दक्षिणी क्यालिफोर्नियामा जारी तिब्र बेगको हावाका कारण लस एन्जेलस क्षेत्रमा फैलिएको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । आगलागीबाट हालसम्म ४० हजार एकड भन्दा बढी क्षेत्र जलाएको छ भने दशौं हजार संरचना ध्वस्त बनाएको छ । आगलागिमा परि हालसम्म कम्तिमा १० जनाको मृत्यु भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । क्यालिफोर्नियाको इतिहासमा नै सबैभन्दा विनाशकारी आगलागी भएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।
त्यस क्षेत्रको सबैभन्दा ठूलो आगलागी प्यालिसेड्स क्षेत्रमा भएको र त्यहाँ २० हजार एकड भन्दा बढी क्षेत्र जलाएको छ । यसक्षेत्रमा आगलागी नियन्त्रणको प्रयास भइरहेको तर अझै नियन्त्रण बाहिर नै रहेको छ । यस्तै इटन क्षेत्रमा भएको आगलागीमा १३ हजार एकड भन्दा बढी जलाएको छ । यस क्षेत्रमा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । दुईवटा मुख्य भागमा आगलागी नियन्त्रणमा आउन नसकेको बेला केनेथ क्षेत्रमा पनि आगलागी भएको जनाएको छ । सो आगलागी हालसम्म १ हजार एकडमा फैलिएको र सो क्षेत्रमा भने ३५% आगो नियन्त्रणमा आएको ती क्षेत्रका फायर डिपार्टमेन्टहरुले जनाएका छन् ।
दक्षिण क्यालिफोर्नियामा सान्टाआना हावाले आगोलाई थप फैलन प्रेरित गरिरहेको अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । दमकलकर्मीहरूले आगोको नियन्त्रण गर्न २४ सै घण्टा संघर्ष गरिरहेका छन् तथापी आगो नियन्त्रणमा आउन नसकेको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । आगलागीबाट हालसम्म कम्तीमा १० जनाले ज्यान गुमाएको र हजारौं संरचनाहरू नष्ट भएको पनि समाचारहरु उल्लेख छ ।
लस एन्जलस र वरिपरिका क्षेत्रमा गरी ३५ हजार एकड भन्दा बढी क्षेत्र जलेको छ । नयाँ आगोलागी केनेथमा शुरु भएको छ । बिहीबार साँझ पश्चिम हिल्स, क्यालाबाससको उत्तरमा फैलिएकोमा सो क्षेत्रमा भने मध्येरात सम्ममा केही नियन्त्रणमा आएका लस एन्जलसका फायर डिपार्टमेन्ट प्रमुख क्रिस्टिन एम. क्राउलीले बताए । “हामी अझै यो विनासकारी घटनाबाट बाहिर निस्कन सकेको छैनौं, उनले भने ।
प्यालिसेड्स आगलागीले २० हजार एकड क्षेत्र नश्ट गरेको छ भने ५ हजार भन्दा बढी संरचनाहरू ध्वस्त बनाएको छ । तिनीमध्ये धेरै पश्चिम लस एन्जलसका प्यासिफिक प्यालिसेड्समा छन् । इटन आगलागीबाट पनि अल्टाडेना र पासाडेना क्षेत्रमा साँढे १३ हजार एकडभन्दा बढीमा फैलिएर ५ हजार संरचनाहरू नष्ट गरिसकेको फायर डिपार्टमेन्टका अधिकारीहरूले बताएका छन् ।
नेशनल वेदर सर्भिसले शुक्रबार पनि सो क्षेत्रमा हावाको गती एथावत रहने चेतावनी दिएको छ । हावा थप बलियो बनेको र ८१ माइल प्रति घण्टासम्मको हुन सक्ने समेत जानकारी दिएको छ । आगोको कारण पानी तथा विद्युतको आपूर्ती कटौती हुँदा लाखौं मानिसहरु समस्यमा परेका छन् । दशौं लाख मानिसहरु आफ्नो घर छाडेर गएका छन् ।
यो आगोले केवल बासिन्दाहरूको जीवनलाई मात्रै नभइ क्यालिफोर्नियाका वन्यजन्तुमा समेत ठूलो असर पुर्याएको छ । जंगलका जनावरहरूको सुरक्षा र पुनस्र्थापना गर्ने प्रयासमा गहिरो चिन्ता व्यक्त गरिएको छ ।





प्रतिक्रिया