानको कदर गर्दै सोसाइटीले सम्मान समेत गरेको थियो । “ओ पाते खो यी रोधी खुबारी आशा मार चुरोटै खुबारी” बोलको गुरुङ भाषाको गीत गाउँदै स्टेजमा उत्रेका गायक परियारले दर्शकको मन जितेका थिए । गायक परियारले गुरुङ भाषामा नै संस्थाप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै आमा तिम्रो दुधको भारले बोलको गीत गाएर आमाहरुलाई सम्मान व्यक्त गरेका थिए ।

उनले स्याँङ्जा सिरुबारीको बोलको गीत पहिलो कोसेली स्वरुप प्रस्तुत गरेका थिए । उनको यो गीत लाउरे कथामा आधारित छ। माया पनि लाकै हो, कसम पनि खाकै हो लगायत गीतहरु गाउँदा परियारलाई दर्शकहरुले स्टेजमा चढेर फुल स्वरुपमा पैसा लगाइदिएका थिए । गायकले स्टेजमा प्रस्तुति गरिरहँदा दर्शकहरु उनको गीत र मनोरञ्जनमा झुमेका थिए । गायक परियारलाई दर्शकहरुले फूल लगाएर १६ सय ५ डलर प्रदान गरेका थिए। फूल स्वरुपको रकम अध्यक्ष ओम गुरुङले गायक परियारलाई हस्तान्तरण गरेका थिए ।
२५ बर्षको साँगितिक यात्राको क्रममा न्यू योर्कमा गीत गाउने अवसर प्रदान गरेकोमा सोसाईटीलाई आभार व्यक्त गरे । लोक गायक परियारले लोक संगीत क्षेत्रका अग्रजहरुलाई सम्मान स्वरुप सम्झना व्यक्त गरेका थियो ।
उनका गीत संगीतले नेपाली लोक तथा परम्परागत संगीत संरक्षण र प्रवद्र्धनमा ठुलो भूमिका खेलेको छ । उनका गीतहरु गुरुङहरुको रोधी संस्कृतिबाट धेरेै प्रभावित भएको पाइन्छ। दाहोरी साँझबाट गायन क्षेत्रमा प्रवेश गरेका परियारका झण्डै १६ हजार गीत रेकर्ड गरिसकेका छन्।
गायक परियारको आँधी खोला उर्लेर आयो, मिर्मिरेको घाम, सुनपानीले, दुरा डाँडा दाई, रुमाल धोको छ, लालुपाते नुँयो भुँइतिर, फुलमा मौरी डुल्ने बेलामा, झिमझिम सानु नझिम्काउ परुेली, रुँदै रुँदे जान्छु मेलामा लगायत गीत चर्चित छन् । परियारले झलकमान लोक संगीत सम्मान तथा नूर गंगा प्रतिधा पुरस्कार पाइसकेका छन् ।
कार्यक्रममा ५ सय भन्दा बढी संख्यामा रहेका दर्शकको भीड बिहानको २ बजे सम्म नै भरिभराउ देखिन्थ्यो । गुरुङहरुले हरेक बर्ष पुष १५ लाई नयाँ बर्षको रुपमा मनाउने गर्छन् । ल्हो को अर्थ वर्ग (बर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्ने वर्ग हेरेर नै शुभ कार्य गर्ने प्रचलन छ।
गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँदै आएको छ ।
आजका युवा भोलीका कर्णधार भन्ने मूल नाराका साथ युवाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवाहरुलाई ल्होछारमा स्वयंसेवकको रुपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ ।
गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्यु योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । न्यूयोर्कमा ल्होछारको यो २६ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रिय स्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा विभिन्न गुरुङ जातिको मौलिक संस्कृति झल्कने नृत्य कौडा, लगायत विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । विगतमा सामुहिक रुपमा भेला भएर स्यो कै वनभोज खाएर ल्होछार पर्व मनाउँदै गरिन्थ्यो ।
पुष १५ मा विश्वभरीका गुरुङहरुले विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएको छ । न्यूयोर्क र न्यूजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भच्र्युअल रुपमा ल्होछार आयोजना गरिएको थियो । कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रम ओमी (विक्की) गुरुङ र अनुस्का गुरुङले सञ्चालन गरेका थिए ।
तस्बीरुहरुः सौम्य तामाङ








प्रतिक्रिया