न्यू योर्क। रात छिप्पिदै थियो। विद्यर्थाी तथा युवा पूस्ता अस्टोरियाको मेलरोज बलरुम अघि भेला हुँदै थिए। धेरैको फेशन हल्का चिसोप्रति वेपर्वाह थियो। ठमेल एनवाइसी इभेन्टस्ले तिहारको उपलक्ष्यमा सांगितिक कार्यक्रम राखेको थियो।

कार्यक्रम ठीक ११ बजे सुरु भयो। न्यू योर्क सिटीको लोकल ब्याण्ड गाउँ एण्ड गल्लीले ड्रम र गितारबाट सुरुमै फ्लोर ततायो। त्यसपछि सुरु भयो देउसी भैलो। रिमिक्स शैलीको ‘‘भैलेनी आइन आगन बडारी कुडारी राखन’’ र ‘‘भन मेरा भाइ हो’’ मा दर्शक झुमे।

त्यसपछि सुरु भयो चर्चित नेपाली रक ब्याण्ड द इलेमेन्ट्सले माहौल थप गर्मायो। बारमा बसेर चुस्की लिइरहेकाहरु समेत फ्लोरमा उत्रे। ‘‘बुझ्नै सकिन’’, ‘‘होला तिम्रो सपनाको माया’’, ‘‘यसैले म हिँडे’’ लगायतका चर्चित गीतलाई ‘इन्ट्रो’ सहित ‘कन्टेक्स्चुअलाइज’ गर्दा मेलरोज बलरुम ‘हुटिङ’ ले गुञ्जियो।

‘आफ्टर पार्टी’ अघि डिजे विशो र चर्चित र्यापर दोङको प्रस्तुति रह्यो। ‘द शो’ को मुख्य आकर्षण नै डिजे विशो र र्यापर दोङ थिए। र्यापर दोङले ‘‘सक्दिन’’, ‘‘आत्तिन्छे’’, ‘‘तयारी’’, र ‘‘फ्लो मेरो दश टाउके रावन’’ जस्ता र्याप गीतबाट न्यू योर्क सिटीमा बसोबास गर्ने युवा पुस्तालाई जुरुक जरुक उचाले। कार्यक्रममा डिजे वाङको पनि प्रस्तुति थियो।






प्रतिक्रिया