२६ फागुन २०८२, मङ्गलबार
Tue, Mar 10, 2026
SUBSCRIPTION

न्यु योर्कमा आप्रवासी र जलवायु न्यायको पक्षमा विशाल प्रदर्शन, ट्रम्प प्रशासनको नीतिको विरोधमा हजारौं उर्लिए

न्यु योर्कमा आप्रवासी र जलवायु न्यायको पक्षमा विशाल प्रदर्शन, ट्रम्प प्रशासनको नीतिको विरोधमा हजारौं उर्लिए

न्यु योर्क। झण्डै ५० हजार मानिसहरूले ट्रम्प प्रशासनद्वारा आप्रवासीमाथि बढ्दो आक्रमण र तीव्र बन्दै गएको जलवायु संकटविरुद्ध प्रदर्शन गरे। “अर्थ डे” को ठीक तीन दिन अघि अप्रिल १९ (शनिबार) “प्रोटेक्ट द माइग्रेन्ट्स्, प्रोटेक्ट द प्लानेट” (आप्रवासीहरूलाई जोगाऔं, ग्रहलाई जोगाऔं) भन्ने नारासहितको र्‍यालीले न्यु योर्क म्यानह्याटनमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले कोलम्बिया विश्वविद्यालयका आयोजक मोहसेन मह्दावी, कानुनी रूपमा मेरिल्यान्ड बसोबास गर्दै आएका किल्मार अब्रेगो गार्सिया, स्थायी बासिन्दा महमूद खालिललगायत आप्रवासीहरूको अपहरणप्रति विरोध जनाए। उनीहरूले महमूद, मोहसेन र रुमेसा ओजतुर्कको रिहाइ र अब्रेगोलाई मेरिल्याण्डस्थित उनको घरमा फिर्ता ल्याउन माग गरे।

उनीहरूले आइससँग सहकार्य नगर्न, शतप्रतिशत नवीकरणीय उर्जा प्रणालीमा छिटो र न्यायपूर्ण रूपान्तरण गर्न र आप्रवासी समुदायको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्न मेयर एरिक आडम्स र अन्य मेयर पदका उम्मेदवारहरूलाई माग गरे। 

प्रदर्शन ब्रायन्ट पार्कको पब्लिक लाइब्रेरीबाट सुरु भई म्याडिसन एभिन्यु हुँदै ट्रम्प टावरसम्म पुगेको थियो। ट्रम्प टावरलाई अहिले सर्वसत्तावाद र आप्रवासी विरोधी नीतिको प्रतीकको रूपमा हेरिएको छ।

प्रदर्शनमा ड्रम (देसिज राइजिङ अप एण्ड मुभिङ०, ३५० एनवाइसी, मेक द रोड न्यु योर्क, न्यु योर्क कम्युनिटिज फर चेन्ज, फ्राइडेज फर फ्युचर एनवाइसी लगायत ५० भन्दा बढी संस्था संलग्न थिए।

र्‍यालीलाई सम्बोधन गर्दै न्यूयोर्क इमिग्रेशन कोएलिशनका अध्यक्ष मुराद अवावदेहले भने, “ट्रम्पले आप्रवासी र पृथ्वी दुवैलाई फ्याँक्न मिल्ने वस्तु ठानेका छन्। उनीहरूको आप्रवासीविरोधी नीति र जलवायु सङ्कटबीच गहिरो सम्बन्ध छ। हामी हाम्रो सन्तानको भविष्यका लागि लडिरहेका छौँ।”

ड्रम सदस्य हजेहरा हकले बङ्गलादेशमा बाढीका कारण ५०,००० मानिस विस्थापित भएको उल्लेख गर्दै २०५० सम्म बङ्गलादेशको एक तिहाइ खेतीयोग्य जमिन समुद्र सतह बढ्नाले डुबानमा पर्न सक्ने बताइन्। “हामी कामदार र हाम्रै परिश्रममा यो सहर चलेको छ। हामी सम्मान र मानवअधिकारको माग गर्छौं,” उनले भनिन्।

न्यु योर्क कम्युनिटिज फर चेन्जका सदस्य डेभिड एलेक्सिसले ट्रम्प र उनका धनाढ्य समर्थकहरूले जलवायु सङ्कटलाई बढावा दिइरहेका बताए। “हामी यहाँ न्यूयोर्क सधैँ स्याङ्चुअरी सिटी (आप्रवासीहरूको शरणस्थल हो र हुनेछ) भन्ने सन्देश दिन आएका हौं।”

त्यस्तै मेक द रोड एनवाइका लिडर क्लाउडियो इड्रोभोले भने, “हामी यहीँ रहनेछौ, ट्रम्पका साथीहरूका कारण जलवायु विनाश र आप्रवासीप्रतिको अत्याचार तत्काल रोक्नु पर्छ।” क्लाइमेट डिफेन्डर्सकी आयोजक रेनाटा पुमारोलले सहर वाल स्ट्रिट, ट्रम्प र उनका अर्बपति साथीहरुले नभएर आप्रवासीको श्रम र सेवाले चल्ने बताइन्। “संघीय र स्थानीय सरकारले हाम्रो साथमा उभिने कि ट्रम्पका साथमा भन्ने निर्णय अब गर्नुपर्छ,” उनले भनिन्।

५०५०१ एनवाइकी हना स्ट्रसले जलवायु न्याय भनेको वर्गीय न्याय भएको बताइन्। “हामी आज सडकमा उत्रेर हाम्रो अन्तरनिर्भरता घोषणा गर्छौं र एक भएर उठ्नेछौं,” उनले भनिन्।

भिडियोः

 

 

प्रतिक्रिया