न्यू योर्क। मगर समुदायको महान चाड अमेरिकी मगरहरूले ‘भव्यता’ का साथ सम्पन्न गरेका छन्। कार्यक्रम मगर संघ अमेरिका, न्यू योर्क च्याप्टरले उडसाइडस्थित तिब्बतियन कम्युनिटी सेन्टरमा जनवरी १२ मा आयोजना गरेका हुन्।
कार्यक्रममा मगर संस्कार र संस्कृति झल्किने परम्परागत नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। ती नृत्य तथा गीतमा सोरठी, कौडा नृत्य, सालैज्यू, हुर्रा, यानि माया, थाली नाच, झ्याउरे नेपाली नाच, हुड्का नाच, पुर्ख्यौली (हुले हेलो पानी), ठाडो भाका, रुकुम माइकोट, तकन्तुकन लगायतका थिए। नृत्यमा बालबालिका, युवायुवती र वयस्क मगर कलाकारहरूको सहभागिता थियो। कार्यक्रम सञ्चालक दिलिप श्रीष मगर र प्रतिमा पुन मगरले हरेक सांस्कृतिक प्रस्तुतिको ऐतिहासिक पृष्ठभूमि र महत्वबारे जानकारी दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा मगर सङ्घ अमेरिकाका केन्द्रिय अध्यक्ष याम पुन मगरले मगर समुदायको संस्कार, संस्कृति प्रवर्द्धन र सामुदायिक एकतामा जोड दिए। कार्यक्रमका विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङ, न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागा, न्यू योर्क सिटी काउन्सिल मेम्बर जुली वन लगायतका जनप्रतिनिधि तथा समुदायका अगुवाहरूले माघे सङ्क्रान्ति शुभकामना दिए।

कार्यक्रममा सङ्घको आपतकालीन कोषका संयोजक तथा निवर्तमान अध्यक्ष कुलदिप राना मगर, मगर सांस्कृतिक केन्द्रका संयोजक तथा सल्लाहकार भविन सेर्पुन्जा मगर, डिस्ट्रिक ३० का डेमोक्रेटिक डिस्ट्रिक्ट लिडर विष्णु राना मगर, जर्सी सिटी मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रम नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको थियो। त्यसपछि अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो। स्वागत मन्तव्य सङ्घका सहकोषाध्यक्ष निरोज पुलामीले दिएका थिए। कार्यक्रमको उद्घाटन नेपालका प्रथम शहीद लखन थापा मगर र नेपाल मगर सङ्घका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगरको तस्वीरमा माल्यार्पण गरेर गरिएको थियो।

कार्यक्रमको सभापतित्व सङ्घको न्यू योर्क च्याप्टर अध्यक्ष अमृत रोका मगरले गरेका थिए। उनले आफ्नो भाषा, संस्कार र संस्कृति अमेरिकामा जोगाएर राख्नु, प्रबर्द्धन गर्नु तथा नयाँ पुस्तामा हस्तान्तरण गर्नु यो कार्यक्रमको उद्देश्य भएको बताए। ‘निरन्तरता दिन र नयाँ पुस्तमा हस्तान्तरण गर्न सकिएन भने हाम्रो भाषा, संस्कार र संस्कृति हराउँछ,’ उनले भने, ‘हामी को हो, कहाँबाट आएको भन्ने जरा बिर्सिन्छ।’
कार्यक्रमका कम्तिमा ५०० को उपस्थिति थियो। मगर नेपालको लगभग सबै जिल्लामा पाइने जाति हो। कार्यक्रममा खासगरि पूर्व र पश्चिमका मगरहरूको सांस्कृतिक प्रस्तुति संयोजन गरिएको थियो।






प्रतिक्रिया