न्यू योर्क। जनवरी २६ देखि न्यू योर्क सिटीमा रेन्ट ट्रान्सपेरेन्सी एक्ट (सिटी काउन्सिलको इन्ट्रो १०३७-ए, लोकल ल ८६ अफ २०२५) लागू हुने भएको छ। यससँगै कम्तिमा एउटा “रेन्ट–स्टेबलाइज्ड युनिट” भएको घरधनीले सिटीले तोकेको ढाँचाको सूचना अनिवार्य रूपमा टाँस्नुपर्ने छ।
यस्तो सूचना भवनको प्रवेशद्वार नजिकको साझा भागमा टाँस्नु पर्नेछ। यो कानूनको मुख्य उद्देश्य भाडामा बस्ने न्यू योर्कवासीहरूलाई “अपार्टमेन्ट रेन्ट–स्टेबलाइज्ड हो कि होइन” भन्ने जानकारी दिनु हो। सूचनामार्फत टेनान्ट (भाडावाला)लाई आधिकारिक जानकारी कहाँबाट लिने भन्ने स्पष्ट सूचना दिनुपर्छ। यसका लागि न्यू योर्क स्टेट डिभिजन अफ हाउजिङ एन्ड कम्युनिटी रिन्युअल (डीएचसिआर) मार्फत पुष्टि/जाँच गर्नुपर्ने सन्देश सूचनामा राखिनु पर्छ।
सिटी काउन्सिलले यो कानूनको बिल (अध्यादेश) मे २८, २०२५ मा पास गरेको थियो। तर, पूर्व मेयर एरिक आडम्सले त्यसमा हस्ताक्षर नगरि जुन ३०, २०२५ मा फर्काइदिएका थिए।
कानूनअनुसार भवनमा टाँसिने सूचना/साइनमा “यो भवनमा रेन्ट स्टेबलाइजेसन ल अफ १९६९ अन्तर्गत पर्ने एक वा बढी युनिट छन्” भन्ने स्पष्ट जानकारी राखिनु पर्छ। साथै, आफ्नो युनिट डीएचसिआरमा रेन्ट–स्टेबलाइज्ड रूपमा रजिस्टरड छ/छैन भनेर बुझ्न डीएचसिआरमै सम्पर्क गर्नुपर्ने, र घरधनीहरूले हरेक वर्ष डीएचसिआरमा एनुअल (वार्षिक) फाइलिङ गर्नुपर्ने जानकारी पनि राखिनु पर्छ। प्रत्येक टेनान्टलाई आफ्नो युनिटसम्बन्धी जानकारीको कपी उपलब्ध गराउनुपर्ने दायित्व पनि साइनमै उल्लेख हुनुपर्छ।
साइनमा डीएचसिआर अफिस अफ रेन्ट एड्मिनिस्ट्रेसन को फोन नम्बर र रेन्ट स्टेबलाइजेसन इन्क्वायरी गर्न मिल्ने वेबसाइट एड्रेस पनि अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ। साइन इङ्ग्लिस र स्पेनिस भाषामा अनिवार्य छ। साथै, सिटीले तोकेको सिटीवाइड डिजिग्नेटेड ल्याङ्ग्वेजेज (सेक्सन २३-११०१) का अन्य भाषामा पनि सूचना समावेश गर्नुपर्ने प्रावधान राखिएको छ।
यो कानून कार्यान्वयनका लागि कानून लागू हुनुअघि नै एचपिडी (डिपार्टमेन्ट अफ हाउजिङ प्रिजर्भेसन एन्ड डेभलपमेन्ट) ले डीएचसिआर सँग “डेटा सेयरिङ एग्रिमेन्ट” गरेर भवनको रेन्ट–स्टेबलाइजेसन स्टाटस सम्बन्धी डेटा प्रयोग गर्न मिल्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ। साइन नटाँसेर कानून उल्लङ्घन गरे सम्बन्धित घरधनी एनवाइसी एड्मिनिस्ट्रेटिभ कोड सेक्शन २७-२११५(ए) अन्तर्गत सिभिल पेनाल्टी तिर्न बाध्य हुन सक्छन्। यो दण्ड संरचना हाउसिङ भायोलेसनहरूमा लागू हुने वर्गीकरण “नन-हाजार्डस, हाजार्डस, इमिडियट्ली हाजार्डस” अनुसार न्यूनतम–अधिकतम दायरा तय हुने र केही अवस्थामा “पर-डायम” (दैनिक जरीवाना) समेत लागू हुन सक्ने किसिमको हो।
सिटीको व्याख्याअनुसार, एचपिडीले रेन्ट–स्टेबलाइज्ड युनिट भएका भवनहरूको निरीक्षण क्रममा यो साइन पनि जाँच गर्नेछ। साथै, र टेनान्ट/रेसिडेन्टबाट आउने उजुरीले पनि कानून कार्यान्वयनलाई बल पुग्ने अपेक्षा गरिएको छ।
सिटी काउन्सिलले यो कानूनको बिल (अध्यादेश) मे २८, २०२५ मा पास गरेको थियो। तर, पूर्व मेयर एरिक आडम्सले त्यसमा हस्ताक्षर नगरि जुन ३०, २०२५ मा फर्काइदिएका थिए। यस्तो अवस्थामा सिटी काउन्सिलले पारित गरेको अध्यादेश २१० दिनपछि स्वतः लागू हुने प्रावधानअनुसार जनवरी २६, २०२६ देखि लागू हुने भएको हो।





प्रतिक्रिया