०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

आईसको ‘मिडवे ब्लिट्ज’ छापा अभियान: शिकागो क्षेत्रमा करिब २५० जना पक्राउ, फ्रेङ्कलिन पार्कमा एकजनाको मृत्यु

आईसको ‘मिडवे ब्लिट्ज’ छापा अभियान: शिकागो क्षेत्रमा करिब २५० जना पक्राउ, फ्रेङ्कलिन पार्कमा एकजनाको मृत्यु

शिकागो। यूएस प्रतिनिधि लरेन अन्डरवुडले सेप्टेम्बर ६ यता इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले शिकागो क्षेत्रभर करिब २५० जना लाई पक्राउ गरेको सार्वजनिक अभिव्यक्ति दिएकी छन। 

आईसले पक्राउ गरेकाहरूको आधिकारिक संख्या सार्वजनिक गरेको छैन। तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले सेप्टेम्बर ८ देखि ‘अपरेशन मिडवे ब्लिट्ज’ लागू गरी आप्रवासी माथिको धडपकड अझ तीब्र पारेको छ। डीएचएसले गम्भीर आपराधिक रेकर्ड भएका गैरनागरिकलाई लक्ष्य बनाइने दाबी गरेको छ। तर राज्य र सिटीका जनप्रतिनिधि तथा समुदायिक संस्थाहरूले समन्वयबिना भएको व्यापक धरपकडले आप्रवासी बस्तीहरूमा त्रास फैलाएको बताएका छन्।

धडपकडकै क्रममा सेप्टेम्बर १२ मा फ्रेङ्कलिन पार्कमा ३८ वर्षीय सिल्भेरियो भिलेगास-गोन्जालेजको एकजना आईस अधिकारीको गोली लागेर मृत्यु भएको थियो। उक्त घटनाले स्थानीय समुदायमा तीव्र आक्रोश छाएको छ।

के–के भयो यो महिना?

सेप्टेम्बर १५ मा वेस्ट शिकागो विद्यालय नजिक अपार्टमेन्ट वरपर र खुद्रा पसल अगाडि भएको छुट्टाछुट्टै छापामा झण्डै १५ जना पक्राउ परेका स्थानीय जनप्रतिनिधि र प्रतक्ष्यदर्शीहरूले बताएका छन। सोही दिन शिकागो सिटीको पश्चिमपट्टि रहेको एक काउन्टी अदालत परिसर बाहिर पनि थप पक्राउ परेका थिए।

सेप्टेम्बर १५ र १६ मा लिट्ल भिलेजमा मेक्सिकन स्वतन्त्रता दिवस परेडको भोलिपल्ट २४औं स्ट्रीट र अल्बानी नजिक आईसले एक पुरुषलाई पक्राउ गरेको भिडियो सार्वजनिक भयो। परिवार र स्थानीयले हस्तक्षेपको प्रयास गरे पनि अधिकारीहरूले ती व्यक्ति नियन्त्रणमा लिए। अधिकारकर्मी समूहहरूले कानुनी सहयोग जुटाउने र उनलाई परिवारको सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छन्।

डीएचएसले फ्रेङ्कलिन पार्कमा सेप्टेम्बर १२ मा गिरफ्तारीबाट जोगिन सवारी साधनसहित भागेका एक व्यक्तिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको दाबी गरेको छ। घटनामा घाइते अधिकारी अस्पतालबाट डिस्चार्ज भएका छन् भने भाग्ने मानिसको मृत्यु भएको छ। इलीनोईका गभर्नर जे.बी. प्रित्ज्कर र शिकागोका मेयर ब्रान्डन जोनसनले यो मृत्यु ‘रोक्न  सकिने त्रासदी’ भनेका छन। उनीहरूले घटनामा के भएको हो पारदर्शी हनुपर्ने भन्दै भिडियो सार्वजनिक गर्न माग गरेका छन्। स्थानीय बासिन्दाले मोम बत्ती बालेर मृतकको श्रद्धाञ्जलि कार्यक्रमसमेत आयोजना गरेका छन्।

कांग्रेसवुमन अन्डरवुडका अनुसार यो अवधिमा पक्राउ परेका धेरैलाई इन्डियाना र विस्कन्सिनका हिरासतमा सारिँदैछ। अधिकारवादी समूहहरूले समुदायलाई आफ्नो अधिकारबारे सचेत रहन, घर तथा कार्यस्थलको ढोका खोल्नु अघि न्यायाधीशले हस्ताक्षर गरेको वारन्ट माग्न र सुरक्षित भए फोटो–भिडियो खिचेर प्रमाण राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया