१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

विनको न्यायका लागि ज्याक्सन हाइट्समा प्रदर्शन, रागा र भाल्डेजले भनेः गोली हान्ने प्रहरीलाई जवाफदेही बनाऊ

विनको न्यायका लागि ज्याक्सन हाइट्समा प्रदर्शन, रागा र भाल्डेजले भनेः गोली हान्ने प्रहरीलाई जवाफदेही बनाऊ

न्यू योर्क। स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागा र क्लेयर भाल्डेजले बिन रोजारियोलाई गोली हानी ज्यान लिने प्रहरी अधिकारीलाई जवाफदेही बनाउन आह्वान गरेका छन्। परिवार तथा समर्थकरुले न्यायका लागि दवाव दिन ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजामा मङ्गलबार आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो आह्वान गरेका हुन्।

'विन र उनको परिवारमाथि जे भयो त्यो अरुमाथि पनि हुनसक्छ। यस्तो घटना दोहोरिन नदिन हामी एकजुट हुनुपर्छ,' एसेम्बली मेम्बर रागाले विनको परिवार १८ महिना पीडाबाट गुज्रेको स्मरण गर्दै भने, 'ढिला न्याय दिनु भनेको न्याय नदिनु हो। त्यो गलत हो।' उनले शक्ति जनतामा छ भन्ने सुनिश्चित गर्न पनि ती प्रहरी अधिकारीहरूलाई जवाफदेही बनाउनु पर्नेमा जोड दिए।'उनीहरूलाई जवाफदेही बनाएर विनलाई न्याय दिलाउनु पर्छ', उनले भने। मानसिक स्वास्थ्य सङ्कटबाट गुज्रिरहेका रोजारियो गत वर्ष आफैँले फोन गरि बोलाएका प्रहरी अधिकारीहरू साल्भाटोर एलोङ्गी र म्याथ्यु सियानफ्रोकोबाट मारिएका थिए।

एसेम्ब्ली मेम्बर भाल्डेजले विनको 'घोर अन्यायपूर्वक हत्या' गरिएको बताइन। 'मानसिक सङ्कटबाट गुज्रिरहेका विनजस्ता निहत्था मानिसलाई बन्दुक बोकेका प्रहरीले ह्यान्डिल गर्नै हुँदैन थियो' उनले भनिन्, 'सीसीआरबीको निर्णयले पनि यी प्रहरीले गलत गरे भन्ने देखाएको छ। यी प्रहरी अधिकारीलाई जवाफदेही बनाउनै पर्छ र यस्तो घटना फेरी दोहोरिँदैन भन्ने सुनिश्चित गर्नैपर्छ।'

भाल्डेजले न्यायको लडाइँमा मन दह्रो बनाएर धैर्यताका साथ सहभागी भएको भन्दै विनको परिवारलाई धन्यवाद दिइन्। 'तपाईँहरू आफ्नो छोराका लागि मात्र होइन हामी सबैका छोराछोरीका लागि लडिरहनु भएको छ' उनले भनिन्, 'ती प्रहरी अधिकारीहरूलाई जिम्मेवार नबनाएसम्म न्याय प्राप्त हुँदैन। यस्तो घट्ना फेरी हुनसक्छ।' 

दवाव कार्यक्रमको आयोजना दक्षिण एशियाली तथा इन्डो-क्यारिबयन समुदायको हितका लागि काम गर्दै आएको देसिज राईजिङ अप एण्ड मुभिङ (ड्रम) ले आयोजना गरेको थियो। ड्रम, जस्टिस कमिटी र समर्थकरुले पहल गरेपछि न्युयोर्क सिटीको सिभिलियन कम्लेन्ट रिभ्यु  बोर्ड (सीसीआरबी) ले १९ वर्षका विन रोजारियोको ‘हत्या’ मा संलग्न एनवाईपीडी अधिकारी साल्भाटोर अलोंगी र म्याथ्यु सियानफ्रोकोविरुद्ध सेप्टेम्बर ११ मा कूल आठवटा आरोप पुष्टि गरेको छ। त्यसलगत्तै पुलिस कमिस्नर जेसिका टिशले ती अधिकारीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। अनुसन्धान सकिएपछि बहालवाला एनवाईपीडी कमिस्नरले ती प्रहरी अधिकारीमाथि कस्तो कारवाही गर्ने हो भन्ने अन्तिम निर्णय गर्नेछन्। कारवाही प्रभावकारी र छिटो गराउन परिवार, ड्रम र रोजारियोका समर्थकरुले दवाव दिँदै आएका हुन्।

कार्यक्रममा रोजारियोकी आमा नोतन इभा कोस्टाले ड्रमले न्यायको लडाइँमा साथ दिएको र सीसीआरबीले ती प्रहरी अधिकारीहरूलाई दोषी देखाएको बताइन। उनले ड्रम आफ्नो परिवार भएको उल्लेख गर्दै भनिन, 'ड्रमसँग उभिनु भनेको न्यायको लडाइमा मेरो परिवारलाई साथ दिनु हो।'

ड्रमकी काजी फौजियाले रोजारियोको न्यायको लडाइमा साथ दिन सबैलाई आग्रह गरिन्। उनले पुलिस कमिस्नर टिश र अटर्नी जनरल लेटिसिया जेम्सलाई फोन गर्न अनुरोध गरिन्। 'फोन गरेर भ्वाइस म्यासेज छोड्नुहोस्' उनले भनिन्, 'ती प्रहरी अधिकारीहरूलाई बर्खास्त र कडा कारवाहीको माग गर्नुहोस्।'

प्रतिक्रिया