न्यु योर्क। न्यु योर्क सिटीको हडसन रिभरमा आज दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा तीन बालबालिका सहित छजनाको मृत्यु भएको छ। दुर्घटनामा हेलिकोप्टर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुई जनाको भने अस्पतालमा मृत्यु भएको थियो।
सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा पुच्छर नभएको हेलिकोप्टर सीधै हडसन रिभरमा खसेको देखिन्छ। मृत्यु हुने दुई वयस्क र तीन बालबालिका स्पेनका पर्यटक रहेको जनाइएको छ। उनीहरु सबै एउटै परिवारका सदस्य रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, मृतकहरू कसैको पनि परिचय र उमेर लगायतका विवरण खुलाइएको छैन।

दुर्घटनामा परेको हेलिकोप्टर न्यु योर्क हेलिकोप्टर्स नामक कम्पनीले सञ्चालन गर्दै आएको थियो। उक्त हेलिकोप्टर करिब २ः५९ बजे उडेको थियो। उडिरहेकै बेला सन्तुलन गुमेर उक्त हेलिकोप्टर करिब ३ः१५ बजे लोअर म्यानह्याटन नजिक हडसन रिभरमा खसेको थियो। दुर्घटनाको कारणबारे छानबिन भइरहेको छ।
उक्त हेलिकोप्टर बेल २०६ मोडेलको भएको जनाइएको छ। यो मोडेलको हेलिकोप्टर सरकारी र गैरसरकारी क्षेत्रमा व्यापक प्रयोगमा छ। व्यापारिक कम्पनी, सञ्चारमाध्यम, प्रहरी र पर्यटन कम्पनीले यो हेलिकोप्टर धेरै प्रयोग गर्छन्।




प्रतिक्रिया