
अल्बानी, न्यू योर्क । न्यू योर्क राज्यका साँसदहरुले नेपाली अमेरिकन समुदायको आर्थिक, सामाजिक तथा संस्थागत विकासको लागि राज्यको तर्फबाट श्रोत व्यवस्थापन गराउन सक्रिय रुपमा भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राज्यको बजेट निर्माणका प्रक्रियामा आप्रावासी समुदायको विकास र उत्थानका कार्यक्रम प्राथमिकतामा नपर्ने अभ्यास रहेपनि आफुहरुले त्यस्ता अभ्यासलाई तोड्दै नेपाली अमेरिकन समुदायको सामाजिक आर्थिक विकासमा बजेट विनियोजन गराउन भुमिका खेल्ने आश्वसन उनीहरुले दिएका हुन् । समुदायको विकासको लागि राज्यको तर्फबाट श्रोत व्यवस्थापनको लागि दवाव दिन आफु बसोबास गर्ने क्षेत्रका साँसदहरुलाई समेत समुदायले आग्रह गर्नुपर्ने उनीहरुले सुझाए ।
दोस्रो नेपाली कम्युनिटी डे को अवसरमा मे ८ मा न्यूयोर्क राज्यको राजधानी अल्बानीस्थित राज्य संसद भवनमा आयोजित छलफल कार्यक्रममा न्यूयोर्क राज्यका विभिन्न डिस्ट्रिकबाट निर्वाचित एसेम्बली मेम्बरहरुले नेपाली समुदायका अगुवाहरुसंग यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा न्यूयोर्क राज्यमा पहिलो नेपाली एसेम्बली मेम्बर सराहना श्रेष्ठले समुदायको भाषा, संस्कृति तथा आर्थिक विकासको लागि श्रोत व्यवस्थापन गराउन राज्य संसदमा आफुले पहल गर्ने बताए । राज्यको बजेट व्यवस्थापनको अभ्यास हेर्दा आप्राबासी समुदायको मुद्धाहरु प्राथमिकतामा नपर्ने अभ्यास रहेपनि आफुहरुले सक्दो भूमिका खेल्ने एसेम्बली मेम्बर श्रेष्ठको भनाई थियो । राज्यको बजेट विनियोजनको अभ्यासहरु हेर्दा धनीलाई अझ धनी बनाउने किमिमको हुनेगरेको उल्लेख गर्दै साँसद श्रेष्ठले समुदायको अभियानमा आफु पनि संगै रहेको बताए । राज्य संसदमा थोरै प्रतिनिधिहरुले मात्रै आप्राबासी तथा अल्पसंख्यक समुदायको पक्षमा वकालन गर्ने गरेकोले नेपाली अमेरिकन समुदायले आफ्नो क्षेत्रका सबै साँसदहरुलाई ध्यानकर्षण गराउनु पर्ने उनले बताए ।
कार्यक्रममा ब्रुकलिनको बेरिज क्षेत्रका एसेम्बली मेम्बर मार्सेला माइटीनसले वर्तमान ट्रम्प प्रशासनको आप्राबासी विरोधी नीतिबाट न्यूयोर्क राज्यका आप्राबासी समुदायलाई सुरक्षित गर्नका लागि राज्य संसदमा विभिन्न कानून निर्माणमा चरणमा रहेको जानकारी दिए । आप्राबासी समुदायको आर्थिक सामजिक विकासलागि राज्यले उपलब्ध गराउनु पर्ने बजेटको बारेमा संसदका अन्य सदस्यहरुलाई समेत अवगत गराउदै यसको लागि दवाव दिन आफु लागिरहेको उनले बताए । यसप्रकारको मागलाई सम्बोधन गराउनका लागि समुदायका हरेक सदस्यहरुले आफु बसोबास गर्ने क्षेत्रका साँसदहरुलाई दवाव दिनु पर्ने एसेम्बली मेम्बर मार्सेलाको भनाई थियो ।
