०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

लङ आइल्यण्डमा फहरायो नेपाली राष्ट्रिय झण्डा

नेपालको चन्द्र सूर्य झण्डोत्तलन गर्दै हेम्पस्टिड टाउन बोर्डका प्रमुख डन क्लाबिनले नेपालको संविधान दिवशको अवसरमा नेपाली झण्डोत्तलन गर्न पाउद खुशी लागेको बताए ।
लङ आइल्यण्डमा फहरायो नेपाली राष्ट्रिय झण्डा

 

न्यूयोर्क । न्यूयोर्क राज्यको लङ आइल्याण्डस्थित हेम्पस्टिड टाउनमा सोमबार नेपालको राष्ट्रिय झण्डोत्तलन गरिएको छ । लङआइल्याण्डको नासो काउन्टी अन्तर्गत हेम्पस्टिड टाउन बोर्डको आयोजना तथा कोअर्डिनेसन कमिटी अफ नेपाली कम्युनिटीको समन्वयमा हेम्पस्टिड टाउन बोर्डको मुख्य कार्यालय भवनमा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराइएको हो । नेपालको संविधान दिवशको अवसरमा पारेर हेम्पस्टिड टाउन बोर्डको आयोजनामा भएको झण्डोत्तलन कार्यक्रममा हेम्पस्टिड टाउन बोर्डका प्रमुख डन क्लाभिन र नेपालका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्त रुपमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । 

नेपालको चन्द्र सूर्य झण्डोत्तलन गर्दै हेम्पस्टिड टाउन बोर्डका प्रमुख डन क्लाबिनले नेपालको संविधान दिवशको अवसरमा नेपाली झण्डोत्तलन गर्न पाउद खुशी लागेको बताए । उनले हेम्पस्टिड टाउन अमेरिकाकै सबैभन्दा ठूलो र विविधतायुक्त टाउन भएको उल्लेख गर्दै यस टाउनमा नेपाली भाषा संस्कृतिले थप विविधता बढाएको बताए । हेम्पस्टिड टाउनमा नेपालीहरुको संख्या दिनप्रतिदिन बढीरहेको उल्लेख गर्दै उनले नेपाली समुदायको विविध संस्कृतिले आफुलाई गौरव बनाएको बताए । 
झण्डोत्तलन कार्यक्रममा नेपाली दुताबासका कार्यबहाक राजदुत कुमार खरेलले न्यूयोर्कको ऐतिहासिक टाउन हेम्पस्टिडमा नेपालीहरुको गौरवको रुपमा रहेको झण्डोक्तलन हुनु खुशीको कुरा भएको उल्लेख गर्दै यसले नेपाली समुदायको संस्कार संकृति संरक्षणमा पनि महत्व राख्ने बताए । नेपाली समुदायको भाषा संस्कृतिको प्रवद्र्धनको लागि यसप्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 
पोखरा महानगपालिकाका प्रमुख धनराज आचार्यले अमेरिकी शहरमा नेपालको राष्ट्रिय झण्डा फहराउनु सबै नेपालीहरुको लागि गर्वको विषय भएको उल्लेख गर्दै टाउन प्रमुखलाई धन्यवाद दिएका थिए । नेपालको राष्ट्रिय झण्डोत्तलन कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नेपाली समुदायका सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा पन्चेबाजा प्रस्तुत गर्नुकासाथै नेपाली गीतसंगीतमा आकार्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । 

न्यू योर्क राज्यको लङ आइल्याण्डस्थित हेम्पस्डिट टाउन नेपाली समुदायको बाग्लो बस्ती रहेको क्षेत्र मानिन्छ । हेम्पस्डिट टाउन र त्यस आसपासका टाउनहरुमा गरि झण्डै तीन हजारको संख्यामा नेपाली समुदायको बसोबास रहेको कोअर्डिनेसन कमिटि अफ नेपाली कम्युनिटीका अध्यक्ष बाबुराम शर्माले जानकारी दिए । यस टाउनमा नेपाली समुदायका संस्थाहरुको सक्रियतामा आफ्नै साँस्कृतिक भवन निर्माण गर्ने तयारी समेत गरेको छ । 

प्रतिक्रिया