न्यूयोर्क । न्युयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेनाको तालिम क्याडेटहरु बोकेको पानी जहाज ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने डेढदर्जन घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्थानीय अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्।
२७७ जनायात्री रहेको जहाज न्युयोर्क भ्रमणमा आएको थियो । जहाज आइसल्यान्डतर्फ प्रस्थान गर्ने क्रममा शनिबार राती करिब नौ बजेतिर विद्युत आपूर्ति बन्द भएपछि धारमा बग्दै ब्रुकलिन ब्रिजमा ठोक्किएको हो। जहाजमा सवार अधिकाँश यात्री मेक्सिकन नौसेनाको तालिमरत क्याडेट जवानहरु रहेको बताइएको छ । मेयर एरिक एडम्सले घटनाबारे जानकारी दिँदै दुखद घटना भएको र दुर्घटनापछि उद्धारका लागि सबै निकाय परिचालन गरिएको जानकारी दिए । घाइते १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइतेहरुको ज्यान बचाउनका लागि जतिसक्दो छिटो उपचारको व्यवस्था मिलाएको मेयर आडम्सले बताए ।
ठोक्किएपछि जहाजका १४७ फिट अग्ला म्यास्टहरू छिनिए, र भिडियोमा धेरै चालक दलका सदस्यहरू पाल र बुममा झुण्डिरहेको देखिएको थियो । ब्रुकलिन ब्रिजको अधिकतम उचाइ १३५ फिट भए तापनि जहाजको पालको उचाइ त्योभन्दा अग्लो भएकाले ठोक्किएको बताइएको छ। ब्रुकलिन ब्रिज पार्कबाट उक्त दृश्य प्रत्यक्ष देखेका एलिजा वेस्टले भने, “जहाज पुलमुनी आइरहेको थियो, पालहरू पुलमा ठोक्किएपछि मान्छेहरू तल झर्दै थिए। हामी सबै डरायौं। करिब पाँच मिनेटमै प्रहरी डुंगा आइपुगे र उद्धार सुरु भयो।“
मेयर एरिक एडम्स घटनास्थल पियर १६ पुगेका थिए भने उद्धारकर्मीहरूले तुरुन्त उद्धार सुरु गरेका थिए । जहाजलाई म्यानहाटन ब्रिजतर्फ लगिएको थियो । मृत्यु हुने दुई जना चालक दलका सदस्यहरू रहेको बताइएको छ । १९८२ मा स्पेनमा बनाइएको जहाज क्याडेटहरूको प्रशिक्षणको लागि बनाइएको हो। यो जहाज अमेरिका स्थापनाको २५०औं वर्षको उत्सवको प्रवद्र्धनका लागि न्युयोर्क आएको थियो। जहाजले आठ महिनाको विश्व भ्रमण गरिरहेको छ जसमा जमैकाबाट आइसल्यान्ड, पोर्चुगल लगायत देशहरू हुँदै यात्रा गरिरहेको छ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले दुई नौसेना सदस्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
मेक्सिकन नौसेनाले एक विज्ञप्ति जारी गर्दै जहाजको न्युयोर्कमा पाल तानेर गर्ने अभ्यासको क्रममा ब्रुकलिन ब्रिजसँग ठोक्किएको र दुर्घटनाले जहाज र तालिम यात्रा दुबैमा अवरोध ल्याएको जनाएको छ। “सुरक्षाको मूल्यांकन भइरहेको छ र प्रभावितहरूको अवस्था स्थानीय तथा नौसेनाको अधिकारीहरूले सम्हालिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ। ब्रुकलिन ब्रिजमा सामान्य क्षति मात्र भएको र निरिक्षण पछि पुनः सुचारु भएको न्यूयोर्क सिटीका यातयात विभागले जनाएको छ ।




प्रतिक्रिया