न्यूयोर्क । न्यूयोर्क राज्यमा बसोबास गर्ने नेपाली समुदायको विभिन्न सरोकारका विषयहरुमा राज्यको निर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी गराउने उदेश्यसहित आज दोस्रो नेपाली कम्युनिटी डे आयोजना हुने भएको छ ।
न्युयोर्क राज्यका एसेम्बली सदस्य स्टीवन रागाको आयोजना तथा उप–सीनेट बहुमत नेता माइकल ग्यानारिस र न्यूयोर्क राज्यको पहिलो नेपाली एसेम्बली सदस्य सरहाना श्रेष्ठको सह–प्रायोजनमा हुन लागेको दोस्रो नेपाली कम्युनिटी डे न्यूयोर्कको राजधानी अल्बानीस्थित संसद भवनमा आयोजना हुने भएको हो ।
न्यूयोर्क राज्यका एसेम्बली सदस्य स्टीवन रागाले दोस्रो नेपाली कम्युनिटी डे आयोजना गर्न पाउँदा गर्व महसुस गरेको बताएका छन् । यो वर्षको कम्युनिटी डेमा राज्यको संसदमा पेश भएको नेपाली समुदायसंग सम्बन्धीत दुईवटा विधेयकहरु र अन्य सरोकारको विषयहरुमा समुदायको तर्फबाट निर्वाचित प्र्रतिनिधिहरुसमक्ष वकालतको रुपमा आयोजना हुने एसेम्बली सदस्य स्टीवन रागाको कार्यालयले जनाएको छ ।
नेपाली कम्युनिटि डे को अवसरमा सिनेट र एसेम्बली कक्षहरूमा विधायिकाहरूको परिचय, साथै निर्वाचित अधिकारीहरू र राज्यका नेताहरूसँग विधायन प्राथमिकता, कार्यक्रम आवश्यकताहरू, र नेपाली अमेरिकी समुदायलाई प्रभाव पार्ने कोष सम्भावनाहरूका बारेमा छलफल हुने बताइएको छ ।
छलफलका क्रममा राज्यसंसदमा पेश भएका दुईवटा विधेयकहरु नेपाली सामुदायिक मिडियालाई मान्यता र कोष प्रदान गर्नको लागि बनेको न्यूयोर्क राज्य सेनेट विधेयक र आप्रवासी समुदायको सेवा गर्ने बहुभाषिक र सामुदायिक सञ्चार माध्यमका लागि सार्वजनिक विज्ञापन र स्रोतहरूमा पहुँच बढाउन सामुदायिक सञ्चार विधेयकमाथि विषेश छलफल आयोजना हुने बताइएको छ।
यसगरी नेपाली भाषा कक्षा र नेपाली सामुदायिक संस्थाहरूको लागि कोष उपलब्ध गराउने, मानसिक स्वास्थ्य सेवाहरू, सामुदायिक केन्द्रहरू, र सांस्कृतिक पहिचान संरक्षण प्रयासहरूमा लगानी बढाउने जस्ता विषयहरुमा पनि नपाली समुदायका अगुवाहरु र न्यूयोर्क राज्यका जननिर्वाचित प्रतिनिधिहरुवीच छलफल आयोजना हुने छ ।
यस्तै कार्यक्रमगत प्राथमिकताहरुमा स्वास्थ्य सेवामा पँहुच विस्तार र मानसिक स्वास्थ्य चेतनामा वृद्धि, संस्कृति विभागको साझेदारीमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन, न्यूयोर्क राज्यमा आप्रवासीहरूको संरक्षण लगायत आप्रवासनमा केन्द्रित नीतिहरू, घृणात्मक अपराधहरूको समाधान, समुदायको सुरक्षामा सुधार, र नेपाली अमेरिकी व्यवसायहरूलाई सहयोग गर्ने लगायतका सवालहरुमा छलफल तथा वकालती कार्यक्रमको आयोजना हुने भएकोले यो वर्षको नेपाली कम्युनिटी डेलाई नेपाली समुदायको अधिकारको हिसाबले महत्वपूर्ण रुपमा लिइएको छ ।




प्रतिक्रिया