न्यू योर्क। प्रख्यात नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास साबितिमा आधारित नाटक साबिति ९ल्इत् न्गष्तिथ० न्यूयोर्कस्थित “द ट्याङ्क” थिएटरमा मञ्चन गरिदै छ।
द ट्याङ्क, थिएटर भिलेज नेपाल, आपन फाउन्डेशन अमेरिका तथा नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा नाटक मञ्चन गर्न लागेको हो । नाटक अप्रिलको २६ देखि २९ सम्म मञ्चन हुने छ ।
न्यू योर्कको विश्वस्तरीय रंगमञ्चमा नेपाली नाटक मञ्चन हुनु नेपाली रंगकर्म र नेपाली कलाकारहरूका लागि ठुलो उपलब्धि भएको आयोजकले जनाएको छ । प्रख्यात नेपाली रंगकर्मी बिमल सुबेदीको लेखन तथा निर्देशनमा तयार भएको यो नाटक न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्याङ्कले अन्य अमेरिकी नाटकहरूसँगै नियमित रूपमा मञ्चन गर्न लागेको हो ।न्यू योर्कस्थित नेपाली महावाणिज्य दूतावासले पनि यसलाई सांस्कृतिक कूटनीतिका रूपमा प्रवद्र्धन गर्दै आएको छ। आपन फाउन्डेशनका अध्यक्ष अमित प्रताप शाहका अनुसार नाटकलाई न्यूयोर्कको सन्दर्भ र दर्शकलाई लक्षित गरी पुनर्लेखन तथा रूपान्तरण गरिएको जानकारी दिए।
रंगकर्मी सुबेदीले परम्परागत शैलीलाई नयाँ प्रयोगमार्फत पुनःपरिभाषित गर्दै नेपाली रंगमञ्चलाई अन्तराष्र्टिय स्तरमा जोड्ने लेखक–निर्देशकका रूपमा चिनिन्छन् । सुवेदीले २० भन्दा बढी अन्तराष्र्टिय मञ्चमा नेपाली नाटक प्रस्तुत गरिसकेका छन् ।
द ट्याङ्क थिएटरकी निर्देशक मेगन फिनले बिमलका विगतका काम, अनुभव र विशिष्ट नाट्यशैलीले उनलाई यस सहकार्यतर्फ आकर्षित गरेको बताएकी छन् ।
नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले जगदीश घिमिरेको कथामा आधारित नेपाली नाटकलाई मुख्यधारको थिएटरले स्थान दिनु ऐतिहासिक भएको बताए ।
अमित प्रताप शाहले यो परियोजनामा निर्माताको रूपमा जोडिनु केवल अवसर मात्र नभएर एउटा जिम्मेवारी र गर्वको विषय भएको बताए।
शिकागोस्थित नेपाली समुदायका समाजसेवी तथा व्यवसायी अंकुर शर्माले वितरण तथा व्यवस्थापन गर्ने छन् । नाटकमा भारतीय मूलकी प्रसिद्ध अमेरिकी अभिनेत्री स्वच्छता संजीवन गुहा मुख्य भूमिकामा रहेका छन् । साथै, पर्फर्मेन्स आर्ट, थिएटर र फेसन डिजाइनमा सक्रिय नेपाली मूलका अमेरिकी कलाकार नवल राई र दर्जनभन्दा बढी रंगमञ्चीय प्रस्तुति, टेलिभिजन कार्यक्रम तथा हलिउड चलचित्रमा काम गरिसकेका प्रसिद्ध अमेरिकी कलाकार जड मेयर्सले पनि नाटकमा अभिनय गर्दैछन् । निर्देशनमा भारतमा लामो समयदेखि नाट्य क्षेत्रमा सक्रिय राज खत्रीले निर्देशनमा सहयोग गरेका छन् भने कास्टिङ निर्देशन आयुषा क्षेत्री सञ्जेलले गरेकी छिन् ।




प्रतिक्रिया