०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले लामिछानेलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पक्राउ

काठमाडौँ । सहकारीको रकम निजी कम्पनीमा ल्याएर हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले लामिछानेलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । पक्राउ अघि लामिछानेले अदालतको पक्राउ पुर्जीमा हस्ताक्षर गरेका थिए। 

लामिछानेलाई पक्राउ गर्ने क्रममा रास्वपा पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको थियो । उनीहरुले सरकार विरुद्ध चर्का नाराबाजी समेत गरेका छन् । 

प्रहरीसमक्ष गिरफ्तारी दिदै रविले आफूले न्यायिक प्रक्रियालाई सघाउने बताए । लामिछानेले कुनै पनि अपराध नगरे तर राजनीतिक प्रतिसोध साध्न खोजिएको आरोप लगाएका थिए । 

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार नै पूर्जी जारी गरेको थियो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । 

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, उपाध्यक्ष छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगीमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।           तस्बिर श्रोतः फेसबुकपेज

प्रतिक्रिया