२४ फागुन २०८२, आइतबार
Sun, Mar 8, 2026
SUBSCRIPTION

नेवार्कमा आईसले खेद्दा सडक दुर्घटना

नेवार्कमा आईसले खेद्दा सडक दुर्घटना

नेवार्क। न्यु जर्सीको नेवार्कमा आईस अपरेशनसँग जोडिएको एउटा गिरफ्तारी प्रयास बुधबार सवारी दुर्घटनामा टुङ्गिएको छ। मेयर रास बराकाका अनुसार आईस एजेन्टहरूले एउटा भ्यान रोक्न खोजेपछि चालक भागेका थिए। ती चालकलाई लखेट्दा सवारी दुर्घटनामा भएको हो। दुर्घटनामा बच्चाहरू समेत प्रभावित भएका छन्। 

सिटी अफ नेवार्कको वक्तव्यअनुसार घटना शान्ली एभिन्युमा सुरु भएको थियो। त्यहाँ आईस एजेण्टहरू एउटा भ्यानसँग सम्बन्धित अनुसन्धान गरिरहेक थिए। रोक्न खोज्दा भागेपछि आईसले भ्यानलाई पछ्याएका थिए। भ्यान क्लिन्टन एभिन्यु र १० स्ट्रिटमा पुगेपछि दुर्घटनामा परेको थियो। 

नेवार्क सिटीको विज्ञप्तिअनुसार दुर्घटनामा “धेरै सवारीसाधन” ठोक्किएका छन्। तीमध्ये एक सवारीमा ३ जना बालबालिका थिए। सिटीले उनीहरू दुई जना १५ वर्षका र एक जना १२ वर्षका रहेको जनाएको छ।

मेयर रास बराकाका अनुसार भ्यानका चालक घाइते भएका छन। उनलाई अस्पताल लगिएको छ। दुर्घटनामा परेका अन्यलाई युनिभर्सिटी हस्पिटल लगेर जाँच गरिएको थियो। तर घाइतेहरूको अवस्थाबारे विस्तृत आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। 

बराकाले आईसको कामलाई “लापरवाह” र “खतरनाक” भनेका छन्। उनले नेवार्क पुलिस यो अपरेशनमा सहभागी नभएको र उनीहरू दुर्घटनापछि मात्र घटनास्थल पुगेको बताएका छन्। उनले न्यु जर्सीको नियमअनुसार तत्काल सार्वजनिक खतरा नभएसम्म यस्तो प्रकारको गाडी पछ्याइ गर्न नहुने तर्क पनि गरेका छन्। 

कंग्रेसवुमन लामोनिका म्याकआइभरले पनि आईसले भ्यानलाई पछ्याउँदा धेरै सवारीसाधन प्रभावित भएको र तीन बालबालिका पनि दुर्घटनामा परेको भन्दै वक्तब्य जारी गरेर सार्वजनिक सुरक्षाबारे गम्भीर प्रश्न उठाएकी छन्।

प्रतिक्रिया