०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

सेवा प्रबाहलाई थप सहज र प्रभावकारी बनाउने नवनियुक्त महावाणिज्यदूत भण्डारीको प्रतिबद्धता

अमेरिकाका उत्तरपूर्वी क्षेत्रका नौ वटा राज्यमा नेपाली समुदायलाई उत्कृष्ट कन्सुलेट सेवा प्रदान गर्नुकासाथै दुई देशवीच आर्थिक तथा वाणिज्य सम्बन्ध विस्तारमा समेत आफु समुदायको सहयोग लिएर अघि बढ्ने प्रण महावाणिज्यदूत भण्डारीको थियो ।
सेवा प्रबाहलाई थप सहज र प्रभावकारी बनाउने नवनियुक्त महावाणिज्यदूत भण्डारीको प्रतिबद्धता

न्यूयोर्क । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूताबासका नवनियुक्त महावाणिज्यदूत दधिराम भण्डारीले समुदायको आवश्यकताको आधारमा कन्सुलेट कार्यालयले प्रदान गर्ने सेवालाई थप सहज र प्रभावकारी बनाउन आफु संधै तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अमेरिकाका उत्तरपूर्वी क्षेत्रका नौ वटा राज्यमा नेपाली समुदायलाई उत्कृष्ट कन्सुलेट सेवा प्रदान गर्नुकासाथै दुई देशवीच आर्थिक तथा वाणिज्य सम्बन्ध विस्तारमा समेत आफु समुदायको सहयोग लिएर अघि बढ्ने  प्रण महावाणिज्यदूत भण्डारीको थियो । लामो समयको रिक्ततापछि नेपाल सरकारले हालै नियुक्त गरेको महावाणिज्यदूतको जिम्मेवारी सम्हाल्न न्यूयोर्क आइपुगेका भण्डारीले शुक्रबार नेपाली समुदायका अगुवाहरुसंगको परिचयात्मक कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

म्यानहटन सिटीस्थित महावाणिज्यदूताबासको हलमा आयोजित कार्यक्रममा महावाणिज्यदूत भण्डारीले आफुले जिम्मेवारी सम्हालेको शुरुवातको दुई हप्तासम्म सेवाग्राहीको आवश्यकता बारे जानकारी लिन कार्यालयमा आउने टेलिफोन उठाएको जानकारी दिदै समुदायसंगै हातेमालो गरेर सेवाप्रबाहलाई उत्कृष्ट बनाउने उनले बताए । कार्यबहाक महावाणिज्यदूत चक्र सुबेदीको नेतृत्वमा कन्सुलेट कार्यालयले समुदायसंग आत्मियता विकास गरेको आफुले पाएको उल्लेख गर्दै भण्डारीले त्यही आत्मियताको जगमा आफ्नो चार वर्षे कार्यकालमा काम गर्ने महावाणिज्यदूत भण्डारीले बताए । 
“मैले धेरै काम गर्छु भन्दिन, कन्सुलेट कार्यालयबाट नेपाली समुदायमा प्रदान गर्ने सेवालाई थप उत्कृष्ट र प्रभावकारी बनाउनेछु, साथै नेपाल र अमेरिकावीचको आर्थिक÷वाणिज्य सम्बन्धलाई थप प्रवद्र्धन गर्नेछु,” महावाणिज्यदूत भण्डारीले भने । समुदायको सल्लाह सुझाबको आधारमा सेवा प्रबाहको उपलब्ध गराउने तयारी आफ्नो रहेको बताउदै समुदायका सदस्यहरुको सेवा प्रबाहमा कुनै समस्या आएमा कन्सुलेटको ढोका संधै खुल्ला रहने भण्डारीले प्रतिबद्धता व्यक्त गरे । महावाणिज्यदूताबासको कार्यालयसंग श्रोत साधानको सिमितता रहेपनि प्रविधिको उपयोग गरेर भएपनि सेवाप्रबाहलाई प्रभावकारी बनाउने तयारीमा रहेको उनको भनाई थियो । समुदायबाट रचनात्मक ओलोचनालाई समेत मनन गर्दै आगमी दिनमा सहकार्यकासाथ अघि बढ्ने उनको प्रण थियो । 
कार्यक्रममा उप महावाणिज्यदूत चक्र सुबेदीले आफ्नो स्वास्थ्य प्रतिकुलताका बाबजुत पनि समुदायलाई कार्यालयबाट प्रबाह गर्ने सेवामा दत्तचित्त भएर लागेको र यसक्रममा नेपाली समुदायका सबै सदस्यहरुबाट साथ र सहयोग मिलेको बताए । यही सहयोग र साथले आफुलाई रोगसंग लड्ने क्षमतामा समेत वृद्धि भएको र समुदायको माया नै उपचारको अतिरिक्त औषधी बनेको भन्दै उनले खुशी व्यक्त गरे । अमेरिकाका नेपाली कुटनीतिक कार्यालयमा दोस्रोपटक सेवाको अवसर पाउदा गर्वको अनुभव भएको उल्लेख गर्दै उप महावाणिज्यदूत सुवेदीले नेपाली समुदायको आवश्यकतालाई ध्यानमा राखेर कार्यालय समयभन्दा बाहेक समेत काम गरेर सेवा प्रदान गरेको स्मरण गराए । लामो समयपछि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूताबासले महावाणिज्यदूत पाएको उल्लेख गर्दै परराष्ट्र मामलामा विद्यावारधि गरिहेका र यसअघि जेनेभा, ल्हासा लगायतका नेपाली कुटनीतिक नियोगमा सेवा गरिसकेका परराष्ट्र मामलाका विज्ञ महाबाणिज्यदूतको रुपमा आएकोले आगमी दिनमा कार्यालयको सेवा प्रबाहमा थप उत्कृष्टता हासिल हुने विश्वास सुवेदीले व्यक्त गरे । 

कार्यक्रममा सहभागी नेपाली समुदायका अगुवाहरुले महावाणिज्यदूताबासको सेवा प्रबाहमा यसअघि भन्दा अहिले राम्रो बन्दै गएको र आगमी दिनमा अझ राम्रो बन्दै जाने विश्वास व्यक्त गरेका थिए । नेपाली समुदायको सबै संघसंस्थाहरुलाई समेटेर महावाणिज्यदूतबास अघि बढ्नुपर्ने र सबै नेपालीको अविभावकको रुपमा भुमिका खेल्नुपर्ने उनीहरुले स्मरण गराएका थिए । 

प्रतिक्रिया