यस्तै सनीसाइड क्षेत्रका एसेम्बली मेम्बर क्लेयर भाल्डेजले बजेट निर्माणको प्रक्रियादेखि नै जोखिममा रहेका र आप्राबासी समुदायको सामाजिक विकासमा बढीभन्दा बढी श्रोत विनियोजन गर्न पहल गर्दै आएको बताउदै अझै पनि यथेष्ट बजेट विनियोजन हुन नसकेको बताए । न्यून आय भएको समुदायको आवास तथा अन्य कार्यक्रममा कम लगानी हुँदै आएको स्वीकार गर्दै समुदायका सदस्यहरुमा पुगेर काम गर्ने संस्थाहरुलाई श्रोत उपलब्ध गराउने कार्यमा आफु सँधै लागि रहने बताए ।
नेपाली कम्युनिटी डेका मुख्य प्रायोजक एसेम्बली मेम्बर स्टीभन रागाले समुदायका अगुवाहरुले राज्यको संसद भवनसम्म आएर आफ्नो आवश्यकताको बारेमा विधायकहरुलाई प्रत्यक्ष भेटेर जानकारी गराउनु सकारात्मक रहेको बताए । नेपाली कम्युनिटी डेको अवसरमा समुदायका सरोकारहरुको बारेमा नीति निर्माताहरुसंग छलफल गर्न सफल भएकोले आगमी दिनमा नेपाली अमेरिकन समुदायको संस्थागत विकासमा यो कार्यले निश्चय नै सकरात्मक उपलब्धी हासिल हुने विश्वास रागाले ब्यक्त गरे ।
सो अवसरमा एसेम्बली मेम्बर तथा ब्लयाक पोर्टोरिकन हिस्पानिक तथा एसियन ककसका अध्यक्ष मिसेल सी सोलागेजले कम्युनिटीको आफुहरुको शक्ति भएको उल्लेख गर्दै समुदायको विकासको लागि श्रोतमा पहुच हुनु पर्ने बताए । इथनिक मिडियाको विकासमार्फत राज्यको श्रोतबारेमा आफ्नै भाषामा जानकारी हासिल गर्न सकेमा श्रोतमाथि पहुँच स्थापना हुन सकिने विश्वास उनले व्यक्त गरे । यसको लागि आफुले निरन्तर पहल गर्ने पनि एसेम्बली मेम्बर सोलागेजले प्रतिबद्धता व्यक्त गरे ।
त्यसअघि दोस्रो नेपाली कम्युनिटी डेको अवसर पारेर न्यू योर्कमा नेपाली समुदायमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले न्यूयोर्क राज्यका साँसदहरुलाई नेपाली अमेरिकन समुदायको आर्थिक सामाजिक तथा भाषिक सरोकारहरुका बारेमा जानकारी गराएका थिए । नेपाली समुदायका अगुवा तथा समाजसेवी श्याम कार्की, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, लङआइल्याण्ड नेपाली सोसाइटीका अध्यक्ष राजन गौली, तमु गुरुङ सोसाइटी अमेरिकाका अध्यक्ष ओम गुरुङ लगायतले समुदायमा पुगेर निरन्तर काम गरिरहेका संघसंस्थालाई राज्यले आर्थिक सहायत गर्नुृपर्ने, नेपाली समुदायको संचार माध्यमलाई संरक्षण गर्नुपर्ने, भाषा शिक्षा तथा रोजगारीको क्षेत्रमा विषेश कार्र्यक्रमहरु तर्जुमा गर्नुपर्ने भन्दै राज्यका साँसदहरुको ध्यानाकर्षण गराएका थिए ।
नेपाली कम्युनिटी डेलाई संसद बैठकमा स्वागत र सम्मान
यसैवीच न्यूयोर्क राज्यका दुवै सदन सिनेट र एसेम्बली सभाले नेपाली कम्युनिटी डे लाई औपचािरक रुपमा स्वागत र सम्मान गरेको छ । नेपाली कम्युनिटी डे को अवसरमा राज्य संसदको सभाहलमा पुगेका नेपाली समुदायका प्रतिनिधिहरुलाई सभाहलमा स्वागत गर्दै सिनेट बैठक जारी रहेकै अवस्थामा सबै सिनेट सदस्यहरुले उठेर नेपाली कम्युनिटी डे को सम्मान गरेका हुन् । सिनेट बैठक जारी रहेकै अवस्थामा सिनेटको उप बहुमत नेता माइकल ग्यानारिसको प्रस्ताबमा नेपाली कम्युनिटी डेलाई स्वागत र सम्मानको लागि सबै सिनेट सदस्यहरुले उठेर गडगडाहट ताली बजाएका थिए ।
