२४ फागुन २०८२, आइतबार
Sun, Mar 8, 2026
SUBSCRIPTION

अमेरिका–इजरायलको इरानमाथि हमला, मध्यपूर्व युद्धको नयाँ विस्फोट

अमेरिका–इजरायलको इरानमाथि हमला, मध्यपूर्व युद्धको नयाँ विस्फोट

न्यु योर्क। अमेरिका र इजरायलले शनिबार (फेब्रुअरी २८) इरानमाथि हमला गरेपछि मध्यपूर्व फेरि ठूलो युद्धको मुखमा पुगेको छ। आक्रमणपछि इरानले मिसाइल र ड्रोनमार्फत प्रतिकार थालेको छ, क्षेत्रीय हवाई उडानहरू व्यापक रूपमा अवरुद्ध भएका छन्, र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आपत्कालीन बैठक बसेको छ। 

इजरायलले यो कारबाहीलाई संभावित आक्रमण रोक्न गरिएको पूर्वआक्रमण अर्थात् “प्रि -इम्प्टिभ अट्याक” भनेको छ। जबकि, रोयटर्सका अनुसार यो हमला अमेरिकासँग महिनौँअघिदेखि समन्वय र तयारीमा गरिएको थियो। तेहरानमा विस्फोट सुनिएको, इजरायलभरि साइरन बजेको, र सुरक्षाका कारण स्कूल, कार्यस्थल तथा एअरस्पेस बन्द गरिएको विवरण बाहिर आएको छ। इरानले भने हमलालाई “अकारण” र “गैरकानूनी” भन्दै कडा निन्दा गरेको छ। 

यो हमलापछि सबैभन्दा ठूलो अनिश्चितता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्थाबारे देखिएको छ। एपीका अनुसार इजरायली अधिकारीहरूले खामेनी मारिएको दाबी गरेका छन। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तै संकेत दिएका छन्। तर इरानबाट तत्काल आधिकारिक पुष्टि भएको छैन।खामेनीको मृत्युबारे स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। 

इरानको प्रतिकारसँगै युद्धको दायरा इजरायलभन्दा बाहिर पनि फैलिएको छ। रोयटर्सका अनुसार इरानले मिसाइल प्रहार गरेपछि खाडी क्षेत्र तनावग्रस्त बनेको छ। विभिन्न देशहरूको हवाई क्षेत्र प्रभावित भएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठकमा महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै तत्काल वार्तामा फर्किन आग्रह गरेका छन्। गुटेरेसले यो सैन्य हमलाले क्षेत्रीय मात्र होइन, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामै गम्भीर खतरा थपेको चेतावनी दिएका छन्। 

प्रतिक्रिया