२८ भदौ २०८३, आइतबार
Sun, Sep 13, 2026
SUBSCRIPTION

ग्रिनल्याण्डमा अमेरिकी प्रभाव प्रयास दाबी, डेनमार्कद्वारा अमेरिकी दूत ‘समन’

ग्रिनल्याण्डमा अमेरिकी प्रभाव प्रयास दाबी, डेनमार्कद्वारा अमेरिकी दूत ‘समन’

न्यू योर्क। ग्रिनल्याण्डमा प्रो-अमेरिकी प्रभाव गतिविधिको आरोपपछि डेनमार्कले अमेरिकी कार्यवाहक राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर बयान लिएको छ। 

डेनमार्कका परराष्ट्रमन्त्री लार्स लोके रस्मुसेनले बयान लिएको पुष्टि गर्दै राज्यको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप अस्वीकार्य हुने बताएका छन्। उनले डेनमार्क र ग्रिनल्याण्डबीच आपसी विश्वासमा आधारित घनिष्ठ सहकार्य रहेको पनि बताए।

अमेरिकी दूत ‘समन’ गर्ने निर्णय डेनिस सार्वजनिक प्रसारक रेडियो डीआरको रिपोर्टपछि भएको हो। उक्त रिपोर्टले सरकारी र सुरक्षा निकायका नाम नखुलेका स्रोतहरू उद्धृत गर्दै डोनाल्ड ट्रम्पसँग सम्बन्धित तीन अमेरिकी नागरिकले ग्रिनल्याण्डमा प्रभाव अभियान चलाई रहेको दाबी गरेको थियो । ती व्यक्तिहरूले आफ्नै वा कसैको निर्देशनमा काम गरेको हो कि होइन भन्ने स्पष्ट भएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रिनल्याण्डमाथि अमेरिकी नियन्त्रणको चाहना व्यक्त गरेका छन्। उनले द्वीप किन्नुपर्ने प्रस्ताव समेत अघि सारेका छन् र आवश्यक परे सैन्य विकल्प नकारेका छैनन्। डेनमार्क र ग्रिनल्याण्डका राजनीतिज्ञहरूले भने ग्रिनल्याण्ड बिक्रीका लागि नभएको स्पष्ट पारिसकेका छन्।

डेनमार्कको सुरक्षा तथा गुप्तचर सेवा (एसआईएस) ले ग्रिनल्याण्ड विभिन्न प्रकारका प्रभाव अभियानको निशानामा परेको जानकारी दिएको छ। एसआईएसका अनुसार यस्ता गतिविधिले डेनमार्क र ग्रिनल्याण्डको सम्बन्धमा फूट ल्याउने उद्देश्य राख्छ। र, यस्ता गतिविधि एजेन्ट वा भ्रमपूर्ण सूचनामार्फत सञ्चालन हुन सक्छन्।

प्रतिक्रिया