०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

मेयर एरिक आडम्समाथि भ्रष्टाचारको अभियोग (सूची सहित)

द साउदर्न डिस्ट्रिक अफ न्यू योर्कको अगुवाइमा फेडेर ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआइ) र न्यू योर्क सिटी डिपार्टमेन्ट अफ इन्भेस्टिगेसनले गरेको संयुक्त अनसन्धानपछि लगाएको अभियोग अस्वीकार। राजिनामा नदिने।
मेयर एरिक आडम्समाथि भ्रष्टाचारको अभियोग (सूची सहित)

न्यू योर्क । न्यूयोर्क सिटीका मेयर एरिक एडम्समाथि सार्वजनिक पद दुरुपयोग गरि भ्रष्टाचार गरेको अभियोग लागेको छ।

द साउदर्न डिस्ट्रिक अफ न्यू योर्कको अगुवाइमा फेडेर ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआइ) र न्यू योर्क सिटी डिपार्टमेन्ट अफ इन्भेस्टिगेसनले गरेको संयुक्त अनसन्धानपछि यस्तो अभियोग लगाइएको हो। ‘हामीले न्यू योर्क सिटीका मेयर एरिक आडम्समाथि चुनावी अभियानका क्रममा विदेशी दाता र कर्पोरेसनबाट गैरकानूनी रुपमा सहयोग लिएको अभियोग लगाएका छौ,’ युएस एटर्नी फर द साउदर्न डिस्ट्रिक अफ न्यू योर्क डेमियन विलियम्सले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘उनले कानून विपरित हो भन्ने थाहा हुँदाहुँदै ती चुनावी सहयोग र नीजि लाभ लिएका हुन्।’

मेयर आडम्समाथि २०२१ को चुनावी अभियानका बेला १० मिलियन डलरभन्दा बढी अनियमित चन्दा सहयोग लिएको र नीजि लाभका लागि एक लाख डलरभन्दा बढी ‘उपहार’ लिएको अभियोग छ। एक वर्ष लामो अनुसन्धानपछि घुस लिएको, वायर फ्रड गरेको, षड्यन्त्र र विदेशी नागरिकसँग चुनावी अभियानका लागि सहयोग मागेको सम्बन्धमा पाँच वटा अभियोग लगाइएको छ।  विलियम्सले आडम्सले टर्कीका एक सरकारी अधिकारी र थुप्रै ब्यबसायीसँग आर्थिक सहयोग लिएको र बदलामा टर्की सरकारलाई फाइदा पुर्‍याएको अभियोग छ।

युएस एटर्नी फर द साउदर्न डिस्ट्रिक अफ न्यू योर्क विलियम्सले यस्ता निः शुल्क टिकट, टिकट अपग्रेड र विलासी होटेलका आतिथ्य नियमित उडान गर्ने मानिसका लागि उपलब्ध नभएको बताए। ‘यस्तो सुविधा पाउने कुनै लोयल्टी प्रोग्राम पनि छैन,’ उनले भने ‘यो मेयरको कृपा र प्रभाव किन्ने बहुवर्षीय योजना थियो।’ 

‘उपहार र सहयोग बापत फायर डिपार्टमेन्टको निरिक्षणमा हस्तक्षेप गरेर टर्की सरकारको स्वामित्व रहेको भवन मापदण्ड विपरित सञ्चालन गर्न अनुमित दिएको हाम्रो अभियोग छ,’ विलियम्सले भने। कूल ५७ पृष्ठ लामो अभियोगमा टर्की सरकारले कन्सुलेट अफिस र अन्य प्रयोजनका लागि म्यानह्याट्नमा बनाएको हाइराइज टावर फायर डिपार्टमेन्टले मापदण्ड पुरा नगरेको भन्दै सञ्चालन अनुमति नदिएपछि आडम्सले हस्तक्षेप गरेको उल्लेख छ। आडम्सको स्वार्थ अनुरुप अनुमति दिन अस्वीकार गरेपछि फायर डिपार्टमेन्टका निरीक्षकहरुले जागिर गुमाएको समेत विलियम्सले पत्रकार सम्मेलनमा बताए।

‘मेयर आडम्सलाई धनी विदेशी व्यवसायीले अमेरिकी निर्वाचनमा कानूनी रुपमा सहयोग गर्न पाउँदैनन् भन्ने राम्ररी थाहा थियो,’ उनले भने, ‘हाम्रो निर्वाचनलाई विदेशी प्रभावबाट मुक्त राख्न संघीय कानूनले प्रष्टसँग विदेशी चन्दामा रोक लगाएको छ।’

एफबिआइका एसिस्टेन्ट डाइरेक्टर जेम्स डेनेही यो अभियोग कानूनभन्दा माथि कोही नभएको बलियो प्रमाण भएको बताए। ‘यो अभियोगले हरेक निर्वाचित अधिकारीहरुलाई गम्भीर सन्देश दिन्छ’, उनले भने, ‘सार्वजनिक सेवा भनेको जनताले विश्वास गरेर दिएको गम्भीर जिम्मेवारी हो। जब विश्वास टुट्छ त्यो बन्न वर्षौं, कहिले काहिँ दशकौं लाग्छ।’

न्यू योर्क सिटी डिपार्टमेन्ट अफ इन्भेस्टिगेसनकी कमिसनर जसलिन स्ट्रबरले न्यू योर्क सिटीको आधुनिक इतिहासमा पहिलो पल्ट पदमा भएका मेयरमाथि अपराध गरेको अभियोग लगाइएको बताइन्। ‘न्यू योर्क सिटीको सबैभन्दा उच्च निर्वाचित अधिकारीका रुपमा मेयरले सबै सिटी सरकारका लागि मापदण्ड निर्धारण गर्नु पर्थ्यो, जनतालाई उदाहरणीय सेवा प्रदान गर्नु पर्थ्यो,’ उनले भनिन्। उनले मेयर आडम्सले ब्रुक्लिन बोरो प्रसिडेन्ट हुँदादेखि नै शक्ति दुरुपयोगको श्रृंखला चलाएको बताइन्। ‘आडम्सले २०२१ को चुनावी अभियानले १० मिलियन डलरभन्दा बढि कानून विपरित सहयोग लिएका छन्,’ उनले भनिन्, ‘तर, गैरकानूनी सहयोग स्वीकारेका छैनन्, लुकाएका छन्।’ 
 
मेयर एरिक एडम्सले भने आफू निर्दोष रहेको दाबी गर्दै कानूनी लडाइ लड्ने बताएका छन्। उनले राजीनामा नदिने समेत स्पष्ट पारेका छन् । तर न्युयोर्क सिटीका काउन्सिलम्यानहरु र डेमोक्र्याट पार्टीका अधिकारीहरुले अभियोग लागेपछि राजीनामा दिन दवाव दिएका छन्। 

मेयर आडम्सले लिएका व्यक्तिगत फाइदाः

  • २०१६ः १२ हजार डलरभन्दा बढीको दुई वटा निः शुल्क बिजिनेस क्लास राउण्ड ट्रिप टिकट अपग्रेड। 
  • २०१७ः सहयोगीसहित टर्की र चाइना भ्रमण गर्न ४१ हजार डलर भन्दा बढीको फ्रि बिजिनेस क्लास टिकट र बेन्ट्ली स्वीटको आतिथ्य। 
  • २०१७ः एक सहयोगीसहित टर्कीबाट चीन उड्दा १६ हजार डलरभन्दा बढीको निः शुल्क बिजिनेस क्लास टिकट। 
  • २०१८ः टर्कीबाट हंगेरी जाँदा १२ हजार डलर बढीको फ्रि टिकट अपग्रेड। 
  • २०१९ः एक सहयोगीसहित आफ्नो लागि ९ हजार डलर बढीको बिजिनेस क्लास टिकट र विलासी होटेलको आथित्य। 
  • २०२१ः अति कम मुल्यमा बिजिनेस क्लास टिकट, विलासी होटेल र रिसोर्ट बसाइको अफर पाए। पूरा मुल्य २१ हजार डलरभन्दा बढी रहेको उक्त भ्रमण उनले अन्तिम समयमा रद्ध गरेका थिए। 
  • २०२१ः टर्कीबाट घाना उडेबापत १२ हजार डलरभन्दा बढीको निःशुल्क बिजिनेस क्लास टिकट अपग्रेड स्वीकारे। 

युएस एटर्नी फर द साउदर्न डिस्ट्रिक अफ न्यू योर्क विलियम्सले यस्ता निः शुल्क टिकट, टिकट अपग्रेड र विलासी होटेलका आतिथ्य नियमित उडान गर्ने मानिसका लागि उपलब्ध नभएको बताए। ‘यस्तो सुविधा पाउने कुनै लोयल्टी प्रोग्राम पनि छैन,’ उनले भने ‘यो मेयरको कृपा र प्रभाव किन्ने बहुवर्षीय योजना थियो।’ 

विलियम्सले आडम्सले यस्ता निः शुल्क सुविधा सार्वजनिक नगरेको मात्र नभएर लुकाउन समेत खोजेको बताए। ‘उदाहरणका लागि आडम्सले २०१७ को भ्रमणमा टर्किश एअरलाइन्सको बिजिनेस क्लास टिकटको पैसा तिर्न आफ्ना स्टाफलाई इमेल गरेको बताए जुन तिरिएको थिएन,’ उनले भने, ‘त्यो भ्रमणको एउटा टिकटको मुल्य १० हजार डलर बढि थियो, जसलाई लुकाउने फितलो प्रयास गरियो।’ 

 

प्रतिक्रिया