न्यूयोर्क । टेक्सास राज्यको डालसमा बुधबार बिहान इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट
(आइस) कार्यालयमा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ र दुईजना गम्भीर घाइते भएका छन् ।
डालस प्रहरीका अनुसार बिहान करिब ६ः४० बजे एकजनाले छेउको भवनबाट सरकारी भवनतर्फ गोली चलाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए। घाइते दुई जनालाई गोली लागेर अस्पताल पुर्याइएको छ र आक्रमणकारीको भने आफैले गोली चलाएर मृत्यु भएको जनाइएको छ।
फक्स न्युजका अनुसार आइसको डिटेन्सन सेन्टरमा रहेका बन्दीहरुलाई लक्षित गरेर आक्रमणकारीले नजिकैको अपार्टमेन्ट भवनबाट गोली चलाएको हो । गोली प्र्रहारबाट कुनैै सुरक्षा अधिकारीहरु भने घाइते नभएको बताइएको छ । घटनापछि डालसका मेयर एरिक जोन्सन लगायतले गोलीकाण्डाको भत्सर्ना गर्दै सिटीका नागरिकहरुको सुरक्षाको लागि आफु प्रतिबद्ध रहेको र सबैलाई संयमित अपनाउन आग्रह गरेका छन् ।
एफबीआईले यस घटनालाई “लक्षित हिंसा” को रूपमा अनुसन्धान गरिरहेको बताइएको छ। डलासका एफबीआई विशेष एजेन्ट आर. जोसेफ रोथ्रकका अनुसार आक्रमणकारीको नजिकै आइस विरोधी सन्देशसहितका गोलीका खोका भेटिएका छन्।
टेक्सासका सिनेटर टेड क्रूजले पत्रकार सम्मेलनमार्फत घटनाको निन्दा गर्दै आइसको गतिविधिको विरोध गरिरहेकाहरुलाई यस्ता कार्य नगर्न चेतावनी दिएका छन् । डलासको नर्थ स्टेमन्स फ्रीवेमा रहेको उक्त आइस भवन डाउनटाउनबाट करिब पाँच माइल टाढा र डलास लभ फील्ड विमानस्थलबाट करिब दुई माइलको दूरीमा रहेको छ। भवन वरिपरि प्रायः व्यवसायिक भवन र केही अपार्टमेन्ट कम्प्लेक्स रहेका छन्।
टेक्सासकी संघीइ साँसद जुली जोन्सन (डेमोक्रेट)ले भने आधारहीन अड्कलबाजी नगरी घटनाको गम्भीर छानविन गर्न आग्रह गरेकी छिन् । घटनाको उद्देश्य अझै अज्ञात छ। अधिकारीहरुले अनुसन्धान जारी रहेकोले विस्तृतमा जानकारी गराउन नसकिने उल्लेख गरेका छन् ।



प्रतिक्रिया