२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

राष्ट्रपति ट्रम्पद्वारा जेफ्री एप्स्टिन फाइल्स सार्वजनिक गर्ने विधेयकमा हस्ताक्षर

राष्ट्रपति ट्रम्पद्वारा जेफ्री एप्स्टिन फाइल्स सार्वजनिक गर्ने विधेयकमा हस्ताक्षर

न्यू योर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एप्स्टिनसम्बन्धी थप कागजात सार्वजनिक गराउने विधेयकमा हस्ताक्षर गरेका छन्। अब यो विधेयक कानुन बनेको छ। यस कानुनको नाम “एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट” हो। यसले अमेरिकी न्याय विभागलाई एप्स्टिनसम्बन्धी धेरै सरकारी कागजात सार्वजनिक गर्न बाध्य बनाउँछ।

कानुन लागू भएको मितिबाट ३० दिनभित्र कागजात सार्वजनिक गर्नुपर्छ। यी कागजात अनलाइन राखिनेछन्। मानिसले सजिलै खोज्न र डाउनलोड गर्न सक्ने गरी प्रणाली बनाइनेछ। ट्रम्पले सुरुमा यी कागजात सार्वजनिक गर्न चासो देखाएका थिएनन्। उनी यी फाइल सार्वजनिक गर्ने कामको विपक्षमा थिए। एप्स्टिनसँग जोडिएको हुनसक्ने भन्दै त्यतिबेला उनको विरोध भएको थियो।  तर नोभेम्बर १७ मा उनले आफ्नो धारणा बदले। उनले ट्रुथ सोसलमा पोस्ट गर्दै रिपब्लिकन सांसदहरूलाई विधेयकको समर्थन गर्न भने। “हामीसँग लुकाउने केही छैन” भन्दै उनले यो मुद्दालाई “डेमोक्र्याटहरूको होक्स” पनि भने।

सार्वजनिक हुने सम्भावित कागजातमा एप्स्टिनमाथि गरिएको सङ्घीय अनुसन्धान, अभियोग, पुराने फैसला र सम्झौतासम्बन्धी अभिलेख पर्छन्। एप्स्टिनकी सहआरोपी घिस्लेन म्याक्सवेलसम्बन्धी कागजात पनि पर्न सक्छन्। उनका निजी विमान र हेलिकोप्टरका फ्लाइट–लग, र २०१९ मा जेलभित्र भएको मृत्युसम्बन्धी अनुसन्धानका विवरण पनि सार्वजनिक हुने अपेक्षा छ।

कानुन अनुसार, कसैलाई लाज हुने, बदनाम गर्ने, वा राजनीतिक रूपमा समस्या पार्ने कारणले एप्स्टिन फाइलको कुनैपनि भाग लुकाउन पाइँदैन। सरकारी अधिकारी, राजनीतिज्ञ, प्रसिद्ध व्यक्ति वा विदेशी नेताका नाम यी कारणले लुकाउन पाइँदैन।

तर, यौन शोषणका पीडितहरूको नाम र पहिचान जोगाउनु यो कानूनको पहिलो प्राथमिकता रहनेछ। त्यस्ता विवरण काटेर मात्र कागजात सार्वजनिक गरिनेछ। चलिरहेको अनुसन्धान बिगार्न सक्छ भन्ने जानकारी, र राष्ट्रिय सुरक्षासँग जोडिएका गोप्य कागजात भने पूरा रूपमा सार्वजनिक नहुन सक्छन्।

एप्स्टिनका पीडित र अधिकारकर्मीले वर्षौँदेखि पूर्ण पारदर्शिता माग गर्दै आएका थिए। उनीहरूका अनुसार, एप्स्टिनलाई शक्तिशाली मानिसहरूले कसरी जोगाए, ककसले आँखा चिम्लिए भन्ने पूर्ण विवरण अझ खुलिसकेको छैन। 

एप्स्टिन फाइल सार्वजनिक भएपछि कागजातहरूले एप्स्टिनको जालो, उससँग जोडिएका ठूला नाम, र सरकारी निकायको कामबारे धेरै कुरा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया