काठमाडौ । चीनको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनफिङ, प्रधानमन्त्री लि छियाङ र जनकंग्रेसका अध्यक्ष झाउ लेजीसँग बेग्ला बेग्लै उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा दुइपक्षिय हितका विविध विषयहरुमा सौहद्र्धपूर्ण छलफल हुनुकासाथै आर्थिक सहयता घोषणा र विभिन्न ९ वटा सहमति सम्झौताहरुमा समेत हस्ताक्षेर भएको नेपालका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब नौ अर्ब रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण प्रसाद ढकालले बताए । प्रधानमन्त्री ओली र सीबीच बेइजिङमा मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा दुइपक्षिय सम्बन्ध र हितको विषयमा छलफल भएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपाल र चीन पुराना र असल छिमेकी रहेको बताउदै नेपाल र चीनवीचको सम्बन्ध सदियौंदेखि भएको स्मरण गराए । सीले नेपालको विकास थप सम्वृद्धिमा चीनको दरिलो सहयोग रहेको बताउदै नेपाली बस्तुहरु चिनियाँ बजारमा निर्यात गर्न थप सहजिकरण गर्ने र नेपालमा चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रोत्सहान गरिने प्रतिबद्धता व्यक्त गरे ।
भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल र चीनवीचको सम्बन्ध सौहार्दपूर्ण रहेको भन्दै राष्ट्रपति सीलाई नेपाल भ्रमणको समेत निम्तो दिए । चीनले हासिल गरेको विकास र सम्वृद्धिको प्रसंशा गर्दै ओलीले नेपालको आर्थिक विकासका क्षेत्रमा चीनसंग थप सहयोग र सहकार्य गर्न चाहेको सुनाए ।
मंगलबार नै प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लि छियाङसंग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री लिलाई पनि ओलीले नेपाल भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति सी र प्रधानमन्त्री लीले उचित समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।
प्रधानमन्त्री लीसंगको भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थिथिमा नेपाल र चीनबिच विभिन्न नौ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । ती सहमति र सम्झौतहरुमा चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने, चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ । यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्नेछ ।
यसैगरी चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोग सम्बन्धी सम्झौता पनि भएको छ । यो सम्झौताअन्तर्गत साढे तीन अर्ब प्राप्त हुने बताइएको छ । यसैगरी सन् २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षेर भएको छ । यो सम्झौता अन्गर्तगत कति रकम नेपालले प्राप्त गर्ने भन्ने उल्लेख नभए पनि त्यसरी प्राप्त हुने रकम अनुदान नै हुने विषय उल्लेख भएको बताइएको छ ।
यस्तै चीनले लामो समयदेखि निर्माणको प्रतिबद्धता गरेको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि सघाउने भएको छ । यसअघि नै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । तर, अहिलेसम्म पनि परियोजनाको सम्भाव्यता अध्ययन हुन सकेको छैन ।
साथै, नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने सम्बन्धी समझदारी पनि भएको छ । बाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार चीनको प्रस्तावमा व्यापार प्रवद्र्धनमा पारस्परिक सहयोगसम्बन्धी सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सन् २०१६ मै नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता गर्ने सहमति भए पनि हालसम्म त्यो हुन सकेको छैन । प्रधानमन्त्रीको चीन भ्रमणमा क्रममा स्वतन्त्र व्यापार सम्झौता भने एजेन्डामै थिएन ।

तस्बीरहरुः दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय







प्रतिक्रिया