यता, राज्यको एसेम्बली सभाले पनि नेपाली कम्युनिटी डेको अवसरमा स्वागत तथा सम्मान व्यक्त गरेको छ । एसेम्बली चेम्बरमा जारी बैठककै क्रममा एसेम्बली सदस्य स्टीभन रागाले नेपाली कम्युनिटी डेको महत्वमाथि चर्चा गर्दै प्रस्तुत गरेको प्रस्ताबलाई उनुमोदन गरी सबै एसेम्बली मेम्बरहरुले उठेर गडगडाहट तालि बजाएका थिए । एसेम्बली बैठकमा प्रस्ताब पेश गर्दै रागाले नेपाली समुदाय न्यूयोर्कको विविध समाजको एक अभिन्न अङ्ग भएको बताउदै गहिरो सांस्कृतिक परम्परा, बलियो पारिवारिक मूल्यहरू, र जीवन्त उद्यमशील भावना सहित, बसोबास गर्ने नेपाली समुदायले न्यूयोर्क सिटीमा मात्र नभई राज्यलाई नै समृद्ध बनाएको बताए । राज्यको आर्थिक, सांस्कृतिक, र नागरिक जीवनमा उनीहरूको योगदान उल्लेखनीय र सम्मानयोग्य छ, एसेम्बली मेम्बर रागाले भने ।
एसेम्बली चेम्बरले नेपाली समुदायका सदस्यहरूलाई स्वागत गर्न पाउँदा सम्मानित महसुस गरिरहेको उल्लेख गर्दै उनले राज्यको श्रोतमा पहुँच विस्तार र नागरिक संलग्नताका लागि नेपाली समुदाय आएको बताए । दोस्रो नेपाली कम्युनिटी डे आयोजनाले राज्यमा उनीहरूको बढ्दो उपस्थिति र प्रभावलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै साँसद रागाले समुदाय नेताहरू आफ्ना विधायीकासंग भटी कार्यक्रमसम्बन्धी प्राथमिकताहरू अगाडि बढाउन, र न्यूयोर्क राज्यभरिका नेपाली अमेरिकीहरूको आवाज सुन्ने र प्रतिनिधित्व हुने सुनिश्चित गर्न आएकाले यो सक्रिय नागरिक आन्दोलनको प्रतीक भएको बताए ।
छलफलका क्रममा राज्यसंसदमा पेश भएका दुईवटा विधेयकहरु नेपाली सामुदायिक मिडियालाई मान्यता र कोष प्रदान गर्नको लागि बनेको न्यूयोर्क राज्य सेनेट विधेयक र आप्रवासी समुदायको सेवा गर्ने बहुभाषिक र सामुदायिक सञ्चार माध्यमका लागि सार्वजनिक विज्ञापन र स्रोतहरूमा पहुँच बढाउन सामुदायिक सञ्चार विधेयकमाथि विषेश छलफल आयोजना हुने बताइएको छ।
यसगरी नेपाली भाषा कक्षा र नेपाली सामुदायिक संस्थाहरूको लागि कोष उपलब्ध गराउने, मानसिक स्वास्थ्य सेवाहरू, सामुदायिक केन्द्रहरू, र सांस्कृतिक पहिचान संरक्षण प्रयासहरूमा लगानी बढाउने जस्ता विषयहरुमा पनि नपाली समुदायका अगुवाहरु र न्यूयोर्क राज्यका जननिर्वाचित प्रतिनिधिहरुवीच छलफल आयोजना हुने छ ।
यस्तै कार्यक्रमगत प्राथमिकताहरुमा स्वास्थ्य सेवामा पँहुच विस्तार र मानसिक स्वास्थ्य चेतनामा वृद्धि, संस्कृति विभागको साझेदारीमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन, न्यूयोर्क राज्यमा आप्रवासीहरूको संरक्षण लगायत आप्रवासनमा केन्द्रित नीतिहरू, घृणात्मक अपराधहरूको समाधान, समुदायको सुरक्षामा सुधार, र नेपाली अमेरिकी व्यवसायहरूलाई सहयोग गर्ने लगायतका सवालहरुमा छलफल तथा वकालती कार्यक्रमको आयोजना हुने भएकोले यो वर्षको नेपाली कम्युनिटी डेलाई नेपाली समुदायको अधिकारको हिसाबले महत्वपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया