०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

हुन्डाइ मेटाप्लान्टमा पक्राउ परेका तीन सयभन्दा बढी कोरियाली कामदार छोडिने

हुन्डाइ मेटाप्लान्टमा पक्राउ परेका तीन सयभन्दा बढी कोरियाली कामदार छोडिने

न्यू योर्क। दक्षिणकोरियाली सरकारले अमेरिकासँग जर्जियास्थित हुन्डाइको कारखानामा भएको छापा मार्दा पक्राउ परेका ३०० भन्दा बढी दक्षिण कोरियाली कामदारलाई रिहा गर्ने सहमति भएको जानकारी दिएको छ।

गत बिहीबार इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले ठूलो संख्यामा फेडरल एजेन्ट परिचालन गरी सो प्लान्टमा छापा मारेको थियो। सो क्रममा अवैध रूपमा अमेरिकामा बसोबास र काम गरेको आशंकामा चार सय ७५ जना पक्राउ परेका थिए। तीमध्ये तीन सयभन्दा बढी दक्षिण कोरियाली भएको कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले आइतबार बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिको प्रमुख सचिव काङ हुन(सिकले पक्राउ परेकाहरूलाई छोड्ने सहमति भएको र आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि उनीहरूलाई कोरिया फर्काइने जानकारी दिए। उनले दक्षिण कोरियाले आफ्ना नागरिकलाई ल्याउन विशेष विमान पठाउने बताए।

यो छापा हुन्डाइ र एलजी इनर्जी सोलुसनले संयुक्त रूपमा निर्माण गरिरहेको विद्युतीय गाडीका ब्याट्री उत्पादन गर्ने कारखानामा गरिएको हो। अमेरिकी अधिकारीहरूले यसलाई गैरकानूनी रोजगारी र अन्य संघीय अपराध सम्बन्धी महिनौंदेखिको अनुसन्धानको हिस्सा भएको बताएका छन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएसएस) इन्भेस्टिगेसन अधिकारी स्टिभन श्राङ्कका अनुसार यो एकै स्थानमा गरिएको ट्रम्प प्रशासनको अहिलेसम्मकै ठूलो कारबाही हो। अधिकांश पक्राउ परेका कोरियाली विभिन्न सब(कन्ट्र्याक्टर कम्पनीमार्फत काम गर्दै आएका थिए।

पक्राउ परेकामध्ये धेरैलाई जर्जियाको फोक्सटनमा रहेको इमिग्रेसन हिरासतमा पठाइएको छ। अहिलेसम्म कसैलाई अपराध मुद्दा लगाइएको छैन। तर, अनुसन्धान जारी रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकमाथि भएको यो कारबाहीप्रति “चिन्ता र दुःख” व्यक्त गरेको छ र तत्काल राजनतिक टोली पठाएर अवस्था नजिकैबाट अवलोकन गरिरहेको छ।

प्रतिक्रिया