काठमाडौ । बौद्ध धर्मालम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् (International Council of Gurung Buddhism) को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगमी सेप्टेम्बर २५ र २६ मा काठमाडौंमा आयोजना गरिने भएको छ ।
सम्मेलनमा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मालम्बी गुरुङ समुदायको सहभागिता रहने सो संस्थाले जनाएको छ । महाधिवेशनमा “गुरुङ बुद्धिजम” को अवधारणा र यसले अपनाउने पेक्ष्या (संस्कार संस्कृति) का बारेमा विस्तृत छलफल गरि “गुरुङ बुद्धिजम पेक्ष्या” नामक निर्देशिका जारी गरिने भएकोले विश्वभर छरिएर रहेका बौद्ध धर्म मान्ने गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरुलाई महाधिवेशनमा सहभागी हुन परिषद् हार्दिक अपील गर्दछ, परिषदद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।
अगामी सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप बैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, बैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौं सदन, बैशाख १६ गते पोखराकै पार्दी तमू समाज र बैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग बौद्ध धर्म र गुरुङ संस्कार संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिने परिषद्का अध्यक्ष डा. कुमार “गुरुङद्धारा हस्ताक्षेरित विज्ञप्तिमा जनाएको छ ।
त्यसैगरी नेपाल, भारत, भूटान र अमेरिकाका गरी चार देशका प्रतिनिधिहरूसहित मे १७ मा भारतको सिलगुढी, मे १८ मा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, मे १९ मा गान्तोक, र मे २० मा याङ–याङमा अन्तक्र्रियाहरु आयोजना गरिने जनाइएको छ । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफलहरु आयोजना गर्ने कार्यक्रम रहेको छ । यी कार्यक्रमहरुमा सहभागी भई आफ्नो महत्वपूर्ण सुझावहरू राख्न अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, बौद्ध धर्मको पञ्चशीलमा आधारित मूल्य र मान्यताका आधारमा गुरुङ संस्कार संस्कृतिलाई अनुसरण गर्ने गुरुङ समुदायका सदस्यहरूको अन्तर्राष्ट्रिय संस्था हो । यसको बौद्धमार्गी गुरुङ समुदायको बसोबास रहेका विभिन्न देशहरूमा राष्ट्रिय परिषद्हरू पनि क्रियाशील छन् । परिषद्ले गुरुङ संस्कार संस्कृतिमा विशेष भूमिका निर्वाह गर्ने लामा गुरुहरूलाई परम्पराको संरक्षण तथा निरन्तरताका लागि उत्प्रेरित गर्छ । साथै, गुरुङ संस्कार र बौद्ध धर्मलाई एकैसाथ बुझ्ने तथा अभ्यास गर्ने गुरुहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्दै समुदायको संस्कारमा न्यूनतम मापदण्डहरुमा एकरूपता र एकता कायम गर्ने उद्देश्य राखेको परिषद्ले जनाएको छ ।
परिषद्ले गुरुङ समुदायले परापूर्वकालदेखि अभ्यास गर्दै आएको बौद्ध धर्मलाई “गुरुङ बुद्धिजम” को रूपमा परिभाषित गरेको छ । गुरुङ कुलमा जन्मेका समुदायका सदस्यहरूले विविध चाडपर्व तथा संस्कारहरूमा बौद्ध लामाहरुको माध्यमबाट परम्परागत विधिहरू पूरा गर्दै आएका छन् । ती अभ्यासकर्तालाई “गुरुङ बौद्ध धर्मालम्बी” र त्यस्ता अभ्यासहरुलाई “गुरुङ बुद्धिजम” भनेर चिनाइएको परिषद्को भनाई छ ।
गुरुङ समुदायले आफ्नो संस्कार संस्कृतिलाई बौद्ध धर्मका आधारभूत मान्यतासँग एकाकार गर्दै अभ्यास गर्दै आएको लामो इतिहास छ । तर पछिल्लो समयमा लामा गुरूहरूमा बौद्ध दर्शनको ज्ञान उच्चस्तरको भए पनि विविध कारणले गुरुङ संस्कारमा दिक्षित हुन नपाउँदा परम्परागत संस्कारको निरन्तरतामा समस्या देखिएकोले यसैलाई ध्यानमा राखी परिषद्ले गुरुङ लामाहरूको शिक्षा दिक्षाका क्रममा बौद्ध दर्शनसँगै गुरुङ पेक्ष्याको पनि प्रशिक्षण दिने गरी योजनाहरु बनाएको परिषद्ले जनाएको छ । यसबाट गुरुङ समुदायले अभ्यास गर्दै आएको गुरुङ बौद्ध दर्शन र संस्कार–संस्कृति दुवैको जीवन्तता सुनिश्चित हुने अपेक्षा गरिएको परिषद्द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया