न्यु योर्क। न्यू योर्क सिटी मेयर एरिक आडम्सले आफूमाथिको आपराधिक अभियोग छिटो हटाउन अनुरोध गरेका छन्। उनले सोमबार उनको मुद्धा हेर्ने फेडेरल जजलाई न्यू योर्क सिटीको मेयर पदको चुनावी कारण देखाउँदै यस्तो अनुरोध गरेका हुन्।
आगामी जुनमा हुने प्राइमरी निर्वाचनमा असर नगरोस भनेर मेयर आडम्सले आफू माथि लागेको मुद्दा हटाउन फेडेरल जज समक्ष अनुरोध गरेको उनका कानून व्यवसायी एलेक्स स्पिरोले सञ्चारमाध्यमहरूलाई बताएका छन्। आडम्सको मुद्दा फेडेरल जज डेल होले हेरिरहेका छन्।
आडम्समाथि निर्वाचनमा विदेशी सरकारी अधिकारीको जानकारीमा विदेशी नागरिकबाट सहयोग लिएको, ‘लक्जरी ट्राभल्स पर्क’ स्वीकारेको लगायतका ५ वटा आपराधिक अभियोग छ। अमेरिकामा चुनावमा विदेशी सहयोग लिन कानूनले रोकेको छ। निर्वाचनमा विदेशी प्रभाव रोक्न यस्तो कानूनी ब्यवस्था गरिएको हो।
आपराधिक अभियोग लागेपछि आडम्स राष्ट्रपति डोनाल्ड ट्रम्प निकट हुन खोजेको आरोप पनि लागेको छ। खासगरी आडम्सले ट्रम्पको आप्रवासी नीतिलाई सहयोग पुग्ने अभिव्यक्ति दिएपछि र बोर्ड जार टम होम्यानलाई भेटेपछि यस्तो आरोपले वल पाएको छ। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाले पछि उनी अन्तर्गत रहेको जस्टिस डिपार्टमेन्टले उनको मुद्दा ‘विदआउट प्रिजुडिस’ हटाउने निर्देशन दिएको थियो।
जस्टिस डिपार्टमेन्टको निर्देशन अनुसार जज होले आडम्सको मुद्दा हटाउन सक्छन्। तर, ‘विदआउट प्रिजुडिस’ हटाइएको मुद्धा पुनः ब्युँत्याउनु सकिन्छ।







प्रतिक्रिया