०९ असार २०८२, सोमबार
Mon, Jun 23, 2025
SUBSCRIPTION

भारत–पाकिस्तान द्वन्द्वले दक्षिण एसियाली क्षेत्रमा युद्धको बादल मडारिने संकेत

भारत प्रसाशित जम्मुकम्मिरमा भएको आतंकाकारी हमलाको विरोधमा भारतले पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि दुई देशवीच फेरी युद्धको संभावना बढेको हो । करिब ३१ जनाको ज्यान जाने गरी भएको आक्रमणको विरोधमा पाकिस्तानले पनि भारततर्फ जवाफी हमला गर्दा १६ भारतीयको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारत–पाकिस्तान द्वन्द्वले दक्षिण एसियाली क्षेत्रमा युद्धको बादल मडारिने संकेत


न्यूयोर्क । दक्षिण एसिया क्षेत्रका चीर परिचित शत्रु राष्ट्रहरु भारत र पाकिस्तानवीच भिषण युद्धको संभावना बढेर गएको छ । भारत प्रसाशित जम्मुकम्मिरमा भएको आतंकाकारी हमलाको विरोधमा भारतले पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि दुई देशवीच फेरी युद्धको संभावना बढेको हो । करिब ३१ जनाको ज्यान जाने गरी भएको आक्रमणको विरोधमा पाकिस्तानले पनि भारततर्फ जवाफी हमला गर्दा १६ भारतीयको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 
भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३÷४ सय वटा ड्रोन आक्रमण गरेको जनाएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैशीले बिहीबार राति भारतका विभिन्न क्षेत्रमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जनाएकी हुन् । 

भारतीय ड्रोन आक्रमणका कारण पाकिस्तानको हवाई ट्राफिक प्रणालीमा गम्भीर असर पर्नुका साथै हज धार्मिक यात्री र अन्तर्राष्ट्रिय यात्रुलाई मर्का परेको स्थानीय सञ्चारमाध्यम दि एक्प्रेस ट्रिब्युनले उल्लेख गरेको छ । बिहीबार लाहोर, इस्लामाबाद, कराची र अन्य विमानस्थलका दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द एवं डाइभर्ट गरिएका थिए । दोहा, टर्की, क्यानडा र अन्य देशबाट पाकिस्तान आउने उडान पनि डाइभर्ट गरिएको समाचारमा उल्लेख छ । पाकिस्तान विमानस्थल प्राधिकरणले बिहीबार दिनभर पाकिस्तानी हवाई क्षेत्र बेलाबेला खोल्ने र बन्द गर्ने गरेको थियो । 
भारतीय सशस्त्र बलले भारत प्रशासित कश्मिरको जम्मु र उधमपुर, तथा पञ्जाब राज्यको पठानकोटस्थित सैन्य अखडाहरुमा ड्रोन र मिसाइल आक्रमण भएको दाबीलाई अस्वीकार गरेको छ । यस घटनामा कुनै मानवीय क्षति भएको सूचना प्राप्त नभएको अलजजिराले जनाएको छ ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ता उल्लाह तारारले भारतका आक्रमणहरूका विरुद्धमा पाकिस्तानले अहिलेसम्म मात्र ’रक्षात्मक प्रतिक्रिया’ दिएको बताएका छन् । पाकिस्तान सेनाले भनेको छ कि भारतले बिहीबार पाकिस्तानमा आक्रमणकारी ड्रोन पठाएको थियो, जसका कारण कम्तीमा दुई जना नागरिकको मृत्यु भएको छ ।

उता, पाकिस्तानी सेनाले भारतीय सेनाका थुप्रै चेकपोस्टहरु ध्वस्त पारेको दाबी गरेको छ । सीएनएनले पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै कश्मिरको विवादित सीमा क्षेत्रमा भारतको तर्फबाट गरिएको गोलीबारीको प्रतिकारस्वरूप पाकिस्तानी सेनाले ती चेकपोस्टहरू नष्ट गरेले उल्लेख गरेको छ ।
पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोलका छ भारतीय चेकपोस्टहरू ध्वस्त पारेको सीएनएनले जनाएको छ । लाइन अफ कन्ट्रोलले कश्मिरको विवादित क्षेत्रलाई दुई भागमा बाँडेको छ।
स्रोतले ध्वस्त भएको भनिएको चेकपोस्टहरू कुन कुन ठाउँका थिए र त्यहाँ कतिबेलाबाट गोलीबारी सुरु भएको भन्ने विवरण भने सार्वजनिक भएको छैन ।
पाकिस्तानी सेनाले बिहीबार बिहानयता भारतले प्रहार गरेका २५ वटा ड्रोन खसालेको दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डी खसालेको पाकिस्तानी सेनाको दाबी छ । एउटा ड्रोन रावलपिन्डी क्रिकेट रंगशाला परिसरभित्र रहेको खाद्य विक्रेता क्षेत्रमा प्रहार गरिएको बताइएको छ । 
भारतीय विदेश सचिव विक्रम मिश्रीले भारतीय हवाई हमलाले नीलम–झेलुम बाँधमा क्षति पुगेको भन्ने पाकिस्तानको दाबी ‘सरासर झूट’ भएको बताएका छन् । भारतले ‘आतंकवादीका पूर्वाधार’ मा मात्रै हवाई आक्रमण गरेको उनको दाबी छ ।
नीलम–झेलुम बाँध पाकिस्तान प्रशासित कश्मीरमा रहेको जलविद्युत परियोजनाको एक हिस्सा हो । जुन नीलम नदीको पानीलाई झेलुम नदीमा रहेको विद्युत केन्द्रमा लैजान बनाइएको हो । ९ सय ६९ मेगावाट क्षमताको उक्त विद्युत केन्द्र मुजफ्फराबादबाट ४२ किलोमिटर दक्षिणमा अवस्थित छ ।

पाकिस्तानले उत्तर र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतले दाबी गरेको छ ।
अवन्तिपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई लक्षित गरिएको भारतको दाबी छ ।
‘यी सहरहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको भारतको भनाइ छ ।
कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको पुनः दोहो¥याएको छ ।
बिहीबार नयाँदिल्लीमा आयोजित प्रेस ब्रिफ्रङमा भारतीय विदेश सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणका लागि ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ) लाई जिम्मेवार ठहराउने भारतको अडान दोहो¥याएका हुन् ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी आक्रमणमा १६ जना भारतीयको मृत्यु भएको जनाएको छ । बिहीबार साँझ विशेष ब्रिफिङका क्रममा विदेश सचिव मिश्रीले उक्त आक्रमणमा ५९ जना घाइते भएको पनि बताए । पाकिस्तानले जम्मू–कश्मीरमा सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरेको उनको भनाइ छ ।
यसैवीच जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले राज्यमा नयाँ बंकरको आवश्यकता रहेको बताएका छन् । जम्मू–कश्मीरको उरी क्षेत्रको अनुगमनपछि उपराज्यपाल सिंहले सर्वसाधारणलाई कुनै समस्या नहोस् भनेर कश्मीर प्रशासनले ध्यान दिएको बताएका हुन् । घाइते भएकालाई उपचारको व्यवस्था र मृतकका परिवारलाई सहयोग गर्ने पनि उनले जनाएका छन् । उनले भनेका छन्, ’एउटा कुराचाहिँ नयाँ बंकर आवश्यक देखियो । 
भारत–पाकिस्तान द्वन्द्व चर्किंदै जाँदा भारतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन दिल्लीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। दूतावासले शुक्रबार दिउँसो सूचना जारी गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो । साथै,भारत सरकारका आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न पनि सबै नेपालीलाई सूचनामार्फत आग्रह गरिएको छ। परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र सबै नेपालीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले भारत–पाकिस्तान द्वन्द्व चर्किँदै गएका बेला पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ । मन्त्रालयले तत्काल कुनै सहयोग चाहिएमा इस्लामाबादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

भारत–पाकिस्तानबीचको द्वन्द्वले दुवैतर्फका क्रिकेट लिग पनि प्रभावित भएका छन् । पाकिस्तान सुपर लिग(पीएसएल) का बाँकी खेल दुबईमा सारिएको छ । त्यस्तै इन्डियन प्रिमियर लिग तत्कालका लागि १ हप्ता पछाडि धकेलिएको छ। भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ सुरू गरेयताको पहिलो टिप्पणीमा ‘निरन्तर सतर्कता’ का लागि आह्वान गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो देश र पाकिस्तानबीचको तनाव बढेपछि पहिलोपटक ‘निरन्तर सतर्कता र स्पष्ट संचार’ को लागि आह्वान गरेका हुन् ।
बिहीबार मन्त्रीहरूसँगको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै मोदीले आफ्नो छिमेकीसँगको शत्रुताको सामना गर्न बलियो आन्तरिक समन्वय र लचिलोपन आवश्यक रहेकोमा जोड दिएका सिएनएनले जनाएको छ । यसअघि, भारतीय रक्षामन्त्री राजनाथ सिंहले राजनीतिक नेताहरूसँगको बैठकमा पाकिस्तानस्थित आतंककारी अखडालक्षित भारतको सैन्य कारबाही ‘जारी रहेको’ बताएका थिए ।
भारतले पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको हो । यसअघि भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जनाएको थियो । भारतले ‘अपरेसन सिन्दूर’ जारी रहेको जनाएको छ । बुधबार रातियता पाकिस्तानले पनि क्षेप्यास्त्र तथा ड्रोन प्रहार शुरु गरेको हो । 

प्रतिक्रिया