न्यू योर्क। टर्की मूलका अमेरिकी निर्माण व्यवसायी अर्डेन आर्केनले मेयर एरिक आडम्सको २०२१ को चुनावी अभियानमा गैरकानूनी चन्दा दिएको स्वीकारेका छन्। उनले शुक्रबार म्यानह्याटनस्थित फेडेरल कोर्टमा आडम्सको चुनावी अभियानमा गैरकानूनी चन्दा दिएको आरोप स्वीकारेका हुन्।
केएबिसी—टिभीले उनले टर्कि सरकारको निर्देशनमा मेयर आडम्सको चुनावी अभियानका लागि गैरकानूनी चन्दा सहयोग दिएको जनाएको छ। उनले कामदार र उनीहरुको परिवारका नाममा एक हजार दुई सय ५० डलरको १० वटा चेक उनी स्वामित्वको केएसके कन्ट्रक्सनबाट जारी गरेका थिए। त्यसमध्ये आठवटा चेक आडम्सको चुनावी अभियानलाई चन्दा दिन प्रयोग गरिएको थियो।
आर्केन मेयर आडम्सको चुनावी अभियानमा गैरकानूनी चन्दा दिएको स्वीकार्ने सातौँ व्यक्ति हुन्। यसअघि शाहिद र याया मुस्ताक दाजुभाइ, एनवाइपिडीका पूर्व इन्स्पेक्टर ड्वाएन मोन्टगोमरी, सम्शुद्धिन रिजा, ह्वे छिन र हार्लेमका नाम नखुलाइएकी एक महिलाले आडम्सको निर्वाचनमा गैरकानूनी चन्दा दिएको आरोप स्वीकारेका थिए। तर, आडम्सको चुनावी अभियानले त्यसरी गैरकानूनी चन्दा दिएको अभियान र आडम्सलाई थाह नभएको जनाएको गरेको थियो।
अदालतले आडम्स र उनको अभियानले चन्दा गैरकानूनी भएको थाह पाएको पुष्टि गर्ने आधार भेटेको थिएन। आर्केनको सवालमा भने आडम्सको निर्वाचन अभियानमा टर्की सरकारको प्रभाव र विलासी ‘ट्राभल पक्र्स’ सम्बन्धी मुद्धा पनि जोडिन्छ। तर, पुराना मुद्दामा जस्तै आडम्सको कानून व्यवसायीहरूले आर्केनले दिएको गैरकानूनी चन्दाबारे आडम्स र उनको चुनावी अभियानलाई जानकारी नभएको दाबी गरेका छन्।
ती मानिसहरूले आडम्सलाई ‘म्याचिङ फन्ड’ का लागि योग्य बनाउन गैरकानूनी चन्दा दिएका थिए। न्यू योर्क सिटीको मेयर उमेदवारले ‘म्याचिङ फन्ड’ का लागि योग्य हुन कम्तिमा एक हजार न्यू योर्क सिटीवासीबाट कम्तिमा दुई लाख ५० हजार डलर चन्दा सङ्कलन गर्नुपर्छ। न्यू योर्क सिटी क्याम्पेन फाइनान्स बोर्डले ‘म्याचिङ फन्ड’ का लागि योग्य भएका उममेदवारलाई उसले उठाएको रकममा आठ गुणा थपेर दिन्छ। योग्य उमेदवारले चुनावी अभियानमा आर्थिक स्रोत जुटाउन स्वार्थको सम्झौता गर्न नपरोस् भनेर ‘म्याचिङ फन्ड’ को ब्यवस्था गरिएको हो।






प्रतिक्रिया