न्यु योर्क। ट्रम्प प्रशासनले मिनियापोलिस–सेन्ट पाउल क्षेत्रमा चलिरहेको “अपरेसन मेट्रो सर्ज” अन्त्य गर्ने घोषणा गरेको छ। “बोर्डर जार” टम होमनले बिहीबार (फेब्रुअरी १२) मा उक्त आप्रवासी छापा अभियान अन्त्य गर्न सिफारिस गरेको र राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति दिएको बताएका छन्।
पछिल्लो समय रिने गुड र एलेक्स प्रेट्टी नामक दुई अ्मेरिकी नागरिकको मृत्यु भएपछि यो अभियान चरम विवादमा परेको थियो।त्यसको विरोधमा देशव्यापि रुपमा प्रदर्शन भइरहको थियो। विवाद र बिरोधका बीच ट्रम्प प्रशासनले अपरेसन मेट्रो सर्ज अन्त्य गर्ने घोषणा गरेको हो।
संघीय अधिकारीहरूले सुरक्षा अधिकारीहरू ठुलो संख्यामा क्रमश: यो हप्ता र अर्को हप्ता फिर्ता गरिने जनाएका छन्। प्रशासनका अनुसार यो अभियान मिनेसोटा, विशेषगरी ट्विन सिटिजमा इमिग्रेसन इन्फोर्समेन्ट बढाएर “गैरकानूनी” रूपमा बसिरहेका मानिसहरूलाई लक्षित गर्न सुरु गरिएको थियो। प्रशासनको दाबी अनुसार मुख्य फोकस “सिरियस क्रिमिनल हिस्ट्री” भएका व्यक्तिमा थियो।
रिपोर्टहरूका अनुसार अभियानमा ठूलो संख्यामा एजेन्ट परिचालन गरिएको थियो। रोयटर्सका अनुसार जनवरी अन्त्यतिरसम्म मिनियापोलिसमा करिब ३ हजार सशस्त्र “इमिग्रेसन एजेन्ट्स” खटाइएक थिए। एसोसिएटेड प्रेसका अनुसार यो अपरेसन डिसेम्बर १ मा सुरु भएको हो र ४,००० भन्दा बढी गिरफ्तारी भएको दाबी गरिएको छ।
टम होम्यानले अभियानले उद्देश्य पुरा गरेको र अब कम एजेन्टबाट पनि काम अगाडि बढ्न सक्ने बताएका छन्। होम्यानले स्थानीय तहसँगको छलफलपछि जेलमै रहेका “अनडकुमेन्टेड” व्यक्तिलाई आईसले त्यहींबाट “डिटेन” गर्न पाउने किसिमको सहमति भएको भनेका छन्।
आलोचकहरूले भने अभियानमा आपराधिक पृष्ठभूमि नभएका मानिसहरू परेको आरोप लगाएका छन्। एसोसिएटेड प्रेसका अनुसार “क्रिमिनल” भनेर वर्णन गरिए पनि क्रिमिनल रेकर्ड नभएका व्यक्तिहरू, बालबालिका, र केही अवस्थामा यूएस सिटिजन्स समेत “डिटेन” भएको रिपोर्ट छ। स्थानीय नेतृत्व र नागरिक अधिकार समूहहरूले यो अभियानले समुदायमा डर र अविश्वास बढाएको दाबी गरेका छन्।
मिनेसोटाका गभर्नर टिम वाल्जले केही दिनमै अपरेसन घट्ने संकेत आएको बताएका छन्। मिनियापोलिसका मेयर जेकब फ्रेले पनि होमनसँग सकारात्मक छलफल भएको बताएका छन्।




प्रतिक्रिया