न्यू योर्क । नारी एकता आइकन अफ द इयर अवार्ड २०२४ बाट तीन जना महिलासहित ६ जनालाई सम्मान गरेको छ। नारी एकताले न्यू योर्कको क्वीन्समा एक कार्यक्रम गरी नारी एकता आइकन अफ द इयर अवार्ड २०२४ बाट डा. सुलोचना गुरुङ, नेपाली भान्छा घरका सञ्चालिका बिमला हमाल श्रेष्ठ र हेभन्ली पाथका न्यू योर्कका अध्यक्ष तथा समाजसेवी सुकु राईलाई सम्मान गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका एनआरएनए विभागका उपाध्यक्ष डा. प्रणय राणालाई सर्भिस लिडरसिप अवार्ड २०२४ बाट सम्मान गरेको छ। त्यस्तै लैंगिक समानता, महिला शशक्तिकरण र सामाजिक कार्यमा सहयोग पुर्याएको भन्दै युवाहरु मिङमार मगर तथा लकेश श्रेष्ठलाई अप्रिसिएसन अवार्ड प्रदान गरिएको छ।
पहिलो पुस्ताको रुपमा अमेरिका आएर डेन्टल क्लिनिक सञ्चालन गरी नेपाली अमेरिकन समुदायलाई स्वास्थ्य क्षेत्र मार्फत योगदान पुर्याएको भन्दै डा. सुलोचनालाई सम्मान गरेको आयोजकले जनाएको छ, डा. सुलोचना गएको बर्ष ४० अन्डर ४० डेन्टिष्ट डा. मा समावेश हुन सफल भएकी थिइन् । डा. सुलोचना नेपाली समुदायबीच चर्चित दन्त चिकित्सक हुन् । उनले कोभिडको समयदेखि इस्सेन्स स्माइल्स नामक क्लिनिक सञ्चालनमा ल्याएका हुन् । त्यस्तै बिमला हमाल श्रेष्ठले एक्लो महिला भएर पनि आफैले नेपाली भान्सा घरमा सञ्चालनमा ल्याएर नेपाली खानाको प्रवद्र्धन गर्दै सफल व्यवसायी बनेर अन्यलाई प्रेरणा दिएका भन्दै आइकन अफ द इयर अवार्ड २०२४ प्रदान गरेको नारी एकताले जनाएको छ। उनले आफ्नो रेष्टुरेन्टमा नेपालीहरुलाई नै रोजगारी पनि दिएकी छन्।
त्यस्तै हेभन्ली पाथका न्यूयोर्क च्याप्टरका अध्यक्ष सुकु राईले पानीको खाली बोतल जम्मा पारेर नेपालमा रहेको गरीब बालबालिकालाई शिक्षा प्रदान गरेको भन्दै आइकन अफ द इयर अवार्ड २०२४ प्रदान गरेको छ। ७३ बर्षिया एकल महिला राईले लामो समयदेखि गरीब बालबालिकाहरुको शिक्षाको लागि काम गर्दै आएकी छन् । महिलाहरुको संघर्ष र सफलताको कथालाई उत्साहको रुपमा सेलिबे्रट गरेर अन्य महिलाहरुलाई प्रेरणा दिने उद्देश्यले ती महिलाहरुलाई सम्मान गरिएको नारी एकताका अध्यक्ष शान्ति गुरुङले बताइन् । महिलाहरुलाई एकतावद्ध गर्दै उनीहरुको साहस र शक्तिबाट अरु महिलाहरुलाई प्रोत्साहन गर्दै महिला शशक्तिकरण गर्दै जाने उनको भनाइ छ।
त्यस्तै नेपालमा निम्न आय भएका जनतालाई अक्सिजन सिलिण्डर प्रदान गरेर जीवन रक्षाको लागि समुदायमा काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका एनआरएनए विभागका उपाध्यक्ष डा. प्रणय राणालाई सर्भिस लिडरसिप अवार्ड २०२४ प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि न्यू योर्क स्टेट डिष्ट्रिक्ट ३० का पुनः निर्वाचित एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले डा. राणालाई अवार्ड प्रदान गरेको हो। एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले सम्मानित सबैलाई बधाइ दिंदै फेरी पनि समुदायसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरे।
नारी एकताका अध्यक्ष शान्ति गुरुङले डा. राणाको सामाजिक कार्यको योगदानको कदर गर्दै उहाँको अभियानलाई सहयोग स्वरुप १५ सय डलरको चेक हस्तान्तरण गरिन्। अध्यक्ष गुरुङले पुनः निर्वाचित एसेम्ब्ली मेम्बर स्टेभेन राँगालाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे। आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) का अध्यक्ष तोरण गुरुङले महिलाहरूले पनि पुरुष सरह नै जस्तो सुकै काम गर्नसक्ने बताउँदै सबै महिलाहरुलाई अघि बढाउन सबै पुरुष दाजुभाइहरुले सहयोग गर्नुपर्र्ने बताए।
क्वीन्स डाइमण्डका निर्देशक सुर्य श्रेष्ठ महर्जनले आफु श्रीमानको हौसलाको कारण आफुलेसफलता हासिल गर्न सकेको चर्चा गदैं सबै पुरुष दाजु भाइहरुलाई आफ्नो श्रीमती, दिदी बहिनीहरुलाई सहयोग गरी प्रोत्साहन गर्न सुझाव दिए। कार्यक्रममा एनआएरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा, एनआएरएनए न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङ, युनाइटेटकिरातराई सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष मुना राई गुरुङ, रेणुका शर्मा सापकोटा लगायतले महिलाको शशक्तिकरणका लागि काम गर्न जोड दिदैं आउने दिनहरुमा आफुहरुले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।
डा. प्रणय राणाले आफ्नो कामको सम्मान गरेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गरे । यस्तो प्रोत्साहन र हौसलाले समुदायका लागि अरु काम गर्ने हौसला थपिएको उनको भनाई छ। एनवाइसी नेपाल न्यूज डटकमका सम्पादक मच्छे गुरुङले लैंगिक समानता, महिला शशक्तिकरण र समतामूलक समाज निर्माणका लागि घरै देखि दाजुभाई, बुबा तथा श्रीमानले महिलाहरुलाई साथ दिनुपर्ने तर्क गरे। चुला चौकाबाट बाहिर आएपछि मात्र महिलाले बाहिरी संसारमा आफ्नो स्थान बनाउनु सक्ने र निर्णयमा सहभागी हुन सक्ने सम्पादक गुरुङको भनाइ छ।
यस्ता कार्यक्रमले आउने दिनमा समुदायका लागि योगदान गर्न सबैमा प्रेरणा मिल्ने आयोजकको अपेक्षा छ। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।













प्रतिक्रिया